अघौटै अलैंची बाली टिप्न शुरू

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७६
Alaichi tipdai

लमजुङ, २७ भदौ । लमजुङमा अघौटे अर्थात चाडो पाक्ने अलैंची बाली टिप्न थालिएको छ । मस्र्याङ्दी गाउँपालिका– ७ ताराचोक शेराका किसानले अलैंची टिप्न शुरू गरेका हुन् । भदौको तेस्रो साताबाट प्रायः यो बाली टिप्ने काम शुरू हुन्छ ।

लमजुङमा सातसय देखि १ हजार २ सय मिटर उचाईमा लगाइएको अलैंची टिप्न थालिएको अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए । उनले भने ‘किसानका बारीमा पुगेर अलैंची टिप्ने र ग्रिडिङ गर्ने प्रविधिबारे सिकाएका छौं ।’

मस्र्याङ्दी गाउँपालिका– ७ नंवडामा अर्को ताराचोक गाउँ समेत पर्दछ तीनै गाउँका किसानले कृषक समूह गठन गरेर व्यक्तिगत तथा सामूहिक रूपमा अलैंची खेती गर्दै आएका छन् । उनीहरूले सामुदायिक वनमा सामुुहिक खेती गरेको केशबहादुर तामाङले बताए ।

‘मेरो जग्गा सेरा र लुदी दुवै ठाउँमा जग्गा भएको हुँदा म दुवै समूहमा छु । लुदीको समूहमा ४४ जना किसान छौं त्यसलाई पनि ११ जनाको भाग गरेर प्लट छुट्याएर खेती गरेका छौं उनले भने ।

‘मेरो व्यक्तिगत ४२ रोपनी क्षेत्रफलमा खेती छ, हामीले महभीर सामुदायिक वनमा अलैंचीको सामुहिक खेती गरेका छौं ।’ उनका अनुसार सामुहिक खेती पाँचसय रोपनी हुनुपर्छ । यो वर्ष व्यक्तिगत उत्पादन ४ क्विनटल होला भन्ने अनुमान छ उनले भने ।

लुदी गाउँका किसानले लुदी अलैंची कृषक समूह गठन गरेर सामूहिक रूपमा खेती गर्दै आएका छन् । लुदी गाउँभरि झण्डै पाँच सय रोपनी जग्गामा अलैंची लगाइएको अलैंची किसान सन्तबहादुर अधिकारीले बताए । उनका अनुसार २५ जना किसानले चार सय ७० रोपनी क्षेत्रफलमा अलैंची खेती गरेका छन् ।
वर्षे धान गोडेर, कोदो रोपेर सकियो अब अलैंची टिप्न शुरु भएको ताराचोकका अलैंची किसान कृष्ण अधिकारीले भने ‘यो वर्ष छिटो नै अलैची पाक्यो टिप्न पनि छिटो नै भयो ।’ उनले २० रोपनी क्षेत्रफलमा उनीहरूले अलैची खेती गरेको बताए । ३ मुरी धान खेती हुने बारीबाट उनले गतवर्ष १ लाख रुपैया अलैचीबाट कमाएको अधिकारीले बताए । उनले भने, ‘धानबारी मासेर अलैची खेती गरियो, यसवर्ष २ लाख रुपैयाँ बारबरको अलैंची उत्पादन हुने अनुमान छ ।’

‘गाउँका सबै किसानलाई अलैंची टिप्न भ्याइ नभ्याई छ’, चन्द्र तामाङले भने । स्थानीयले शुरूका दिनमा खेर गइरहेको पाखोबारीका परीक्षणका लागि यो खेती गरेका थिए । हुने रहेछ भन्ने भएपछि धान खेत मासेर अलैंची लगाउने गरेका छन् ।

जिल्लामा ६ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको अलैचीले उत्पादन दिन थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोनका वरिष्ठ कृषि अधिकृत इश्वरीप्रसाद न्यौपोनले बताए । उनका अनुसार जिल्लामा १ हजार १ सय हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरिएको छ । जिल्लामा गत वर्ष अलैची बिक्रीबाट ४ करोड ६८ लाख रुपैया भित्रिएको थियो र यसपटक उत्पादन अझ बढ्ने न्यौपानेले बताए ।

अलैंची खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बसाइँ सरेर गएका मानिसहरु समेत गाउँ फर्केको कान्छा बताए । उनले भने ‘अलैंचीले राम्रो उत्पादन दिन थालेपछि शहरबजार झरेकाहरू समेत गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् । गाउँले बसाइँ सरेपछि ६ घरपरिवार मात्रै रहेको मस्र्याङ्दी गाउँपालिका– ७ लुदी गाउँमा अहिले १९ घरपरिवार फर्किएर गाउँ आएका छन् ।’

अलैंची किसानले दानाको बिक्रीबाट मात्र नभई यसका विरुवा बेचेर पनि राम्रो आम्दानी गरेका छन् । यो वर्ष कृषकहरूले ७ लाख नर्सरी अलैँचीका बिरुवा बिक्री गरेको अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार बिरुवा बिक्रीबाट किसानले यो वर्ष ३५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width