पुल बनेन -सेवाग्राहीलाई सास्ती

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
mayardi khola (1)

लमजुङ, ५ भदौ । लमजुङ पारीको जिल्ला मनाङ र लमजुङको सीमा क्षेत्रमा रहेको म्यार्दीखोलाको बेलीब्रिज बाढीले वगाएको दुई महिना वित्दासमेत बनेको छैन । पुल नबन्दा सेवाग्राहीहरू सास्ती खेप्न बाध्य छन् ।

बाढीले बेलिब्रिज वगाएपछि स्थानीय सेवाग्राहीदेखि मनाङ जाने र मनाङ गएर फर्कने पर्यटकहरू जोखीम मोलेर उक्त खोला तर्न बाध्य भएका छन् । सडक डिभिजन कार्यालय दमौली तनहूँले छिटै पुल बनाउने आश्वसन दिए पनि पुल निर्माण नहुँदा समस्या भएको स्थानीयले बताएका छन् । पुल निर्माणमा ढिलाई भएकोमा स्थानीयले गुनासो समेत गर्न थालेका छन् । पुल वगाएको दुई महिना बढी भयो पुल नबन्दा आवतजावतमा समस्या भएको छ शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार पुल निर्माण सामग्री निर्माणस्थलमा आइसकेको देखिन्छ तर त्यो जडानको कार्य शुरु गर्न किन ढिला भएको हो बुझ्न सकिएन ।

सो पुल रहेको मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले पुल नबन्दा स्थानीयलाई खाद्यान्न सामग्रीको ढुवानीमा समते समस्या झेल्नु पर्ने भएको बताए । उनका अनुसार एक्लै हिड्न कठिन हुने ठाउँ छ भारी बोकेर कसरी हिड्न ? उनले भने, ‘पुल नबनाइदा गाउँलेका साथसाथै यहाँ आउने पर्यटकलाई समेत निकै सास्ती भएको छ । पुल भत्केपछि खाद्य सामगीको मूल्य निकै बढेको छ, व्यापारी, व्यावसायी, कर्मचारी, पर्यटक र स्थानीयहरूलाई आवत जावत गर्न बाधा परिरहेको छ, हाम्रो कुरै सुन्दैन उक्त गाउँपालिकाका अध्यक्ष घलेले गुनासो पोखे ।

पुल पुनः निर्माणका लागि केही सामन आएको भए पनि केही आउन बाँकी रहेको प्राविधिकले बताएका छन् सामान ल्याएर छिटो काम गर्न निर्माण कम्पनीलाई अनुरोध गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । उनका अनुसार सडकमा दैनिकजसो बाढीपहिरो आउँदा सामन ल्याउन समस्या भएको सडक कार्यालयले बताएको छ ।

म्यार्दीखोलामा बाढीले बगाएको उक्त पुल पुनःनिर्माणको काम सुरु भएको डिभिजन सडक कार्यालय दमौलीका सव इन्जिनियर सुमन अधिकारीले बताए । उनका अनुसार पुलका लागि आवश्यक केही सामन ल्याएर डन्डी हालेर बाध्ने काम सुरु भएको छ । यसअघि सडक डिभिजन कार्यालय दमौलीको लगानीमा ग्याल्बाक्यारावहान जेभी कन्स्ट्रक्सनले दुई करोडको लागतमा गत वर्षमात्र उक्त पुल निर्माण गरेको हो । उक्त बेलिब्रिज असार ८ गते आएको बाढीले बगाएको हो । सो पुल बगाएपछि बेसीशहर– चामे सडक तथा मनाङ र लमजुङ दुई जिल्लाको सडकले जोडेको सम्बन्धसमेत टुटेको छ ।

पहिरोले सडक धेरैनै भास्सिएको कारण यातायात आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । सडक उनका अनुसार सडक अवरुद्ध भएका कारण मनाङमा महंगी बढ्नुका साथै खाद्यन्न लगायतका सामग्री ढुवानीमा बाधा पुगेको छ । जसले गर्दा सबै खालाका काम प्रभावित भएका छन् ।

सडक अवरुद्ध भई सवारीसाधान सञ्चालन नहुँदा मनाङ जाने र मनाङबाट वेँसीशहर आउने सर्वसाधारण, कर्मचारी र पर्यटक जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।नेपाली सेनाले १९ बर्ष लगाएर तीन वर्षअघि सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी जिपहरू चल्ने बनाएर सडक विभागलाई जिम्मा लगाएको हो ।

लमजुङ सदरमुकाम बेसीशहर– चामे सडकको कुल दुरी ६५ किलोमिटर छ । जसको लमजुङ खण्डमा ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । सडकमा अवरोध नभए उक्त सडक पार गर्न सवारी साधान(जिप)लाई ६ घण्टा लाग्ने गरेको सो रुटका चालकहरू बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width