मालपोत कार्यालयको सेवा अनलाईनमा

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
Malpot Online-Sewa

लमजुङ । लमजुङमा मालपोत कार्यालयले अनलाईन सेवा शुरु गरेको छ । सेवाग्राहीलाई सहज, सरल एवम् छिटो छरितो रुपमा सेवा प्रदान गर्न अनलाइन सेवा सञ्चालनमा ल्याएको कार्यालयले जनाएको छ ।

उक्त सेवाको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले उद्घाटन गरे । उनले अहिलेको सूचना प्रविधिको युगमा सार्वजनिक सेवा कार्यालयहरू प्रविधिमैत्री हुनु राम्रो हो भने । उनले भने– ‘अनलाइनबाट सेवा सुरु भएपछि कार्यालयमा हुने किर्ते र जालसाजी जस्ता अनियमितताका कार्य समेत रोक्न मद्दत पुग्ने छ ।’ नागरिकहरूले सहजै सेवा पाउँने छन्, झन्झट बेहोर्नुपर्दैन । उनले कार्यालयमा पर्याप्त कर्मचारी नभए पनि भएका कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्न उनले अनुरोध गरे ।

मालपोत कार्यालयका प्रमुख गंगाबहादुर घलेले ‘यसअघि नागरिकलाई मालपोतमा सेवा लिन आउँदा धेरै समय कुनुपर्ने बाध्यता थियो । अब अनलाइन सेवा सुरु भएपछि त्यो समस्या हट्ने छ ।’ उनका अनुसार कार्यालयमा अनलाइन सेवामार्फत सेवाग्राहीलाई सेवा दिइएको छ । सेवा सुचारु गर्नका लागि अनलाइनका माध्ययमबाट सेवा प्रदान गर्न आरएस ईन्जिनियरिङले एकजना कम्प्युटर अपरेटर र मालपोत कार्यालयले एकजना कम्प्युटर अपरेटर करारमा राखेको घलेको भनाई छ ।

आरएस इन्जिनियरिङ काठमाडौंले मालपोत कार्यालयमा आई अनलाइन सेवा प्रणाली जडान गर्नुका साथै कर्मचारीलाई तालिम दिने काम गरेको सो कार्यालयका शाखा अधिकृत कृष्णबहादुर कार्कीले बताए । ‘फोटो कार्यालयबाटै खिचिन्छ । औंठा छाप कार्यालयबाटै हुन्छ । प्रक्रिया पुगेपछि अनलाइनमार्फत लालपुर्जा दिन्छौं, कार्यालयको काम पारदर्शी हुनेछ, उनले भने ।

एउटा जिल्लाको कार्यालयमा रहेको विवरण अर्को जिल्लामा समेत हेर्न सकिने उनले बताए । अनलाईन सेवाबाट एक ठाउँबाट अर्को ठाउँमा बसाई सरेर जाँदा उसको सम्पत्ति छ वा छैन भन्ने वारेमा तुरन्त जानकारी हुने उनको भनाई छ ।बेसीशहर नगरपालिका– ८ का चन्द्रकान्त पौडेलले भने ‘यसअघि सेवा लिन धेरै समय लाग्ने गथ्र्यो । भनसुन गरेर हुन्छ की भनेर भनसुनतर्फ लाग्ने गरिन्थ्यो, अब त्यस्तो नहोला ।’ मालपोत कार्यालयमा २६ कर्मचारी दरबन्दी भए पनि जम्मा १० जना कर्मचारी मात्र कार्यरत छन् मालपोत गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width