सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति गर्न माग

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७६
palika photo

लमजुङ, १ भदौ । सिंहदरवारको अधिकार गाउँमै आएको अनुभूति दिन लमजुङवासीले माग गरेका छन् । लमजुङको मस्र्याङदी गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइका सहभागीले त्यस्तो माग राखेका हुन् ।

सहभागीले गाउँपालिको सेवा प्रभावकारी बनाउन र चुनावताका भनिएको सिंहदरबारको अधिकार गाउँघरमा भन्ने नारा चरितार्थ हुने गरी काम गरोस् भन्ने कामना समेत गरेका छन् । मस्र्याङदी गाउँपालिका– ९ सिम्पानीका रामबहादुर थापाले वडामा सञ्चालन हुने विकास योजना सम्झौताको व्यवस्था वडाबाटै हुनुपर्ने प्रवन्ध होस् भने ।उनले गाउँपालिकासम्म धाउनु पर्दा पालिका कार्यालय टाढा भएकोले दिन माया मार्नुपर्ने र झन्झट समेत भएको हुनाले यस्ता कामको सुविधा वडाबाटै हुनुपर्ने बतए ।

वडा नम्बर ३ का देवेन्द्र भण्डारीले मस्र्याङदी गाउँपालिका जलविद्युतको हव भएता पनि दिनमा दशौंपटक विद्युत जाने र आउने समस्या झेल्नु परेकाले यसलाई तत्कालै प्रभावकारी बनाउन गाउँपालिकाले पहल गर्नुपर्ने माग गरे । मस्र्याङदी गाउँपालिका– ७ तराञ्चेस्थित महेन्द्रदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमबहादुर भण्डारीले गाउँपालिकाले सञ्चालन गर्ने हरेक क्रियाकलाप पारदर्शी र प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

स्थानीयवासीले गाउँपालिकाबाट बजार अनुगमन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, महिला र युवा लक्षित कार्यक्रमको बारेमा प्रश्न उठाउँदै आफ्नो हक अधिकार सुरक्षित गराउनु पर्ने बताए । सहभागीका माग तथा जिज्ञाशा र सुझावलाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा तथा सम्बन्धित वडाअध्यक्षहरूले जवाफ दिने काम गरेका थिए ।

मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकामा कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपनि नागरिकलाई सहज सेवा उपलब्ध गराउनका लागि गाउँपालिका जुटेको बताए । स्थानीयको माग र गुनासा अनुसार काम गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले नागरिकका कतिपय माग र गुनासा जायज भएको भन्दै जनगुनासोलाई सम्बोधन गरी कार्य गर्दै जाने बताए । उनले हरेक नागरिकलाई समान रूपमा सेवा प्रवाह गरिने बताए ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकाको प्रगति, उपलब्धि खर्चलगायतको बारेमा जानकारी गराएका थिए । उक्त सार्वननिक सुनुवाई कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रुद्रमान गुरुङ, २ का अध्यक्ष चेतबहादुर गुरुङ (शंकर), ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, ५ का अध्यक्ष लेखमान गुरुङ, ६ का अध्यक्ष लीलाप्रसाद घले, ७ का अध्यक्ष युव घले, ८ का हिरादेवी घले, ९ का अध्यक्ष नारायणबहादुर थापा, कार्यापालिका सदस्य डिलकुमारी थापा, चित्री तामाङ लगायत वडा सदस्यहरूको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width