सामुदायीक सिकाई केन्द्रको अनुदान ‘दुरुपयोग’

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७६
BANI PHOTO

म्याग्दी,२६भदौ । म्याग्दीमा सामुदायीक सिकाइ केन्द्रलाई आएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । बेनी नगरपालिका अन्तर्गत विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो ।

संघीय सरकारबाट विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत नगरपालिका भित्र रहेका सात वटा सामुदायिक सिकाई केन्द्रलाई १४ लाख रुपैयाँ शसर्त अनुदान प्राप्त भएको थियो । सामुदायीक सिकाइ केन्द्रको व्यवस्थापन र केन्द्रमा कार्यरत कर्मचारीको तलब कटाएर बाँकी रहेको ८ लाख ७९ हजार दुई सय रुपैयाँबाट सात वटा सामुदायिक सिकाइ केन्द्रलाई विभिन्न शीर्षकमा वडाको सिफारिस र कार्यक्रमको प्रस्तावका आधारमा अनुदान वितरण गरिएको थियो । गत असार १४ गते बसेको नगर शिक्षा समितिको बैठकले बाँकी रहेको अनुदान वितरण गर्ने निर्णय गरेको थियो ।

आयआर्जन तथा बाख्रापालन शिर्षक कार्यक्रमको प्रस्तावको आधारमा शिवालय सिकाई केन्द्रलाई एकलाख ३३ हजार रुपैयाँ प्राप्त भएको थियो । आयआर्जन तथा बाख्रापालन शीर्षक कार्यक्रमका आधारमा सिकाइ केन्द्रलाई प्राप्त भएको अनदान रकम पहुँचवाला र ठूलाबडाले दामासाहीले बाँडेका हुन । कार्यक्रमको उद्देश्य अनुसार परिचालन हुनुपर्ने बजेट आफूखुसी पहुँचवाला,नातापाता र फर्जी विलभरपाई बनाएर बाँडफाँड गरेको पाइएको हो ।

नगर शिक्षाबाट आयआर्जन तथा बाख्रापालनका अनुदान पाएको सिकाई केन्द्रले आमभेला,सबैलाई जानकारी नदिई ,राजनीतिक पहुँचको आधारमा,उच्च बर्गका व्यक्तिलाई बाँडेको स्थानीयले गुनासो गरेका छन् । अनुदान रकम विधि अनुसार वितरण नगरेको स्थानीयवासीहरुले गुनासो गरेका छन् । कार्यक्रमका बारेमा हामीलाई कुनै जानकारी नै छैन । गुपचुप तरिकाले पहुँचवालाहरु मिलेर वाँडफाँड गरेका छन् । नाम नछाप्ने सर्तमा एकजना स्थानीयवासीले भने ‘ठूलाबडाहरुले फर्जी बिलभरपाई बनाएर अनुदान रकमको दुरुपयोग गरे ।’

सिकाई केन्द्रकी परिचालिका बिष्णु कुँवर र बालमन्दिर आधारभुत विद्यालयका प्रअ एव्म सिकाइ केन्द्रका सदस्य रामप्रसाद शर्माको मिलेमतोमा,आमभेला नगरी राजनीतिक पहुँचका आधारमा कार्यकतालाई भरणपोषण गर्ने काम गरेको ति स्थानीयले बताए । कुनै नयाँ बाख्रा खरिद गरिएको छैन् अनुदान वितरणमा अनियमितता भएको छ ती व्यक्तिले भने ‘दलित,गरीब तथा विपन्न परिवार लक्षित व्यक्तिलाई वितरण गर्नुपर्नेमा राजनीतिक पहुँचका आधारमा केही दलित तथा गरिब परिवार देखाएर उच्च बर्गका व्यक्तिलाई अनुदान वितरण गरिएको छ ।’

यता शिवालय सामुदायिक सिकाई केन्द्रले नगरपालिकालाई भदौ १९ गते पेश गरेको विल भरपाईमा पनि फर्जी विल बनाइ पेश गरेको पाइएको छ । सिकाई केन्द्रले नगरपालिकालाई पेश गरको विल भरपाईमा अनुदान वितरण गर्दा असल जातका बाख्रापालन कृषक समूह गठन गरी २० जनालाई बाख्रा वितरण गरेको जनाइएको छ ।

वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलको उपस्थितिमा स्थानीय २० जनाको बाख्रापालक कृषक समुह गठन गरी २० जना कृषकलाई असल जातका बाख्रा वितरण गरिएको विल भरपाईमा उल्लेख गरेको भए पनि खरिद गरिएको कुनै पनि बिल समावेश गरिएको छैन् । अनुदान आएको रकमबाट कार्यालय व्यवस्थापन खर्च छुट्टाएर बाँकी रहेको एक लाख रुपैयाँबाट प्रति किसान पाँच हजारका दरले र बाख्रापालक किसानबाट एक हजार गरी ६ हजार रुपैयाँमा २० वटा स्थानीय जातका बाख्रा किनेको उल्लेख गरी नगरपालिकामा फर्जी बिल भरपाई पेश गरिएको छ ।

सिकाई केन्द्रकी परिचालिका बिष्णु कुँवरले पेश गरेको विल भरपाई अनुसार सोही वडाका डाँडाखेत धैरेनीका तुलबहादुर किसानबाट असल जातका ५ वटा,वडा नं ५ निवासी पशुपति कार्कीबाट ४ वटा, वडा नं ५ खहरेखोला भीरमूनी निवासी यामबहादुर खत्रीबाट ६ वटा, तथा बेनपा ४ भीमबहादुर मल्लबाट ५ वटा गरी २० वटा असल जातका बाख्रा खरिद गरी वितरण गरिएको जनाइएको छ ।

समुहले ५ वटा बाख्रा खरिद गरेको भनिएका तुलबहादुर किसानको घरमा भने एउटा बाख्रा र दुई पाठा मात्र छन् । मेरो एउटा मात्र बाख्रा छ दुई महिना अघि व्याएर दुई वटा पाठ्री मात्र छ मैले कसैलाई विक्री गरेको छैन् । किसानले भने । मसँग नभएका बाख्रा बिक्री गरेको भनेर फर्जी बिल बनाएर मेरो बद्नाम गर्न खोजीयो उनले भने ।

नगरपालिकाका सूचना अधिकारी युवराज थापाले शिवालय सिकाई अन्तर्गत २० जनालाई असल जातका बाख्रा वितरण गरिएको भनि विल भरपाई पेश गरेको जानकारी दिए । उनले विल भरपाई पेश गर्दा प्रक्रिया अनुसार नभएको बताउँदै लापरबाही भएको बताए । कुन फर्मबाट खरिद गरेको भन्ने कुनै विल पेश भएको छैन् सूचना अधिकारी थापाले भने , ‘विलभरपाई पेश गर्दा प्रक्रिया संगत मिलेको छैन्,चार जना कृषकबाट बाख्रा खरिद गरिएको भन्ने वैठकको निर्णय उल्लेख गरिएको छ । विलमा समावेश छैन् यो लापरवाही हो ।’

साथै सिकाई केन्द्रले पेश गरेको विल भरपाईमा असार १६ र १९ गते गरी दुई पटक बसेको बैठकमा सिकाई केन्द्रका अध्यक्ष शेरबहादुर बरुवाल सहित अन्य केही सदस्यले गरेको हस्ताक्षर पनि फरकफरक भएको पाइएको छ । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बरुवालले हस्ताक्षर गरिदिनु भन्दै घरमै आएकाले हस्ताक्षर गरेको तर के कार्यक्रम हो भन्ने बारे आफुलाई कुनै जानकारी नभएको र आफुले पनि अरुले भनेको आधारमा थाहा पाएको प्रतिक्रया दिए ।

बालमन्दिर आधारभुत विद्यालयका प्रअ तथा सिकाई केन्द्रका सदस्य शर्माले भने अनुदान वितरणमा आफ्नो कुनै पनि संकलता नरहेको दावी गरे । ‘.फरक राजनीतिक आस्थाका कारण कसैले मेरो नाम मुछेका होलान तर उनीहरुले लगाएको आरोपमा कुनै सत्यता छैन’् ,प्रअ तथा सिकाई केन्द्रका सदस्य शर्माले भने ।

वडा अध्यक्ष पौडेलले अनुदानबाट सबैले बाख्रा खरिद गरेको दावी गर्दै बाख्रा पाएका सबै किसानको घरमा अनुगमन गरेको बताए । बाख्रा कहाँबाट खरिद गरिएको भन्ने आफैलाई थाहा नभएको उनले बताए । राजनीतिक पहुँचका आधारमा कार्यकर्तालाई वितरण गरे भन्ने प्रश्नमा उनले वडा ठूलो भएको अनुदान थोरै भएकाले सबैलाई समेट्न नसकिएको प्रतिक्रिया दिए ।

नगर शिक्षा संयोजक मोहन बानियाँले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका सात वटा सामुदायिक सिकाई केन्द्रका लागि नेपाल सरकारबाट विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १४ लाख रुपैयाँ शसर्त अनुदान आएको थियो । सामुदायीक सिकाइ केन्द्रको व्यवस्थापन र केन्द्रमा कार्यरत कर्मचारीको तलब कटाएर बाँकी रहेको ८ लाख ७९ हजार दुई सय रुपैयाँबाट वडामा रहेका सामुदायिक सिकाइ केन्द्रलाई वितरण गरिएको जानकारी दिए । वडाको सिफारिस र सामुदायिक सिकाइ केन्द्रको कार्यक्रम प्रस्तावका आधारमा अनुदान वितरण गरिएको हो शिक्षा संयोजक बानियाँले भने ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नं ६ स्थित ज्ञानमन्दिर सामुदायिक सिकाइ केन्द्र अर्थुङ्गेले शैक्षिक मेलाका लागि एक लाख ७० हजार ,वडा नं ५ स्थित वगुवाखोला सामुदायिक केन्द्र वगुवाखोलाले १ लाख ,वडा नं २ स्थित भकुण्डे सामुदायिक विकास केन्द्रले भकुण्डेले आयआर्जन तथा बाख्रा पालनका लागि एक लाख ३३ हजार रुपैयाँ अनुदान पाएकोमा १० वटा समुहलाई १० हजारका दरले वितरण गरिएको बताइएको छ ।

यसैगरी वडा नं ९ स्थित घतान सामुदायिक सिकाइ केन्द्रले स्वास्थ्य र शिक्षा सम्बन्धी तालिम सञ्चालनका लागि एक लाख रुपैयाँ , वडा नं १० पात्लेखेत सामुदायिक सिकाई केन्द्र पात्लेखेतले अभिमुखीकरणका लागि एक लाख ३३ हजार वडा नं १ स्थित रत्नेचौर सामुदायिक सिकाइ केन्द्र रत्नेचौरले कार्यालय व्यवस्थापनका लागि एक लाख १० हजार दुई सय रुपैयाँ अनुदान पाएका थिए ।

कार्यक्रम अनुसार नगरपालिकाका उपमेयर सन्जु बरुवालाई अनुगमनका लागि सहकार्य गरिएको थियो । अन्य वडाका सामुदायिक सिकाई केन्द्रले कार्यक्रम सम्पन्न गरेको र उपमेयर बरुवालको संयोजकत्वमा रहेको समितिले अनुगमन गरेको बताउँदै वडा नं ४ स्थित शिवालय सामुदायिक केन्द्रले के कार्यक्रम गरिएको कुनै जानकारी नभएकाले अनुगमन नगरिएको शिक्षा संयोजक बानियाँले बताए ।

साधन राम्जाली

Related News

सम्बन्धित समाचार

hero news full width