धरानमा पर्यटन मार्ट शुरु

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
20190921_175900_Fotor

पर्यटन मार्टमा मुख्यमन्त्री शेरधन राईलाई पोखरासम्बन्धी प्रचार सामग्री प्रदान गरिँदै। तस्वीर : आदर्श समाज।

प्रदेश १ का पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्य सहित धरानमा शनिबारदेखि दोश्रो इष्ट टुरिजम मार्ट–२०१९ शुरु भएको छ। मुख्यमन्त्री शेरधन राईले उद्घटन गरेको मार्ट असोज ६ सम्म संचालन हुनेछ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको समन्वयमा यो मार्ट आयोजना भएको हो। प्रदेश सरकार र स्थानीय पर्यटन व्यवसायीले मार्टलाई सघाएका छन्। मार्टमा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायी, भारत, भुटान र बंगलादेशका टुर अपरेटर्स र सरोकारवालाको सहभागिता रहेको मार्टका संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिए। मार्ट स्थानीय सिद्धि नेवा परिषद्को हलमा आयोजना भइरहेको छ। मार्टमा १ सय हाराहारीमा स्टल रहेका छन्। मुख्यमन्त्री राईले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि आधार तयार गर्न उक्त मार्ट प्रमुख आधार हुने विश्वास व्यक्त गरे। पर्यटनबाट मात्र समृद्धि सम्भव भएको भन्दै उनले प्रदेश १ को पर्यटन प्रवद्र्धनमा मार्टले ठूलो टेवा पुग्ने भनाइ राखे। मुख्यमन्त्री राईले पर्यटकीय अनुभव र व्यापारिक आदानप्रदानका लागि समेत मार्ट महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

प्रमुख अतिथि राईले मार्टका स्टलहरुको अवलोकन गरी सहभागीसँग तस्वीर समेत खिचाएका थिए। कार्यक्रमका अवसरमा बंगलादेश, भुटान र भारतबाट आएका पाहुनाहरुलाई ढाका टोपि लगाएर सम्मान गरिएको थियो। सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। पर्यटनसम्बन्धी व्यापार बढाउन र संस्कृतिको संरक्षणको लागि समेत मार्ट महत्वपूर्ण हुने भनाइ उनको छ। यो मार्ट पब्लिक प्राइवेट पार्टनरसिपको गतिलो नमुना हो, उनले भने। पर्यटनको विकासका लागि पूर्वाधार निकै महत्वपूर्ण पाटो भएको भन्दै उनले सरकारले विकास निर्माणका कामलाई उत्तिकै महत्व दिएर तीव्रता प्रदान गर्नुपर्ने बताए।

धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर मञ्जु भण्डारीले मार्टले धरानको पर्यटकीय विकासमा नयाँ इँट्टा थप्ने विश्वास व्यक्त गरिन्। उपमहानगरपालिका नगरको पर्यटकीय विकासका लागि दत्तचित्त भएर लागि परेको भन्दै उनले अभियानमा नगरवासीको सहयोगको अपेक्षा पनि गरिन्। मार्टमा पोखराबाट पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमा ९ जना पर्यटन व्यवसायीले भाग लिइरहेका छन्। उनीहरुले पोखरासम्बन्धी श्रब्यदृष्य सामग्रीको प्रदर्शन, पोखरा सम्बन्धी प्रचार सामग्रीको वितरण र पोखरा र सिंगो गण्डकी प्रदेशका पर्यटकीय आकर्षणका बारेमा मार्टका सहभागीलाई जानकारी गराइरहेका छन्। विभिन्न क्षेत्रबाट आएका टुर अपरेटर र होटलकर्मीसँग व्यापारिक भेटघाट र अनुभवको आदानप्रदान पनि मार्टमा भइरहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। अध्यक्ष तुलाचनले गण्डकी प्रदेशले अहिले आन्तरिक पर्यटन वर्ष २०१९ मनाईरहेको, सो अवसरमा होटल क्षेत्रमा १५ प्रतिशत छुट प्रदान गरिएको र चाडवाड नजिएको तथा मौसम समेत खुलेका कारण अहिले पोखरा घुम्ने उपयुक्त मौसम भएको सहभागीलाई जानकारी गराएका छन्। पोखरा घुम्न जाने पर्यटकले पाउने सेवा सुविधा र प्याकेजका बारेमा समेत अध्यक्ष तुलाचनले सो अवसरमा अगवत गराएका थिए।

मार्टका अवसरमा सगरमाथा बेस क्याम्प, हलेसी, वराहक्षेत्र, सखडा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्ष, प्राचीन हरिद्वार वराहक्षेत्र, ऐतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथीभरा लगायतका क्षेत्रलाई प्रचार गरिएको छ। पूर्वको मुन्दुम पदयात्रा मार्ग, प्याराग्लाइडिङ, हस्तकलाका सामग्रीको प्रचार र प्रदर्शनी पनि कार्यक्रमको आकर्षण रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width