एम्बुलेन्स सेवाको शुभारम्भ

आदर्श समाज सम्वाददाता
असाेज १, २०७६
ambulans

कावासोती, १ असोज । मातृभूमि युवा क्लब कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारबाट औपचारिक शुभारम्भ गरिएको हो ।

कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । बुधबार विश्वकर्मा पूजाको अवसरमा वौदिक विधिबाट पूजापाठ सहित एम्बुलेन्स चलाएर वडा अध्यक्ष पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

क्लबको पहलमा एम्बुलेन्स खरिदका लागि कावासोती नगरपालिका वडा नं. ६ को वडागत बजेट र बिष्णुनगर सामुदायिक वन उपभोक्ता समुहबाट समेत सहयोग प्राप्त भएको क्लबका सचिव तीर्थराज डुम्रेले बताए । बुधबार आयोजित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ एवम् विश्वकर्मा पूजा कार्यक्रममा वडा अध्यक्ष हेमप्रसाद पाण्डेले वडा भित्रका अशक्त विपन्न परिवार र ८४ वर्ष कटेका बृद्धबृद्धाहरुको लागि लाग्ने एम्बुलेन्स खर्चको रकम आपुूmले उपलब्ध गराउने घोषण गरे ।

एम्बुलेन्स खर्च तिर्न नसक्ने विपन्न परिवार र ८४ वर्ष कटेका बृद्धबृद्धाहरुको एम्बुलेन्स खर्चको रकम आफुले व्यक्तिगत रुपमा उपलब्ध गराउने उनले घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै बिष्णुनगर सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष घनलाल सापकोटाले कावासोती क्षेत्रमा नै क्लबले उदाहरणीय काम गरेको भन्दै आगामी वर्षहरुमा समेत एम्बुलेन्स सेवा सञ्चालनको लागि समूहको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

क्लबका पूर्व अध्यक्षहरु ज्ञान प्रसाद डुम्रे र यामबहादुर थापाले सकेसम्म कसैलाई पनि एम्बुलेन्स सेवा लिनुपर्ने अवस्था सृजना नहोस् भन्ने कामना गर्दै यस क्षेत्रमा आकास्मिक उद्धारको लागि एम्बुलेन्स सेवा सञ्चालन पछि सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

वडागत वजेट र सामुदायिक वनको सहयोग तथा क्लबको आन्तरिक स्रोत समेतबाट एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सेवाबाट कावासोती र आसपासको क्षेत्रका स्थानीय लाभाम्वित हुने छन् । क्लबले हाल परिवार नियोजन संघसंगको सहकार्यमा प्रजनन् स्वास्थ्य क्लिनिक समेत सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width