श्रीलंकामा नेपाल प्रबद्र्धन गरिने

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
PTC_Fotor

पोखरा पर्यटन परिषद्को १९ औं साधारणसभाका अतिथिहरु। तस्वीर : पीटीसी।

पोखरा पर्यटन परिषद्ले श्रीलंकामा पर्यटकीय पोखरासँगै सिंगो नेपाल प्रबद्र्धन गर्ने भएको छ। संस्थाको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाका अवसरमा त्यस्तो घोषणा गरिएको हो।

अन्तराष्ट्रिय बजारमा नेपाल प्रबद्र्धन गर्ने कार्यक्रम अन्तर्गत नेपाल सेल्स मिसन श्रीलंका २०२० नाम दिएर प्रचार अभियान अगाडि बढाउन लागिएको परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए। श्रीलंकाबाट नेपालमा धार्मिक पर्यटक आउने गरेको र अन्य खालका पर्यटक समेत नेपाल आउने गरेका कारण त्यस्तो अभियान संचालन गर्न लागिएको अध्यक्ष पोखरेलले सुनाए।

यही पक्षलाई मध्यनजर गर्दै श्रीलंकाको राजधानी कोलम्बो तथा क्यान्डी नामक शहरमा प्रबद्र्धनका कार्यक्रम संचालन गर्ने योजना परिषद्ले अगाडि सारेको हो। सन् २०१८ मा कूल ६९ हजार ६ सय ४० श्रीलंकाली पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक नेपाल पर्यटन बोर्डसँग रहेको छ। सन् २०१७ मा भने त्यस्तो संख्या ४५ हजार तीन सय ६१ रहेको थियो।

यसैगरी भारतका सिमावर्ती शहरहरु तथा उत्तरी छिमेकी चीनमा समेत प्रबद्र्धनका कार्यक्रम लिएर जाने योजनामा परिषद् रहेको संस्थाका महासचिव डिल्लीप्रसाद गौतमले जानकारी दिए। गण्डकी प्रदेशको समग्र पर्यटकीय विकासका लागि परिषद्ले पर्यटन प्रोफाइल र पर्यटन सम्बन्धी रणनीतिक योजना समेत तयार पार्न लागेको उनले जानकारी दिए। यसका लागि नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँग सहकार्य गरेर काम अगाडि बढाइने महासचिव गौतमले सुनाए।

पर्यटकलाई पोखरा तथा आसपासका क्षेत्रहरुको पहिचान एवं सुविधाका लागि थप विभिन्न ठाउँमा ग्रेटर पोखरा म्याप र साइनपोष्टहरु राख्ने योजना पनि परिषद्ले बनाएको छ। सिंगो नेपाल र गण्डकी प्रदेशका पर्यटकीय सम्पदाहरुलाई समेट्दै नेपाल सरकार र नेपाल बोर्डसँग सहकार्य गरी विभिन्न भाषामा विद्युतीय एवं छापाका प्रबद्र्धनात्मक सामग्रीहरु प्रकाशन गरिने परिषद्ले जनाएको छ। यसैगरी मोवाइल एप्लिकेशन समेत निर्माण गरी प्रबद्र्धनका कार्यक्रम अगाडि बढाउने योजना परिषद्ले सुनाएको छ।

पोखराको प्रबद्र्धनका लागि नेपाल पर्यटन बोर्ड लगायत अन्य पर्यटकीय संघसंस्थाहरुसँग सहकार्य गरी पोखरा ट्राभल मार्ट आयोजना गर्ने कार्यक्रम समेत परिषद्ले अगाडि सारेको छ।

यसैगरी तनहुँ जिल्लाको कोत्रेमा रहेको रक गाडेर्नलाई व्यवस्थित ढंगले प्रचारप्रशार गरी प्रबद्र्धन गर्ने योजना पनि परिषद्ले बनाएको छ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै पोखरा तथा गण्डकी प्रदेशको पर्यटन पूर्वाधार, प्रबद्र्धनात्मक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम गर्ने विषय समेत परिषद्ले सार्वजनिक गरेको छ। पोखराको कोमागाने पार्कमा रहेको विश्व प्रसिद्ध कालिगढहरुबाट निर्मित मुर्तिहरुको संरक्षण तथा सम्बद्र्धन गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने पनि परिषद्ले बताएको छ। ४० औं विश्व पर्यटन दिवस मनाउने तथा परिषद्ले गर्दै आएको असारे रोपाइँ महोत्सवलाई निरन्तरता दिने परिषद्ले जनाएको छ। तालिम र प्रशिक्षणका कार्यक्रम संचालन गर्ने विषय समेत आर्थिक बर्ष २०७५/०७६ का योजनामा समेटिएको छ। परिषद्को वार्षिक साधरण सभाको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका थिए। सो अवसरमा उनले नेपालले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० तथा गण्डकी प्रदेशले घोषणा गरेका भ्रमण बर्षहरुलाई सफल पार्न व्यवसायीको सहयोग आबश्यक पर्ने भनाई राखे।

सो अवसरमा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापा, परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, अर्का सभासद राजिव पहारी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव बहादुर कोइराला र नेपाल भ्रमण बर्ष २०२० का गण्डकी संयोजक अग्नी कँडेल र परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराईले भनाई राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width