पर्यटकको मन जित्दै अन्नपूर्णका होमस्टे

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७६
Bhadaure

पाहुना स्वागतको क्रममा होमस्टे संचालकहरु । तस्वीर : रुपनारायण ढकाल/आदर्श समाज ।

रुपनारायण ढकाल
पोखरा, २६ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका– ४ स्थित भदौरे देउराली, भदौरे र तालिवराङमा संचालित होमस्टेहरुले पछिल्ला महिनाहरुमा पाहुनाको मन जित्न थालेपछि होमस्टे संचालकहरु उत्साहित हुन थालेका छन् ।

पाहुना आउने क्रम बढेसँगै आफूहरुको व्यस्तता पनि बढेको देउराली पञ्चासे तमु सामुदायिक होमस्टेका अध्यक्ष आइतसिरी गुरुङले जानकारी दिइन् । गुरुङका अनुसार उक्त सामुदायिक होमस्टे अन्तर्गत १० घर समेटिएको र पाहुना आउँदा उनीहरुलाई घरघरमा बाँडेर सत्कार गर्ने गरिएको छ ।

कोदोको रोटी, ढिंडो, दालभात, स्थानीय रुपमा उत्पादित साग, तरकारीहरु, गुन्द्रुक, भट्ट, अकबरे खुर्सानी, सिजन अनुसार फर्सी र इस्कुसको मुन्टा, खशी, बोका, कुखुराको माशु लगायतका परिकार खाना र खाजामा समावेश गर्ने गरिएको उनले सुनाइन् । पाहुनाहरुको इच्छा अनुसार साँझपख सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने गरिएको उनले बताइन् । खाजा, दुई छाक खाना, एक प्लेट माशु र सुताई गरी नौ सय ५० रुपैयाँको प्याकेज पाहुनाका लागि गाउँमा विकास गरिएको छ ।

गुरुङ सामुदायिक होमस्टे भदौरे, तमू ह्यूला सामुदायिक होमस्टे तालिवराङ र भदौरे पञ्चासे होमस्टे पनि यहाँ संचालन गरिएको छ । होमस्टेको कमाई बच्चाहरुको पढाई र घरखर्च तथा दुःखविमार हुँदा औषधोपचारमा खर्च गर्ने गरिएको गुरुङ होमस्टेका सदस्य खिमकुमारी गुरुङले जानकारी दिइन् ।

गुरुङ होमस्टेका अध्यक्ष रुपेश गुरुङले दशक अघि होमस्टेको विकास गरेको र पछिल्ला महिनाहरुमा झनै परिस्कृत ढंगले होमस्टे संचालन गरिएको जानकारी पनि उनले दिइन् । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले होमस्टेका लागि प्रदान गरेको अनुदान रकमबाट गाउँमा नाचघर समेत बनाइएको उनले सुनाइन् ।

तमु ह्युला सामुदायिक होमस्टेकी सदस्य आशकुमारी गुरुङले सो होमस्टे अन्तर्गत १५ वटा घर समेटिएको जानकारी दिइन् । गाउँमा बस्न र घुम्न विदेशी भन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेको बताउँदै उनले होमस्टे संचालकहरुलाई अंग्रेजी भाषाको तालिम दिन सके सजिलो हुने प्रतिक्रिया दिइन् । कुकिङ र बेकिङ लगायत कोदोका परिकार बनाउने तालिमहरु आफुहरुले विगतमा लिएको पनि उनले बताइन् ।

तमु ह्युला सामुदायिक होमस्टेकी अध्यक्ष तारा गुरुङले गाउँमा आउने पाहुनाहरुलाई सक्दो सत्कार गर्ने गरिएको र उनीहरुलाई अर्गानिक परिकारहरु चखाउने गरिएकोे जानकारी दिइन् । स्थानीय होमस्टे संचालक सन्तबहादुर गुरुङले भदौरेमा आउने पर्यटक गाउँ घुमेर वा रात काटेर फर्कने गरेको तथा कतिपय पर्यटक भने धार्मिक एवं पर्यटकीय महत्वको पंचासे जाने गरेको जानकारी दिए ।

संग्रहालय, मन्दिर, देवीदेवताका थानहरु, छहरा, अन्नपूर्ण हिमश्रृंखलाको दृष्य, पोखरी तथा जनावरका आकृतियुक्त ढुंगाहरु गाउँको आकर्षणको रुपमा रहेको उनले जानकारी दिए । होमस्टेको विकाससँगै परम्परागत संस्कृतिको संरक्षण, बाटोघाटोको सरसफाई र पर्यटकीय पूर्वाधारहरुको विकासममा समेत गाउँलेहरु जुट्न थालेका छन् ।

होमस्टे र पर्यटनलाई थप अगाडि बढाउन गाउँमा भ्यू टावरको निर्माण, भएको संग्रहालयलाई थप व्यवस्थित गर्ने तथा प्रचार सामग्रीहरु विकास गर्ने उद्धेश्य समेत आफूहरुले लिएको आइतसिरीले सुनाइन् । मदिरा मिसाइएको पंचासे कफि तथा स्थानीय कोदोको मदिरा समेत भदौरे पुग्ने अधिकांश पर्यटकले स्वाद मानेर खाने गरेका छन् । पोखराको हरिचोकबाट नौडाँडा वा काँडे हुँदै भदौरे पुग्न सकिन्छ । फेवा तालको सिरान पामेबाट घाँटीछिना हुँदै पनि भदौरेसम्म बाटो जोडिन्छ । गाउँसम्म मोटरबाटो पनि पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width