तानसेनमा ऐतिहासिक भगवती जात्रा निकालियो

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७६
11 (2)

भाद्र ७, पाल्पा । शनिबार तानसेनमा २०० औं भगवती जात्रा निकालियो । नेपाली सेनाले अंग्रेजलाई जितगढी किल्लामा वि.सं. १८७१/०७२ को युद्धमा जीत हासिल गरेको खुसीयालीमा प्रत्येक वर्ष पाल्पामा भगवती जात्रा निकाल्ने प्रचलन छ ।

सोही प्रचलन अनुरुप शनिबार तानसेनमा धुमधामका साथ वीरताको प्रतीक आज श्री ७ रण उज्जेश्वरी भगवती जात्रा निकालियो । कर्णेल उजिरसिंह थापाको नेतृत्वको टोलीले जितगढीको युद्धमा अंग्रेज फौजलाई परास्त गरेको खुसीयालीस्वरूप वि.सं. १८७६ देखि भगवती जात्रा मनाउन थालिएको हो ।

पाल्पामा मनाइने रण उजीरेश्वरी भगवतीको जात्रालाई पाल्पा जिल्लाकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको प्रतीकको जात्रा मानिन्छ । भगवती मन्दिरलाई शाक्त सम्प्रदायको मन्दिर पनि भन्ने गरेको संस्कृतिकर्मी मदन देउराली बताउँछन् । उनका अनुसार नेपाल र अंग्रेजको युद्ध खासमा बुटवल र स्यूयाजको विषयमा विवाद भएको थियो । अंग्रेजहरू पाल्पा कब्जा गर्न चाहन्थे । सोही अनुसार पाल्पा कब्जा गर्न बुटवलबाट युद्ध गर्ने जिम्म मेजर जनरल जोन सुलिवान उडलाई सुम्पिएको थियो । त्यसबेला पाल्पाका तैनाथवाल थिए । नयनसिंह थापाका भर्खरको युवा १९ वर्षे पुत्र उजीरसिंह थापा । उनले वि.सं. १८७१ बाट १८८१ सम्म पाल्पाको तैनाथी चलाएका थिए ।

पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिरसिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपालाई जोगाउन आराध्यादेवी भगवतीको आरधाना र भाकल गरी विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवती जात्रा निकालिन्छ । अंग्रेजहरूबीच जीतगढीको युद्धमा जीत हुन नसकेपनि पश्चिममा नालापानी, जैठक, मलाउजस्ता क्षेत्रमा जीत भएपछि अंग्रेजहरूले आफ्नो अनूकुल नेपाललाई सुगौली सन्धीमा हस्ताक्षर गर्न बाध्य बनाएको थियो । यसरी जीतगढीको युद्धलाई नेपालको इतिहासमा अत्यन्त महत्त्वपूर्ण घट्ना मानिन्छ ।

कर्णेल उजीरसिंह थापाले जितपुर गढी युद्धमा जानु अगाडि तानसेन बजारको मध्यभागमा अवस्थित सानो मन्दिरमा रहेको महिषासुर मर्दिनी श्री दुर्गा भवानीको पाऊ छोएर ‘यदि युद्धमा विजयी भएमा विशाल मूर्ति तथा मन्दिर बनाई सिन्दुर जात्रा गर्नेछु तथा भगवतीमात्राको महिमा चारैतिर फैलाउनेछु भनी भाकल गरेका थिए ।’’ युद्धमा विजयी भएपछि कर्णेल उजीरसिंह थापाले आफूले भाकल गरे अनुसार तीनतले मन्दिर वि.सं. १८७२ बाट प्रारम्भ गरी वि.सं. १८७६ मा निर्माण पूरा गरेका थिए भनी तानसेनमा मनाइने जात्रा तथा चाडपर्वहरू पुस्तकमा उल्लेख छ ।

वि.सं. १८७६ देखि सुरु भएको इतिहास अनुसार हालको भगवती जात्रा २०० औं जात्रा हो । रथयात्राको पूर्व सन्ध्यामा कृष्ण जन्माष्टीको दिन राताभर मन्दिरमा भजनसहित जाग्राम बसी पूजा अर्चना गरिएको थियो । रथयात्राको हेर्नको लागि तानसेन बजारमा विभिन्न क्षेत्रबाट दर्शकहरूको भीड लागिसकेको छ । रण उजीरेश्वरी भगवती मन्दिर प्रत्येक दिन विहान र साँझमा खुल्दछ भने । प्रत्येक शनिबार तथथा पर्वहरूमा भक्तजनहरू पूजासहित दर्शन गर्न पुग्दछन् । भगवती जात्राको बाहेक पनि विशेषगरी दशैंको उपलक्ष्यमा घटस्थापनादेखि नै भक्तजनहरूको मन्दीरमा भीड लाग्ने गर्दछ । नवमीको दिन बिहानैदेखि नै भक्तजनहरू पूजासहित लाइनमा बसेका हुन्छन् । मन्दिर परिसर दिनभर भक्तजन तथा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width