‘राष्ट्रियता जगेर्नाको श्रृङ्खला निरन्तर हुनुपर्छ’

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
palpa phoao

पाल्पा ५, भदौ । राष्ट्रियता राष्ट्रको स्वाभिमान र सम्भतासँग गाँसिएकोले यसको जगेर्नाको श्रृङ्खला निरन्तर हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । विहिबार तानसेनमा आयोजित ‘कर्णेल उजिरसिंह र राष्ट्रिय स्वाभिमान’ विषयक विचार गोष्ठीका सहभागीहरूले कर्णेल उजिरसिंह र भगवतीजात्रा राष्ट्रियतासँग सम्बन्धित भएकोले जगेर्नाको ऋङ्खला निरन्तर हुनुपर्नेमा जोड दिएका हुन् ।

सोही गोष्ठीमा संस्कृतिकर्मी निर्मल श्रेष्ठले ‘हाम्रो पाल्पा, गौरवमय भगवती जात्रा र राष्ट्रियता विषयमा’ कार्यपत्र प्रस्तुत गरे । उनले पाल्पा राज्य नेपाल अधिराज्यमा विलय, ईष्ट इण्डिया कमाण्ड, श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको निर्माण, मूर्ति स्थापना, रथयात्रा, पूजा व्यवस्था, गुठी व्यवस्था लगायतको विषय समेटेर कार्यपत्रमार्फत राष्ट्रियतामा राष्ट्रको स्वाभिमान खामिने धारणा राखे । वीरता, धिरता र रणकौशलको पहिचान दिँदै कर्णेल उजिरसिंह थापाको दलमुखी आँट सहितको विजयको प्रतीकको रूपमा भगवती रथयात्रा रहेको श्रेष्ठले उल्लेख गरे ।

श्रेष्ठको कार्यपत्रमाथि संक्षिप्त टिप्पणी गर्दै संस्कृतिप्रेमी एवम् बुद्धिजीवी बुद्धिप्रसाद शर्माले इतिहासलाई पर्यटनसँग जोड्न सकेमा आर्थिक विकासमा टेवा पुग्ने धारणा राखे । शर्माले विचार विमर्श फरक भएपनि राष्ट्रियताको सवालमा सवैको मत एउटै हुनुपर्नेमा जोड दिदै स्थानीय सरकारले संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बताए । इतिहास, संस्कृति, परम्परा र संस्कारलाई शिक्षण संस्थाहरूमा समावेश गर्न सकेमा राष्ट्रियताको पहिचान र संस्कृति संरक्षणमा सहयोग पुग्ने शर्माको भनाई थियो ।

गोष्ठीमा अर्का कार्यपत्र प्रस्तोता झपेन्द्र जी.सी.ले सन् १८१४–१८१६ मा नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले बटौलीगढी उर्फ जितगढीको युद्धलाई विजय मञ्जिलमा पु¥याएको विषयमा केन्द्रित रही विषयवस्तु उठान गरे ।

उनले अंग्रेजसँगको युद्ध नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनता र स्वाभिमानको लडाइँ भएको उल्लेख गर्दै वि.सं. १८६१ जेठ २० पछि पाल्पाली जनता नेपाली भएको औंल्याए । सेन राजाहरू इतिहास निर्माणमा सफल भए पनि नेपाल राष्ट्रको स्वाधिनता र अस्मिता रक्षा गर्न सक्ने अवस्थामा पछिल्ला दिनमा रहन नसकेको धारणा जिसीले कार्यपत्रमार्फत राखेका थिए ।

कार्यक्रमका संघीय सांसद सोमप्रसाद पाण्डे, प्रदेस सांसद वसन्त घर्ती, पुरनमान बज्राचार्य, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतले धारणा राख्दै राष्ट्रिय स्वाभिमानको विषयमा सवै एकाकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरूले संसारलाई जित्ने अंग्रेज तर अंग्रेजलाई जित्ने पाल्पाली भनेर इतिहासमा लेखिदै आएको सन्दर्भ उठाउँदै भगवती जात्रा र मन्दिरको महत्त्वलाई जगाउन वैदीक नियमापूर्वक आह्वान गर्नुपर्ने बताए ।

ऐतिहासिक भगवती जात्राले कठोर साधना, अनुशासन र आचारसंहिता पालन गर्नाले सफलता मिल्दछ भन्ने सन्देससमेत राख्ने भएकोले जात्रालाई सामाजिक सद्भाव र सभ्यतासँग जोडिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिए । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता भेषराज सुवेदीले गरेका थिए ।

वीरहरूका पनि वीर उजिरसिंह थापाले शुरुवात गरेको श्री ७ रणउजिरेश्वरी भगवतीको जात्रालाई विशिष्ट प्रकारको राष्ट्रिय गौरव बोकेको जात्राको रूपमा मानिदै आएको छ । वि.सं. २०७३ साल माघ महिनामा श्री चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी दीर्घबहादुर चन्दको कार्यकालमा तानसेन टुँडीखेलको पूर्वीभागमा पाल्पा उद्योग वाणिज्य संघको सहकार्यमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक प्रतिस्थापित गरिएको छ ।

नयनसिंह थापा र रणकुमारीको जेष्ठ सन्तान उजिरसिंह थापाको जन्म वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको थियो । आफ्ना पिता नयनसिंह थापाको निधन भएसँगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेन थापाले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, बारा र पर्सा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेवापत सानै उमेरमा यिनले कर्णेलको पदवी पाएका थिए । पाल्पा राज्यलाई शान्तिपूर्ण तरिकाले नेपाल राज्यमा विलय गराउने तैनाथवाला अमरसिंह थापाको देहान्त भएपछि उनकै नाती उजिरसिंह थापा पाल्पाको तैनाथवाला भई वि.सं. १८७१ आश्विनमा पाल्पा आएको इतिहास समेटिएका पुस्तकमा उल्लेख छ ।

पाल्पामा भगवती जात्रा चलाउने चलन कर्णेल उजिरसिंह थापाको पालादेखि भएको हो । सेन वंशीय राजाहरूको इष्टदेवी भगवती भएको र कर्णेल उजिरसिंहको बाल्यकाल काठमाडौं उपत्यमा बितको हुँदा त्यहाँ उनले वर्षेनी इन्द्रजात्रा, कुमारीजात्रा, मचिन्द्रनाथको रथयात्रा हेर्ने अवसर पाएकोले त्यसैबाट प्रभावित भएर पाल्पामा पनि भगवती जात्रा मनाउने चलनको शुरुवात गराएको जानकारहरू बताउँछन् । भगवती जात्राको औपचारिक शुरुवात वि.सं. १८७७ सालदेखि भएको हो । वि.सं. १८७१ मा अंग्रेजहरूले नेपाल युद्धको घोषणा गरेपछि पाल्पा गौंडाका तैनाथवाला उजिरसिंह थापाले भगवती मातासँग युद्धमा विजय हुने आर्शिवाद माग गरेको र भाकल पूरा भई युद्ध जितेको सम्झनामा हरेक वर्ष विधिवत भगवती जात्रा निकाल्ने सुरुवात गरेको ऐतिहासिक पुस्तकहरूमा उल्लेख छ ।

स्मरण रहोस्, यसअघि पाल्पाको जात्रा पर्व संरक्षणको विषयमा बगनासकाली साहित्य परिषद् पाल्पाले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्ने बक्ताहरूले संस्कृति पहिचान र सभ्यताको विषय भएकोले संरक्षणमा जोड दिनुपर्ने धारणा राखेका थिए । यसैबीच ऐतिहासिक भगवती जात्राको सन्दर्भ पारेर भाद्र ६ गते तानसेन टुँडीखेलमा नौमती जात्रा प्रतियोगिताको आयोजना गरिएको छ । भाद्र ७ गते हुने भगवती रथयात्रामा नौमति बाजा प्रतियोगिताका विजेताहरू पनि सहभागी हुने आयोजकले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width