पदमार्ग क्षेत्रमा प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोडिँदै

रासस
भाद्र २७, २०७६
61562479_2287445611506052_596118787552444416_n

पोखरा, २७ भदौ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकास गुरुयोजनाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।

तनहुँ को दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्ग क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक एवं ऐतिहासिकस्थलका साथै त्यहाँ प्रचलित संस्कृतिलाई पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन अभिवृद्धि गर्नेमा गुरुयोजनाले जोड दिएको छ ।

प्रस्तावित गुरुयोजना सम्बन्धमा पदमार्ग क्षेत्रमा पर्ने प्रत्येक स्थानीय तह र त्यसअन्तर्गतका वडाका जनप्रतिनिधि एवं सरोकारवालाबीच छलफल शुरु गरिएको र छलफलमा प्राप्त सुझाव समेतलाई समेट्दै अन्तिम निष्कर्षमा पुगिने मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

पदमार्गमा पर्ने प्रत्येक स्थानीय तहको अपनत्व कायम गराउँदै यसलाई देशको उत्कृष्ट पदमार्ग स्थापित गराउने उद्देश्यका साथ प्रस्तावित गुरुयोजनाको मस्यौदा छलफलमा लगिएको उनले बताउ । बर्खा होस् वा हिउँद जुनसूकै समयमा हिँड्न सकिने मध्यपहाडी क्षेत्रको यो पदमार्गलाई पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष डम्बरबहादुर केसी बताउछन् ।

तनहुँ तथा स्याङ्जाका साविकका २३ वटा गाउँविकास समिति पर्ने यस पदमार्गलाई सन् २००० मा शुरुआत गरिए पनि विभिन्न कारणबस यसले अपेक्षित गति लिन नसकेको उनले बताए । यहाँका प्रकृति तथा संस्कृतिका विविध पक्षलाई उजागर गर्दै तिनीहरूको पर्यटकीयरुपमा उपयोग गरी स्थानीयको आयआर्जन गराउने विषयले यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुग्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलको धारणा छ ।

समितिले प्रस्तावित गुरुयोजना सम्बन्धमा पदमार्ग क्षेत्रका तनहुँको शुक्लागण्डकीसहित स्याङ्जाका पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकाका र उक्त जिल्लाकै बिरुवा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षसँग छलफल गरिसकेको र उनीहरूबाट प्राप्त सुझावलाई समेटेर अन्तिम रुप प्रदान गरिने मिलेनियम टे«क व्यवस्थापन समितिका अध्यक्ष नवीन प्रकाश गुरुङले बताए ।

पदमार्गको दीगो व्यवस्थापन एवं त्यसबाट अधिकतम फाइदा लिनका लागि सम्बन्धित स्थानीय तहको सक्रियता अपरिहार्य भएको उनको भनाइ छ । समितिले पदमार्गमा पर्र्ने धार्मिक एवं ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरबासलगायतका हरेक विषयलाई समेटेर गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको गुरुयोजना तर्जुमा समितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रस्तावित गुरुयोजनामा मिलेनियम पदमार्गलाई प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक सम्पदाको समिश्रणसहितको साहसिक गतिविधि अनुभवका लागि नेपालमा मध्यपहाडी क्षेत्रको एक उत्कृष्ट पदयात्रा गन्तव्यका रुपमा विकास गरिने विषयलाई दीर्घकालीन सोचमा राखिएको छ ।पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्की लगायतको संरक्षण र उपयोगलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने गुरुयोजनाको लक्ष्य छ । यस क्षेत्रमा पूर्वाधार एवं स्थानीयको आयआर्जन लगायतमा क्षमता अभिवृद्धिका साथै अध्ययन अनुसन्धानको पाटोलाई निरन्तरता दिइनेछ । गुरुयोजनामा छ वटा प्रमुख उद्देश्यका साथै अन्य २४ वटा रणनीतिक उद्देश्यसहित पाँच वर्षको अवधिमा विभिन्न ९२ वटा कार्यक्रम सञ्चालन गर्ने विषयलाई जोड दिइएको उनले जानकारी दिए ।

समितिकै सक्रियतामा यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राह्मण, क्षेत्रीको बालनलगायतका संस्कृतिको संरक्षणमा पनि जोड दिइएको वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिए । नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर सहस्राब्दी पदमार्गमा ठूलो सङ्ख्यामा पाइन्छ । यस क्षेत्रमा चरा पर्यटनको समेत विकास गर्ने उद्देश्यले मिलेनियम ट्रेक व्यवस्थापन समिति र पोखरा पक्षी समाजबीच सम्झौता भई यसको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । कतिपय पाहुना चरा आउनेजाने क्रमका साथै मौसमको फेरबदल आदिलाई दृष्टिगत गरी तीन चरणमा चरा पर्यटनको सम्भाव्यता अध्ययन गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

पहिलो चरणको सर्वेक्षणबाट हाल पदमार्ग क्षेत्रमा १४७ प्रजातिका चरा पाइएको उनले जानकारी दिए । उनका अनुसार अध्ययनका क्रममा चराचुरुङ्गीका साथै यस क्षेत्रमा पाइने पुतली, जडीबुटीका साथै अन्य वनस्पतिसमेतको विवरणसहित तेस्रो चरणमा अन्तिम प्रतिवेदन तयार गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width