शिक्षक महासंघ म्याग्दीको अध्यक्षमा सुवेदी

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७६
nepal teacher associton (1)

म्याग्दी ,३२ साउन । नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला,गाउँ र नगर अधिवेशन सम्पन्न भएको छ ।  बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको छ ।

कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा ,महिला सहसचिवमा देवि आचार्य, अर्थ सहसचिवमा शान्तबहादुर नेपाली, सदस्यहरुमा मनिषा गुरुङ्ग, बालकुमारी खत्री, बिष्णुकुमारी सुवेदी, देवराज शर्मा, दुतबहादुर गर्बुजा, ओमकार पौडेल, जगतबहादुर खत्री, रमेश पौडेल, यामबहादुर खत्री ,मुक्तिनाथ पौडेल, खगेन्द्र सापकोटा र बिनय श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक दण्डपाणि पराजुलीले जानकारी दिए ।

यसैगरी एक नगरपालिका र पाँच गाउँपालिकाको पनि अधिवेशन गरिएको छ । अधिवेशनबाट बेनी नगरपालिका कमिटीको अध्यक्षमा दीपक श्रेष्ठ, रघुगंगामा याम शेरपुञ्जा, अन्नपूर्णमा रमन पुन, मंगलामा भद्रबहादुर जिसी, मालिकामा डम्बरबहादुर घर्ती र धवलागिरिमा हरिहर पौडेल चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । उनले केही स्थानीय तहले शिक्षकको मानमर्दन हुनेगरी सरुवा, बढुवा र सेवासुविधामा समेत आघात पु¥याएको बताउँदै त्यस्तो नगर्न पालिका र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीय तहमा ऐन, कानुन तर्जुमा गर्ने सवालमा कानुनको विज्ञ नहुँदा समस्या भैरहेको बताए । उनले शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भए पनि भनेजति कामहरु गर्न नसकिएको भन्दै अधिकार र कर्तव्य सँगसँगै अगाडि लैजान शिक्षकहरुलाई सुझाव दिएका छन् । शैक्षिक वातावरण निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले शिक्षक महासंघले शिक्षकको पेशागत हकअधिकारका साथै शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य जंगबहादुर गर्बुजा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष सोमनाथ ढुङ्गाना, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद रेग्मी र अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि लालबहादुर खत्रीले मन्तव्य राखेका थिए ।

नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष जयराम सुवेदीको सञ्चालन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन म्याग्दीका अध्यक्ष हुमनाथ पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width