विकृति विसंगतिविरुद्ध अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७६
police photo

लमजुङ, १ भदौ । समाजमा व्याप्त विकृति विसंगतीबारे प्रहरीद्वारा आमा समूहसँग अन्तरक्रिया गरिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा सदरमुकाम बेँसीशहर स्थित आमा समूहका प्रतिनिधिहरूका बीच अन्तरक्रिया गरिएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले सो कार्य गरेको हो । वेँसीशहरमा रहेका शान्तिटोल, प्रगतिटोल, मनाङ्गे चौतारा र जनचेतना आमा समुहसँग अन्तरक्रिया गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए । उनका अनुसार कार्यक्रममा बेसीशहरमा रहेको १६ वटा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले भाग लिएका थिए ।

कार्यक्रममा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्नो टोल समाजमा घटेका घटनाहरू तथा घट्न सक्ने सम्भावित घट्नाका साथै समाजमा भइरहेका गतिविधि बारे प्रहरीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा शान्ति टोल आमा समूहकी अध्यक्ष कृष्णकुमारी गुरुङले समाजमा घटना घटेको घटनास्थलमा प्रहरीहरू समयमै पुग्ने नगरेको गुनासो गरे । उनले आगामी दिनमा जतिसक्दो छिटो प्रहरीहरू घटना स्थलमा पुग्ने परिपाटीको विकास गर्न आग्रह गरे । केही महिलाले मदिरा नियन्त्रणमा प्रहरीले चासो नदिएको गुनासो गरेका थिए । वेँसीशहरमा रहेको जनचेतना आमा समूहकी अध्यक्ष मिना रावलले प्रहरी र आमा समूह मिलेर सभ्य समाजको निर्माण गर्नुपर्ने भन्दै प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी आमासमूहरुको जिज्ञासालाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रनाउ गुरुङले लागुपदार्थ दुव्र्यसनी, चोरी डकैती, बेंसीशहर बजारभित्र कुनै घटना घटे ५ मिनेटभित्रमा प्रहरी आईपुग्ने र बजार बाहिर भएमा केही समय लाग्ने तर जतिसक्दो छिटो प्रहरी घटना स्थलमा पुग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त अन्तरक्रियामा कार्यक्रममा आमा समूहलाई प्रहरी कार्यालयले गर्ने काम, कर्तव्र्य र अधिकारको बारेमा जानकारी गराइएको प्रनाउ गुरुङले जानकारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width