यातायात क्षेत्रका समस्या समाधानमा जोड

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
Yatayat_Fotor

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रको समस्या समाधान गर्न आफू पूर्ण रुपमा तयार रहेको बताएका छन्।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीले व्यवसायीको संस्था कम्पनीमा रुपान्तरण भएपछि उत्पन्न अन्यौल हल गर्न कार्यदल बनाएर काम थाल्न सुझाव दिएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले पोखरेली ट्याक्सी सेवा प्रालि र स्थानीय यातायात प्रालिका नवनिर्वाचित पदाधिकारी र सञ्चालक समितिको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता अधिकारीले यातायात क्षेत्रको सवाललाई संविधानले समेटेको विषयलाई आधार मानेर काम गर्न आग्रह समेत गरे।

उनले यातायात क्षेत्रको कानून निर्माणको लागि सहयोगी भूमिका निर्वाह गर्न आफू तयार रहेको धारणा राखे।

नेकपा कास्की अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले सार्वजनिक सवारीको भाडा समायोजन गर्नको लागि पहल गर्ने बताए।

गण्डकी प्रदेशको राजधानी पोखरामा चल्ने सवारी साधन स्तरीय हुनुपर्ने बताउँदै अध्यक्ष थापाले सडक पूर्वाधारलाई समेत स्तरीय बनाउन ध्यान दिनुपनेर्मा जोड दिए।

पोखरेली ट्याक्सी सेवा प्रालिका नवनिर्वाचित अध्यक्ष प्रकाशमणि तिवारीले कम्पनी रजिष्टारको कार्यालय प्रदेशमा नहुँदा व्यवसायीहरु शेयर नामसारी गर्न काठमाडौ जानुपरेको दुखेसो राखे।

कार्यक्रममा स्थानीय यातायात प्रालि सञ्चालक रामचन्द्र लामिछाने, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री, यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्री क्षत्री, सचिव नारायण रिमाल, यातायात स्वतन्त्र मजदुर संगठन पोखरा महानगर कमिटी अध्यक्ष रामचन्द्र सुवेदी लगायतले मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width