लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

आदर्श समाजको समाचार प्रभाव

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७६
69263712_2463407770412681_2024588390095126528_o

पोखरा, ३ भदौप्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले पोखराको लेकसाइडमा हुने गरेका अवाञ्छित क्रियाकलाप रोक्न गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

उनले प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेलाई निर्देशन दिँदै भने, ‘लेकसाइडमा पूरै अप्रेसन गरिदिनोस् । ठूलो आवाज दिने मोटरसाइकल ल्याएर राखिनोस् । ठूलो जरिवाना गराउनुहोस् ।’

पोखरामा मंगलवार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास समारोहमा बोल्दै आईजी खनालले सो निर्देशन दिएका हुन् ।

लेकसाइड चौबीसै घण्टा खुलाउने विषयमा विवाद उत्पन्न भएको सुनेको जानकारी दिँदै भने, ‘समस्या समाधानका लागि नागरिक समाज, होटल व्यवसायी, डिस्को मिलेर आउनुहोस् । बसौं कसरी जाने भन्ने कुरा राखौं । सहज छ । प्रहरी लाठी लिएर कतिञ्जेल बस्नुपर्ने ?’ उनले बुलेट मोटरसाइकल आयातमै घटाउनुपर्नेमा जोड दिँदै भने, ‘प्रहरीले कति दिन रोक्ने ? कति दिन पछि पछि दौडिने ? आयातमै रोकौं न ।’

होटल व्यवसाय, डिस्को वा अन्य व्यवसाय सबै निश्चित मापदण्डमा रहनुपर्नेमा जोड दिँदै दर्ता प्रक्रियामै ध्यान दिनुपर्ने बताए । उनले प्रहरीसँग सबै अधिकार नभएको उल्ल्ेख गर्दै अन्तिममा थिग्रिन बेलामा मात्र प्रहरीकहाँ आउने परिपाटी हुन नहुने बताए । उनले भने, ‘सबैले विजनेस पनि चलाइराख्नुपर्ने । सबैले पैसा पनि कमाउनुपर्ने ? कसरी हुन्छ समाधान ? मिलेर जाऔंन ।’

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा संचालित डिस्को, डान्सबार, पव लगायत व्यवस्थित संचालन हुन नसकेको विषयमा आदर्श समाज दैनिकले समेत गत साता ‘बोत्तल हानाहान, केटी तानातान’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको थियो । सो विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै आईजी खनालले अब पोखरा आउँदा यस्तो सुन्नु नपरोस् भने । उनले काठमाडांैको ठमेल समेत दुई दशक पहिलेदेखि नै चौबीसै घण्टा खुलाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

आईजी खनालको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेले लेकसाइडमा हाल गत शुक्रबारदेखि लेकसाइडमा रातिको समयमा प्रहरी गणबाट ५० जनाको संख्यामा थप प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले यस विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै अदालतको आदेश नआइकिन सबै कुरा बोल्न नमिल्ने उल्लेख गरे । डीआईजी घिमिरेले आश्वस्त पार्दै भने, ‘लेकसाइडमा रातिको समयमा पनि शान्तिसुरक्षा हुनेमा ढुक्क रहनुहोस् ।’

सो अवसरमा आईजी खनालले अपराध अनुसन्धान नियन्त्रणमा विश्वमै नेपाल प्रहरीको स्थान उच्च रहेको दाबी गरे । उनले नचाहिने गतिविधि हुन नहुने र भएमा तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए ।

उनले शान्तिसुरक्षा स्थापनामा प्रविधिमैत्रीसँगै प्रहरीको उपस्थिति समेत आवश्यक पर्नेमा जोड दिए । विगतमा मुस्कानसहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी गर्दै आफ्नो पालामा ल्याइएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी गरे ।
सामुदायिक प्रहरीको नाममा प्रहरीलाई झाडु लगाउने काममा मात्र सीमित राख्न नहुने उनको जोड थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) चतुर्भुज बोहरा, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी लगायतले बोलेका थिए ।
२ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा साढे २ तले भवन (१६ कोठा) भवन निर्माण गरिएको हो ।

यस्तै, संघीय प्रहरी कार्यालयको व्यारेक भवन , मेस, स्नान गृह र शौचालय पनि खनालले शिलान्यास गरेका हुने । सो भवन ३ करोड २५ लाख लागतमा बन्ने अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहले जनाइन् ।

सो अवसरमा संघीय प्रहरी कार्यालयको भवन निर्माणमा उल्लेख्य कार्य गरेकोमा प्रहरी नायव निरीक्षक (सई) गणेश पाण्डे, प्रहरी हवल्दार बुद्धि श्रेष्ठ र प्रहरी जवान गौतम कुमाललाई सम्मान गरिएको थियो ।

विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width