आज क्वाँटी खाने दिन, यसरी बनाऔं

Suraj Hazare Dahal
श्रावण ३०, २०७६
Kwaati Suraj

आज जनै पूर्णिमाको दिन हातमा डोरो तथा राखी बाँध्ने र काँधमा जनै लगाए पछि क्वाँटी खाने परम्परा रहँदै आएको छ । नेवारी समुदायमा यो दिनलाई गुन्हि पूर्णिमा भनिन्छ । पहिले नेवारी समुदायमा मात्र क्वाँटी खाने परम्परा रहि आएकोमा केही वर्षदेखि भने सबै जातीले सिको गर्दै आएका छन् । जनै पूर्णिमाको एक हप्ता अगावै साना पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म क्वाँटीको बिक्री शुरु हुन्छ । क्वाँटी ९ वटा गेडागुडीको परिकार हो । काँचो तथा पाकेको ९ गेडागुडीलाई नै क्वाँटी भनिन्छ । नौ गेडागुडीहरुमा मस्याङ, बोडी, भटमास, राजमा, बकुल्ला सिमी, मुगी, हरियो केराउ, सेतो केराउ तथा चना पर्छन् । क्वाँटीलाई कसैले एक दिन मात्र भिजाएर भोलिपल्ट पकाउँछन् भने कसैले तीन चार दिन भिजाएर टुसा अंकुराए पछि खाने गर्छन् ।
नेवारी भाषामा ‘क्वाँ’ को अर्थ तातो र ‘टि’ को अर्थ झोल हो । हुन पनि क्वाँटी ९ गेडागुडीको तातो झोल हो । नागपञ्चमी पछि गर्मी बिस्तारै घटेर मौसम जाडो उन्मुख हुने भएकोले क्वाँटीको सेबनले जाडोबाट त्यति प्रभावित नभइने तथा शरीरमा तापक्रम बढ्ने जनविश्वास रहँदै आएको छ । टुसा उमारिएको क्वाँटीमा नउमारिएकोमा भन्दा बढी पोषण तत्व हुन्छ । २४ घण्टा पानीमा भिजाएर पखालेपछि थोरै पानी छर्किएर मलमलको कपडामा थप ४८ घण्टा राखेपछि गेडागुडीबाट टुसा उम्रिन शुरु हुन्छ । गेडागुडी आफैमा प्रोटिन र भिटमिन ए, बि र सिको श्रोत हो र टुसा निस्किएको क्वाँटीमा भिटामिन सि अझ बढी हुन्छ । हाड बलियो बनाउने क्याल्सियमा पनि यसमा प्रचुर मात्रामा हुन्छ । त्यसमाथि गेडागुडीको बोक्रा समेत नफालिने हुँदा यसबाट शरीरले फाइबर समेत पाउँछ । फाइबरजन्य खानाले पेट सफा राख्नुको साथै कब्जियत समेत हुन दिदैन । एक दिन मात्र भिजाएको क्वाँटीबाट खसीको मासुको जस्तो स्वाद आउँछ भने टुसा उमारेर बनाइएको क्वाँटीमा थोरै अमिलो स्वाद आउँछ । टुसा उमारिएको क्वाँटीलाई झोल बाहेक उमालेर मात्र चटपट झै बनाएर पनि खान सकिन्छ । विशेष गरि महिनावारीमा बढी रगत बग्ने महिला तथा सुत्केरी महिलालाई क्वाँटी बहुगुणी परिकार नै हो । अंकुरित क्वाँटीमा क्षारीय गुण हुने हुँदा पिसाब समेत सफा गर्ने गर्दछ ।

प्रेसर कुकरमा क्वाँटी यसरी बनाउन सकिन्छ ः
सामग्रीः ५०० ग्राम भिजाएको क्वाँटी, २ वटा मध्यम आकारको प्याज, १ टेबल चम्चा अदुवा लसुनको पेष्ट, एउटा जाइफल एक चौथाइ भाग पिसेको, २ वटा तेजपत्ता, १ पिस अलैंची, १ ठूलो चम्चा मिट मसला, आधा चिया चम्चा रातो खुर्सानीको धुलो, एक चौथाइ चिया चम्चा बेसार, २ वटा टमाटर, नुन स्वाद अनुसार, धनियाँ आधा मुठा ।

विधिः प्रेसर कुकरमा दुई ठूलो चम्चा तेल तताएर तेजपत्ता र सिंगै अलैची १ मिनेट भुटेपछि त्यसमा प्याज राखेर खैरो नहुन्जेल भुट्ने । त्यसपछि क्वाँटी राखेर पानी नसुकेसम्म केहीबेर चलाउने र बेसार मिसाउने । यसपछि अदुवा लसुनको पेस्ट हालेर एक मिनेट भुट्ने । अब पिसेको जाइफल, मिट मसला र खुर्सानीको धुलो राखेर थप दुई मिनेट चलाउने । अब काटेको टमाटर राखेर दुई मिनेट चलाएपछि एकलिटर पानी राखेर कुकुरमा ६ सिटी लगाउने । पाकेपछि पानीको मात्रा घट्छ र झोल बाक्लो हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width