यातायात खर्चबाट सुत्केरी वञ्चित

रासस
भाद्र १४, २०७६
MenInDelivery_20190628153504

दमौली, १४ भदौ । तनहँुको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा सुत्केरी गराएका २३ महिला यातायात खर्चबापतको रकम पाउनबाट वञ्चित भएका हुन् ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत सरकारले रु दुई हजार र नियमित चार पटक गर्भ परीक्षण गर्नेलाई थप रु आठ सय प्रदान गर्दै आइरहेको छ । तर अस्पतालको लापरवाहीले गत आर्थिक वर्षको अन्तिम साता सुत्केरी भएका महिलाले यातायात खर्चबापतको रकम पाउन सकेनन् ।

अस्पतालको सरकारी खाता गत असार २५ गते नै बन्द गरिएको र त्यसपछि कुनै पनि रकम झिक्न नपाएको कारण सो मितिभन्दा पछि सुत्केरी हुन आउनेलाई रकम दिन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । सुत्केरीले रकम नपाएका बारेमा आफूले नयाँ आर्थिक वर्ष लागेपछि मात्र जानकारी पाएको हुँदा त्यसबारेमा सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधिएको उनले बताए ।

गत असार २५ गतेपछि असार ३२ गतेसम्म अस्पतालमा २३ जनाको सुत्केरी गराइएको थियो । ती सबै सुत्केरीले प्राविधिक कठिनाइको कारण अब सरकारी सुविधा नपाउने दमौली अस्पतालकी नर्सिङ अधिकृत जमुनादेवी शर्माले जानकारी दिए । अस्पतालका लेखापालको लापरवाहीका कारण सुत्केरीले आफ्नो सुविधाबाट वञ्चित हुनुपरेको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले आर्थिक व्यवस्थापनको कुरा लेखापालले मिलाउनुपर्नेमा नभएकाले समस्या उत्पन्न भएको बताए ।

सो अस्पतालमा गत आवमा ६०७ को सुरक्षित सुत्केरी गराइएको थियो । चालू आवको साउन महिनामा अस्पतालमा सुत्केरी गराएका ७२ महिलाले पनि यातायात खर्चबापतको रकम प्राप्त गरेका छैनन् । चालू आवमा अहिलेसम्म खाता सञ्चालनको अख्तियारी प्राप्त नभएका कारण सुत्केरी भएकालाई रकम उपलब्ध गराउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका तत्कालिन लेखापाल पार्वती पौडेल स्वयं सुत्केरी भई बिदामा बसेकाले नयाँ लेखापालको व्यवस्था नभएको र अहिले आर्थिक कारोवार ठप्प रहेको अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width