कति राम्री ‘प्रेमगीत ३’ की क्रिस्टिना ?

एजेन्सी
श्रावण ३२, २०७६
Kristina gurung 8

काठमाण्डौ, ३२ साउन । फिल्म रिलिज अगावै सर्वाधिक चर्चामा रहेको नाम हो, क्रिस्टिना गुरुङ । उनले डेब्यू गर्न लागेको फिल्म ‘प्रेमगीत ३’ दशैंपछि छायांकनमा जाँदैछ । तर, केही समययता फिल्म क्षेत्रमा उनको चर्चा कुनै डिमान्डेड अभिनेत्रीको भन्दा कम छैन ।

चर्चित सिरिजसँग जोडिनुको फाइदा हो यो । फिल्ममा उनको अभिनय नै नहेर्दै राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । यसले उनीमाथि ठूलो चुनौतीको भार थपिएको छ ।

यस फिल्ममा उनले अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । ‘प्रेमगीत’ को पहिलो पार्टमा प्रदीपले अभिनेत्री पूजा शर्मासँग रोमान्स गरेका थिए । यो फिल्मले दुबैको भाग्य बदलेको थियो । दोस्रो श्रृंखलामा अभिनेत्री अश्लेषा ठकुरी ‘गीत’ बनेकी थिइन् । उनको भने खासै चर्चा भएन । अहिले उनी गुमनाम जस्तै छिन् । हातमा फिल्म छैन ।

क्रिस्टिनाको फिल्मी करिअर पूजा वा अश्लेषामध्ये कसको जस्तो हुनेछ त्यसको निर्धारण ‘प्रेमगीत ३’ को नतिजाले गर्नेछ । अभिनय र फिल्मको बक्सअफिस दुबै राम्रो भएको खण्डमा उनको करिअर उत्कर्षमा पुग्नेमा सन्देह छैन । फिल्मको व्यापार अपेक्षाकृत भएन तर अभिनय रुचाइयो भने पनि उनलाई फिल्ममा टिक्न गाह्रो पर्दैन । त्यसैले उनले डेब्यू फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्न आवश्यक छ । यसमा कति सफल हुनेछिन् ? हेर्न बाँकी छ ।

‘प्रेमगीत ३’ मा उनी सुटुक्क भित्रिएकी होइनन् । निर्माण कम्पनी आसुसेन फिल्मस्ले ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढी युवतीले आवेदन दिएका थिए । ती मध्ये २५ युवती सर्ट लिस्टमा परे, जसमा क्रिस्टिना पनि अटाएकी थिइन् । अन्ततः उनी नै ‘गीत’ क्यारेक्टरका लागि योग्य ठहरिन् । फिल्ममा आबद्ध भएसँगै उनी सामाजिक सञ्जालमा सर्वाधिक खोजिइन् । उनका तश्विरहरु एकाएक भाइरल भए ।

‘प्रेमगीत ३’ मा अनुबन्ध भएपछि सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरु हजारौंको संख्यामा छन् । उनकोे सुन्दरताले धेरैलाई लोभ्याएको छ । प्रायः ले उनको आँखा मन पराएका छन् । मुस्कानका प्रशंसक पनि धेरै छन् । अब उनले अभिनयको माध्यमबाट दर्शकको मन कुन हदसम्म जित्न सक्नेछिन्। त्यो महत्त्वपूर्ण पक्ष हो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्ने फिल्म आउँदो चैत २८ मा प्रदर्शनमा आउने फाइनल भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width