गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान

Avatar आदर्श समाज सम्वाददाता
असाेज २, २०७६

पोखरा, २ असोज । गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार देशका विभिन्न सहरमा प्रवद्र्धनात्मक यात्रामा निस्कने तयारीमा छ । ‘गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान–२०१९’ लिएर ९ असोजदेखि १६ असोजसम्म भ्रमण हुन लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्री विकास लम्सालको नेतृत्वमा प्रदेश ५ को बुटवल–भैरहवाको बीच मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा सम्बन्धित प्रदेश सरकारका बीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठान बीचमा व्यापारिक सहकार्य (जीटुबी) व्यापारीबीच अनुभव आदानप्रदान, फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम गरिने जनाइएको छ ।

अभियान क्रममा बाटोमा पर्ने प्रमुख पर्यटकीय सहर पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुरधाम, सुनसरीको धरान, झापाको बिर्तामोडमा बीटुबी कार्यक्रम एवं प्रदेशको प्रख्यात सांस्कृतिक कार्यक्रम एवं गीत–नाच प्रस्तुत गरिने मन्त्री लम्सालले जनाए । सम्बन्धित प्रदेश सरकारले प्रदेश १,२,३,५ का प्रदेश सरकारका मुख्यमन्त्री मार्फत सरकारी, गैर सरकारी निकाय लगायत स्थानीय जनतालाई मन्त्री लम्सालले गण्डकी प्रदेशको भ्रमण गर्न निम्ता बाँड्नेछन् ।

एक साता लामो भ्रमण टोलीमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि लगायत गरी ५० जना सहभागी हुने पर्यटन वर्ष कार्यक्रम संयोजक जुद्धबहादुर गुरुङले जनाए ।

गण्डकी प्रदेशले सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश पर्यटन वर्ष घोषणा गरेको छ । सो ३ वर्षको अवधिलाई अझ विस्तृतमा सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी मुलुकका पर्यटन आकर्षण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष भनी उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । गण्डकी प्रदेशमा हाल १ सय ७० मुलुकका ३ लाखभन्दा बढी पर्यटक प्रवेश गरेको पर्यटन मन्त्रालयको तथ्यांक छ । यस प्रदेशमा १ सय १ जनजातिका मानिसले ८४ किसिमका भाषा बोल्छन् । स्वीस भूगोलविद् टोनी हेगनले पोखरा प्राकृति रुपमा साँच्चिकै सुन्दर र अलौकीक सहर हो भनी आफ्नो पुस्तक नेपाल अधिराज्यमा उल्लेख गरेको पाइन्छ ।

सन् १९५० जुन ३ मा विश्वप्रसिद्ध फ्रान्सेली पर्वतारोही माउरिस हर्जोकले सर्वप्रथम गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गरी विश्वसामु चिनाएका थिए । जसबाट विभिन्न मुलुकका नागरिक हिमाल आरोहणका लागि नेपाल आउन थालेको इतिहासमा पाइन्छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बन्दीपुरमा पर्यटक चहलपहल

पर्यटकीय स्थल घोडेपानीमा मोनाको तेस्रो अधिवेशन

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार