सुन्दर गन्तव्य लमजुङे घलेगाउँ

Avatar आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७६

लमजुङ, १९ भदौ । लमजुुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका स्थित घलेगाउँ सार्क राष्ट्रकै नमूना ग्रामिण पर्यटकीय स्थलको रुपमा प्रख्यात छ ।

समुन्द्री सतहदेखि २१०० मिटरको उचाईमा अवस्थित घलेगाउँ अन्नपूर्ण संंरक्षण क्षेत्र आयोजना भित्र पर्दछ । अन्नपूर्ण र लमजुङ हिमालको काखमा रहेको लगभग ७०० वर्ष पुरानो यस गाउँबाट बुद्ध हिमाल, मनास्लु हिमाल, लमजुङ हिमाल, ङादीचुली हिमालका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । पूर्वमा मस्र्याङ्दी नदी, पश्चिममा मिदीम खोला बगेको सुन्दर दृश्य देख्न सकिन्छ । यस्तै हाइकिङ गर्दै आसपासका पतझर वनजंगलका हरियालीमा चराहरुको चिरबीर आवाज सुन्दै रम्न सकिन्छ ।

विहानपख उदाउँदो सूर्यकको किरण र गोधुली साझँमा हिमालतिर डुब्दै गरेको सूर्यको सुनौलो चमकले भिउ टावरतीरको वातावरणमा उल्लास छाउँछ । स्थानीय भाषामा यस गाउँलाई कोइम्ले नाँसा भनिन्छ । १२० घरधुरी रहेको यस गाउँमा गुरुङ जातीको बाहुल्य रहेको छ । यहाँको मुख्य पेशा भनेको होमस्टे संचालन गर्नु हो । पालो अनुसार हरेक घरले पाहुना राख्ने गरेका छन् । होमस्टे बाहेक यहाँका बासिन्दाले पशुपालन, कृषि तथा बेलायती र भारतीय सेनामा सेवा गर्दै आएका छन् ।

विसं २०५७ सालबाट ग्रामिण पर्यटनतर्फ उन्मुख भएको घलेगाउँ १९ वर्षको अवधिमा सार्क राष्ट्रको नमूना गाउँ हुँदै नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा विकसित हुन अगाडि बढेको छ । यस गाउँका मानिसहरुको आर्थिक स्थिति उकास्न निजी र सामूहिक गरेर १००० बढी भेडा बाख्राहरु समेत पालन गरिएको छ । ति भेडाका ऊनबाट बनाइएका राडी, पाखी तथा बख्खु समेत खरिद गर्न पाइन्छ । हाल लमजुङ उच्च भेगमा गोठालाहरुले चराइरहेका ती भेडाहरु दशैंमा गाउँ झरेपछि घलेगाउँको माहौल नै फेरिन्छ ।

यस गाउँमा रहेका विभिन्न पर्यटन स्थलहरुमा अन्नपूर्ण संरक्षण क्षेत्रको पहिलो चिया बगान, गुरुङ समुदायले प्रयोग गर्दै आएका बस्तुहरुको संग्रहालय, मनकामना पुरा गर्ने तीजे उत्तरकन्या मन्दिर, गोरखा आर्मी पार्क, गुरुङ पुरोहितहरुको सरस्वती मन्दिर रहेका छन् । संग्राहालयमा गुरुङहरुले जन्मदेखि मृत्यु कर्ममा प्रयोग गर्ने सामाग्रीहरु राखिएका छन् । यस्तै अन्तिम घले राजा क्यालपोराजाल्केको शालिक पनि गाउँको मुख्य अकार्षण रहेको छ । यस्तै हिमश्रृंखला तथा गाउँको रमणीय दृश्यावलोकन गर्ने भ्यू टावर तथा त्यहाँ रहेको बगैंचा पनि पर्यटकहरुको मन बहलाउने ठाउँ हुन् । यस्तै गाउँमा आउने पाहुनाको लागि सोरठी, कृष्ण चरित्र, घाटु तथा झ्याउरे नाचद्वारा स्थानीयले स्वागत गर्ने गरेका छन् । पर्यटकहरुले निगालोबाट स्थानीयहरुले डोको, नाम्लो, थुन्से तथा भकारी बुनिरहेको कलात्मक दृश्य पनि देख्न सक्छन् । यस्तै भेडाको ऊनबाट बख्खु तथा अल्लोको धागोबाट भांग्रा झोलाहरु बुनिरहेका परिश्रमी महिलाहरुबाट ती सामाग्री किन्न पनि सक्छन् ।

स्मार्ट भिलेजको रुपमा बिकास गर्नका लागि हाल गाउँका सबै छतहरुमा एउटै रङको छाना छाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । सबै छतहरु रातो रङको जस्तापाता छाउन गण्डकी प्रदेश र गाउँपालिकाले बजेट छुट्याएका छन् । केही घरको छतमा निला रङको छाना बाहेक बाँकी सबैमा रातो छानाले घर छाइएको छ । घलेगाउँमा आन्तरिक पर्यटकतर्फ विशेष गरी शिक्षक, विद्यार्थी, साहित्यकार तथा प्रकृतिप्रेमीहरु बिदाको समय आउँछन् । साथै शुक्रबार र सार्वजनिक बिदाको दिन भने यहाँ अन्य समय भन्दा बढी आन्तरिक पर्यटकहरु ओइरिन्छन् । यस्तै भारत, अमेरिका, बेलायत, स्पेन लगायत विभिन्न अमेरिकी तथा युरोपियन देशहरुबाट बाह्य पर्यटकहरु समेत आउँछन् । विशेष गरि वर्षा रोकिन बन्द भएपछि असोज महिनादेखि मंसिरसम्म पर्यटकहरुको संख्या बढ्ने गर्छ । यी ३ महिनामा मौसम सफा भएर हिमाल देखिने हुँदा प्रकृतिप्रेमीहरु जिपकाजिप घलेगाउँ आउने गर्छन् । हुन त अहिले भदौमा समेत पानी परेर मौसम खुलेपछि हिमाल देखिने गरेको छ पर्यटकहरुलाई स्थानीय रुपमा उत्पादित तथा संकलित साग, निगुरो, लोकल आलु, ढिंडो, भेंडा तथा खसीको सुकटी र लोकल कुखुराको मासु खुवाउने गरिन्छ ।

खर्च र बसाई ः

पोखराबाट बेसी शहर पुग्न बस तथा माइक्रो भ्यान बिहानदेखि दिउँसोसम्म छुट्ने गर्छन् । अन्तिम बस भने दिउँसो २ बजे छुट्न् गर्छ । सिधा बस नपाएमा डुम्रेसम्म अन्य सवारी साधनमा गएर त्यहाँबाट बस फेरेर बेसी शहर पुग्न सकिन्छ । वेँसी शहरबाट २ घण्टाको जिप यात्रामा घलेगाउँ पुगिन्छ । बेसी शहरबाट हिंडेर जाँदा भने गाउँ पुग्न ५ घण्टा लाग्छ । गएको दिन गाउँ पुग्दा रात पर्ने हुँदा दोस्रो दिन माथि उल्लेखित ठाउँहरु घुम्न सकिन्छ । २ दिनको सम्पूर्ण खर्च बढीमा ५ हजार रुपेयाँ लाग्छ ।

सुरज हजारे दाहाल

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पर्यटन प्रवद्र्धनमा अन्नपूर्ण

थप चार होमस्टे विच मितेरी

टाउको ठोक्याएर होमस्टेबीच मितेरी

गुरुङ पर्यटन व्यवसायी संघमा राम

प्रमुख समाचार

आज महाशिवरात्रि

थप प्रमुख समाचार

नाटक ‘यो कस्तो महाभारत’

कामनालाई कर्पोरेट सूपर सिक्सेस उपाधि

श्रीकृष्ण प्रणामी वृन्दावनधाममा सहयोग