अवरुद्ध बेसीशहर– चामे सडक खुल्यो

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
Manag Sadak

लमजुङ । हिमाल पारीको जिल्ला मनाङ जोड्ने एक मात्र वेंसीशहर– चामे सडक खुलेको छ । अवरुद्ध सडक १७ दिनपछि खुलेको हो ।

मनाङको नासों गाउँपालिका– १ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा महंगी बढ्नुका साथै खाद्यान्न अभावको स्थिति बेहोर्नु पर्ने आशंका बढिरहेको बेला सडक खुलेको हो ।

सडकमा यातायात चल्न थालेपछि सवारी साधनहरू सीधा सञ्चालन हुन थालेका छन् । सडक सुचारु भएसँगै १७ दिनदेखि टुटेको दुबै जिल्लाको सडक सम्बन्ध जोडिन आएको छ ।

सडक करीब सय मिटर माथिबाट आएको ठूला– ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध भएको थियो । पहिरोले एक सय २० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनियर ठाकुरप्रसाद भण्डारीले बताए । उनका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्रयाक’ खोलेर सडक निर्माण गरिएको हो । उनले सडक खुलाउनलाई धेरै जोखिम मोल्नु परेको भन्दै सडक सञ्चालनमा आए पनि कतिबेला पहिरो आएर सडक अवरुद्ध हुन्छ थाहा नै नहुने उनको भनाई छ ।

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सीमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न भने सकेको छैन । म्यार्दीखोलामा पानी नघटेको र वर्षा निरन्तर भएकाले यात्रुलाई भने समस्या भएको मनाङकी अस्मीता गुरुङ बताउँछिन् । उनी भन्छिन् सडक त सुचारु भयो तर म्यार्दीखोलामा पुल नबन्दा समस्या भएको छ ।

म्यार्दीखोलामा निर्माणाधीन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र सो पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण सम्पन्न गर्न बाँकी छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले सडक अवरुद्ध भएको जानकारी हुनासाथ खुलाउन पहल गरिएको थियो । यसका लागि डिभिजन सडक कार्यालय दमौलीबाट सुरुदेखि नै पहल भएको र जनप्रतिनिधि र स्थानीयको सहयोगकै कारण समयमै सडक खुलाउन सकिएको प्रजिअ पौडेलले बताए ।
यस सडक खण्डमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् । चाडपर्व नजिकिएसँगै सामान ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीय खुशी भएका छन् ।

सडक सुचारु भएसँगै आवतजावतमा सहज भएको मनाङ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । उनले भने लमजुङ र मनाङ जोड्ने एक मात्र बेंसीशहर चामे सडक सुचारु भएसँगै पैदल यात्रु र पर्यटकलाई सहज भएको छ । कुल करिब ६५ किमि दुरीको बेसीसहर–चामे सडकको लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमि खण्ड पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width