बाबु छोराको हत्या आरोपी पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७६
igp

स्याङ्जा, ४ असोज । स्याङ्जा हरिनास गाउँपालिका– ३ ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजन खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही स्थान निवासी दीपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेको छ ।

विस्तारामा सुतिरहेका बाबुछोराको १७ गते विहान ४ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हत्या आरोपी दानबहादुर मल्ललाई स्याङ्जा प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार मृतककी पत्नी अनिता खड्काले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको हो ।किटानी जाहेरी र अनुसन्धानबाट समेत हत्यामा मल्लको संलग्नता देखिएकाले पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेस गरिएको प्रवक्ता भण्डारीले बताए ।

घटना भएको दिन एउटै कोठाको अर्को खाटमा सुतिरहेकी मृतककी पत्नी अनिताले कालो माक्स लगाएर आएको व्यक्तिले हत्या गरेको सूचना प्रहरीलाई दिएकी थिइन् । घटनामा प्रयोग भएको खुकुरी समेत प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका मल्ललाई म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको डिएसपी भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width