पाल्पामा अरिङ्गालको टोकाईबाट एक युवाको मृत्यु, दुई घाइते

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७६
health-kdND–621×414@LiveMint

पाल्पा, ४ भदौ । अरिङ्गालको टोकाईबाट पाल्पामा एक युवकको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका–१२ बौघापोखराका २२ वर्षीय हेम रानाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत देवराज पौडेलले जनाए ।

पारिवारिक स्रोतका अनुसार खानको लागि घर नजिकको रूखमा रहेको अरिङ्गालको गोलो पोल्न गएका राना अरिङ्गालको टोकाइबाट घाइते भएपछि जिल्लाको यूनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । रानाको मंगलबार दिउसो १ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कृष्ण आलेका अनुसार मृतक राना ज्यालादारी काम गर्दै आएका थिए ।

उनकै आश्रयमा परिवारमा वृद्ध, बुवाआमा र १६ वर्षको भाइरहेकोले परिवारमा थप समस्यामा परेका छन् । ‘परिवारले दाह संस्कारको खर्च समेत धान्न अवस्था छैन । वृद्ध आमा बुवा र भाइ उनकै कमाइमा आश्रित भएकोले परिवारमा थप पीडा थपिएको छ’ आलेले बताए । उनले रानाको मृत्युपछि परिवार विचल्लीमा पर्नुको साथै आर्थिक अभाव खड्किएको जनाए ।

यसैबीच मंगलबार जिल्लाको रैनादेवी छहरामा अरिङ्गालकै टोकाईबाट दुईजना युवा घाइते भएका छन् । राती ७ः३० बजे अरिङ्लाको गोलो पोल्न पुगेका स्थानीय रैनादेवी छहरा–५ का वर्ष २३ का धनबहादुर नेपाली र बगनासकाली–५ पाल्पाका मुक्ती गैरे अरिङ्गालको टोकाइबाट घाइते भएका हुन् ।

अरिङ्गालको टोकाइबाट घाइते मध्येका गैरे सञ्चारकर्मी हुन् । उनी मिडियाको काम सकेर आफन्तको घरमा बस्न पुगेका बेला स्थानीय साथीसँगै अरिङ्गालको गोलो पोल्न जाँदा घाइते भएको जनाए । गैरेका अनुसार नेपालीलाई लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको छ । घाइते गैरेले छहरा मेडिकलमा उपचारपछि आराम गरिरहेको बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले मृतकको बारेमा परिवारबाट प्रहरीसमक्ष कुनै जाहेरी नपरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार आ.व.२०७५/०७६ मा कुनै घट्ना दर्ता भएका छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width