गाउँ छोड्नेहरु पछुताउँदै

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
KN_Tanahu2

मानहुँकोट (तनहुँ) । रेवती आलेमगरको १४ वर्षको उमेरमै विवाह भयो । तनहुँको मानहुँकोटमा विवाह गरी जाँदा गुजमुज्ज घुमाउने ७० घर थिए । मानिसको चहलपहल पनि त्यति नै थियो ।

५९ वर्षीया रेवती ती दिन सम्झिन्छिन्, ‘विवाह भएको तेस्रो दिन बारीबाट घाँस काटेर ल्याउँदा धेरै घर भएकोले आफ्नो घर ठम्याउन सकिनँ । म त छिमेकीको घरमा पस्न पो पुगेछु ।’ उनको विवाहको ४४ वर्ष पार गरिसक्दा हाल मानहुँकोटमा मात्र ७ घर सीमित छन् । बसाइँसराइले प्रत्येक वर्ष गाउँलेहरु वेँसी झर्दा गाउँ रित्तिदै गएको हो । पीउनेपानी अभावकै कारण मानहुँकोटका अधिकांश परिवार वेँसीतर्फ झ¥यो ।

तर सात परिवारले भने मानहुँकोट छाडेन । अहिले यो गाउँ पर्यटकीय रुपमा विकास हुन थालेपछि बसाइँ सर्नेहरु पनि पछुताइरहेका छन् । केही परिवार पुनः गाउँ फर्किने तयारीमा छन् ।

मानहुँकोट २०४९ सालदेखि नै व्यास नगरपालिका भएको हो । अहिले यो व्यास नगरपालिका–५ मा पर्छ । तर यहाँको विकास भने सधैँ पछाडि प¥यो । दमौली बजारबाट दक्षिणतर्फ ७ किलोमिटर उकालो चढेपछि मानहुँकोट पुगिन्छ । जहाँबाट अन्नपूर्ण हिमश्रृंखला, दमौली बजार, मादीनदी, जामुने, स्यागे बजार, बन्दीपुर, सिसाघाट र भोर्लेटार बजारको समेत दृष्यावलोकन गर्न सकिन्छ ।

पर्यटकीय रुपमा विकास हुन लागेको मानहुँकोटमा अहिले दैनिक ५०/६० जना आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउँछन् भने शनिवार २ सयको हाराहारीमा । अहिले मानहुँकोटमा सातवटै घरमा रेष्टुरेण्ट छ भने एक दुई घरमा बस्नेसमेत व्यवस्था छ ।

सदरमुकामबाट नजिकै रहेर पनि पूर्वाधार विकास, बाटोघाटो, खानेपानी लगायत कारण दुर्गमजस्तै बनेको यस ठाउँको पर्यटकीय सम्भाव्यता दृष्टिगत गरी व्यास नगरपालिकाले चासो दिएसँगै पर्यटक संख्या बढ्दो छ । ‘अहिले गाउँको जग्गा आनाकै २ लाख रुपैयाँ पुगेको छ,’ स्थानीय सुकराम थापामगरले बताए ।
घरायसी सरसामान किन्न हिडेरै सदरमुकाम दमौली जानुपर्ने बाध्यता थियो । सडक थिएन । पानी लिन २ घण्टा हिड्नुपर्ने थियो । त्यहाँबाट घर फर्कन २ घण्टाभन्दा बढी समय लाग्यो । तर अहिले १० करोड रुपैयाँको लागतमा गाउँमै जोड्न् सडक निर्माण शुरु भएको छ ।

दमौलीबाट सवारीसाधनमा यहाँ करीब २५/३० मिनेटमै पुग्न सकिन्छ । स्थानीयवासीका लागि गाउँमा नै आकाशेपानी सङ्कलन गर्न ट्याङ्की निर्माण गरिएपछि अहिले भने केही राहत मिलेको छ ।

‘पहिला राति १ बजे उठेर पानी लिन जान्थ्यौँ, उज्यालो हुँदा जम्मा दुई खेप पानी ल्याउन सकिन्थ्यो,’ रेवती आलेले भनिन्, ‘अहिले आकाशेपानी सङ्कलन हुने भएकाले ठूलै राहत मिलेको छ ।’

पानीको स्रोत तल र गाउँमाथि हुँदा पानीको समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । भएका पानीका स्रोत व्यवस्थित गर्ने लक्ष्यका साथ सपाङ्दी भीरपानी खानेपानी कुवालाई व्यवस्थित बनाएका कारण पानी ल्याउन केही सहज भएको गाउँले बताउँछन् ।

त्यस्तै, अलैँचेबाट मानहुँकोटसम्म ७ किमी सडक कालोपत्रे गर्ने तयारी भइरहेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार २०७४ सालदेखि यहाँबाट पुलिमराङसम्म गर्न थालिएको ४४ किमी म्याराथन कारण पर्यटक संख्या बढ्न थालेको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँ प्राकृतिक रुपमा रमणीय मगर जातिको बासस्थान एवं यदुनाथ खनालको पनि जन्मभूमि भएको उल्लेख गर्दै मानहुँ र नेपालको लोकतान्त्रिक आन्दोलनमा ६÷६ जना व्यक्ति गुमाएको शहीदको गाउँ पुलिमराङलाई पनि सँगसँगै विकास गर्ने सोच राखिएको बताए ।
‘मानहुँबाट पुलिमराङसम्म म्याराथनले यी दुवै ऐतिहासिक स्थललाई जोड्न महत्वपूर्ण सहयोग पु¥याएको छ । नगरपालिकाले यहाँको विकासलाई उच्च प्राथमिकतामा राखेको छ,’ नगर प्रमुख न्यौपानेले भने । यहाँको दुर्गा मन्दिरमा बडादशैँ, चैतेदशैँमा र मङ्सिर पूर्णिमामा सिद्धबाबा मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ ।

मानहुँकोटमा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्थल बनाउने तयारी नगरपालिकाले गरेको छ र पहिलो चरणमा ४० लाख बजेटसमेत विनियोजनसमेत गरी रेलिङ निर्माण गरिएको जानकारी प्रमुख न्यौपानेले दिए । साथै कुल ७ सय मिटर दुरीमा तारबार गर्ने नगरपालिकाको योजना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width