पञ्चासे काखमा पर्यटन जगाउँदै भदौरे

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
Bhadaure tourism

कास्की, स्याङ्जा र पर्वत संगमस्थल पञ्चासेको पदयात्रामा रहेका पर्यटक कास्कीको भदौरे देउरालीमा सुस्ताउँदै । तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल, पोखरा, ३० भदौ । प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसार अभावमा कास्कीको भदौरेले पर्यटनमा फड्को मार्न नसकेको स्थानीय व्यवसायीले दुःखेसो पोखेका छन् । कास्की, स्याङ्जा र पर्वत संगमस्थल पञ्चासेको प्रवेशद्वारको रुपमा भदौरेले पहिचान बनाएको छ ।

पञ्चासे आफैंमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ रहेको र सोही स्थलको काखैमा रहेर पनि भदौरेले पर्यटनमा उल्लेखनीय विकास गर्न नसकेको भदौरे पञ्चासे पर्यटन प्रवद्र्धन समिति अध्यक्ष एवं स्थानीय होटलकर्मी आशबहादुर गुरुङले सुनाए ।

विभिन्न प्रजातिका चरा, मृग, बाँदर, कालिज, परम्परागत मन्दिर, भयरथान, झाँक्रीथान, बराहथान, देवीथान, भूमेथान, छन्द्री छहरा, छाराप्रि छहरा, गुरुङ हिल, बाघको आकृति देखिने ढुंगा, गुरुङ संग्रहालय, फेवा तालको दृष्य र अन्नपूर्ण हिमश्रृंखलाको दृष्य जस्ता आकर्षणसँग भदौरे क्षेत्र जोडिएको छ ।

गाउँमा रहेको गुरुङ हिलबाट दुर्लुङ, बाजुङ, हलहले, देउपुर, क्याङ, लेस्पार, सल्यान, तिलाहर लगायत क्षेत्र देख्न सकिने व्यवसायी गुरुङले जानकारी दिए । भदौरेमा बस्न र खानाको कुनै समस्या छैन । चार वटा गेष्टहाउस र ३ सामुदायिक होमस्टेअन्तर्गत दर्जनौं सदस्यले पर्यटकलाई सेवा दिँदै आएका छन् । होटलमा सादा खानाको प्रतिछाक १ सय ८० रुपैयाँ, मासु सहितको खाना ३ सय र १ रात सुतेको १ सय रुपैयाँ लिने गरिएका गुरुङले सुनाए ।

भदौरेबाट पञ्चासे साढे ३ घण्टा पैदल दुरीमा पर्दछ । पञ्चासेमा सतवीज छर्न र बालाचतुर्दशी मेला भर्न जानेहरु अघिल्लो साँझ भदौरेमा रात काट्न पुग्ने गरेका छन् । अन्य अवस्थामा पनि स्वदेशी र विदेशी पर्यटक भदौरे घुम्न पुग्ने गरेको स्थानीय व्यवसायी सन्तबहादुर गुरुङले जानकारी दिए ।

पञ्चासे र भदौरे क्षेत्र प्रवद्र्धनका लागि भदौरे युवा क्लबले गाउँमा विगतदेखि मेला समेत गर्दै आएको उनले सुनाए । स्थानीय व्यवसायी रुपेश गुरुङ, समाजसेवी जीवन गुरुङ, सक्रीय युवा आइन्दल गुरुङ, ताइकाजी गुरुङ लगायत अन्य व्यक्तित्वहरुले समेत गाउँको प्रवद्र्धन र विकासमा भूमिका खेल्दै आएका छन् । कोरियाको ७ वर्षे जागिरे जीवन छाडेर स्थानीय युवा मोहन गुरुङले गाउँमै आएर होटल चलाएका छन् । पञ्चासे दक्षिणपट्टि भञ्ज्याङ भन्ने ठाउँमा पनि पर्यटकका लागि केही होटल तथा घरहरु रहेका छन् ।

पोखराको हरिचोकबाट निजी वा सार्वजनिक सवारी साधनमा नौडाँडा वा काँडे पुगी भदौरेसम्म र त्यसपछि पैदलयात्रा गरी पञ्चासे पुग्न सकिन्छ । पोखराको लेकसाइडबाट पामे, घाँटीछिना हुँदै भञ्ज्याङसम्म पनि मोटरयात्रा गरी पञ्चासे धामका लागि पैदलयात्रा तय गर्न सकिन्छ । अर्कोतर्फ पर्वतको आर्थर र स्याङ्जा जिल्लापट्टिबाट समेत पञ्चासे पुग्न सकिन्छ ।

समुद्री सतहबाट २ हजार ५ सय ९ मिटर उचाइमा रहेको पञ्चासेमा हिउँद याममा हिउँसमेत पर्ने कारण यो ठाउँ चिसो छ । पञ्चासेको थाप्लो वरपर कुनै मानव वस्ती छैन, जंगलमात्र रहेको छ । पञ्चासे निकै कम पर्यटक डुलेको ठाउँ भएका कारण पनि यहाँ आउने पर्यटकले नौलो अनुभव लिन सक्ने स्थानीय बासिन्दा बताउँछन् ।

पञ्चासेको विशेषता भनेको नजिकबाट प्रष्ट हिमश्रृंखला अवलोकन गर्न पाइनु हो । जैविक विविधता, १ सय बढी प्रकारका सुनगाभा र विभिन्न खालका लालीगुराँस अवलोकन यहाँ गर्न पाइन्छ ।

पञ्चासेको थाप्लोभन्दा तलपट्टि एउटा ठूलो धार्मिक पोखरी समेत रहेको छ । यसले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । सूर्योदय र सूर्यास्तको दृष्य पनि निकै आकर्षक देखिन्छन् यहाँबाट । जैविक विविधता, वन वातावरण, स्थानीय सँस्कृति र खानामा रमाउनको लागि पछिल्लो समयमा भदौरे र पञ्चासे जाने आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण समेत बढ्दै गएको स्थानीय व्यवसायी आइतसिरी गुरुङले सुनाइन् ।

पञ्चासे टाकुरामा शिद्धबाबा, धर्मशाला, महादेव, भ्यू टावर, चौबीसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन् । पञ्चासे क्षेत्र ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो क्षेत्र योग र ध्यानका लागि समेत उपयुक्त मानिन्छ । पञ्चासे क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भन्दा बाहिर पर्ने कारणले यहाँ प्रवेशका लागि पर्यटकले कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

Related News

सम्बन्धित समाचार

hero news full width