६ स्थानीय तहले उठाए ५ करोड राजश्व

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७६
IMG_0665

म्याग्दी,३० साउन । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तहले गत आर्थिक बर्षको असार मसान्त सम्म ५ करोड १४ लाख ३५ हजार ८ सय ५५ रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएका छन् ।

उत्तरी अन्नपूर्ण गाउँपालिकाले एक बर्षको अवधिमा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । अन्नपुर्णले गएको आर्थिक बर्ष २०७५/७६मा एक करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो अनुमानित आय भन्दा बढी हो । अन्नपूर्णले अनुमान गरेभन्दा दोब्बर बढी आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

गाउँपालिका भित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचान र कर संकलनमा कडाई गरेकाले आन्तरिक आम्दानी वृद्धि भएको हो । अन्नपूर्णले ५० लाख रुपैयाँ अनुमानित आय प्रक्षेपण गरेको थियो । नयाँ आयको खोजी र कर नीतिमा कडाई गरेकाले राजश्व संकलन वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए ।

उनका अनुसार पर्यटकीय स्थल पुनहिल र तातोपानी कुण्ड अन्नपूर्णका मुख्य आन्तरिक आम्दानीका स्रोत हुन । यसका साथै नदी किनारका ढुङ्गा,गिटी र बालुवालाई आम्दानीका स्रोतका रुपमा गाउँपालिकाले लिएको छ । पुनहिल र तीन वटा तातोपानी कुण्डलाई गाउँपालिकाले गत वर्ष देखि करको दायरामा ल्याएको हो ।

मालिका गाउँपालिकाले पनि एक बर्षको अवधिमा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । गत आर्थिक बर्षमा ३२ लाख ३६ हजार रुपैयाँ राजश्व संकलनको प्रक्षेपण गरेको मालिका गाउँपालिकाले असार मसान्त सकिदा ३५ लाख ६५ हजार २ सय ११ रुपैयाँ कर संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार यो राजश्व संकलन गाउँपालिकाले प्रक्षेपण गरेको भन्दा बढी हो । नागरिकमा करप्रति चेतना नहुनु ,स्रोत साधन र जनशक्तीको अभाव लगायतका कारण कर संकलनमा समस्या हुने गरको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बतए ।

रघुगंगा गाउँपालिकाले असार मसान्त सम्म अनुमानित आय भन्दा बढी राजश्व संकलन गरेको छ । रघुगंगाले असार मसान्त सम्म ७६ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए । उनका अनुसार ६१ लाख ढुङगा गिटी बालुवा बिक्रीबाट र १५ लाख अन्य श्रोतबाट गरी ७६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । रघुगंगाले ३१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

हामीले गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन नयाँ आयको खोजी ग¥यौं प्रमुख प्रशासकीय अधिकृत थापाले भने , ‘चुस्तदुरुस्त राजश्व प्रशासन अवलम्बन गरेकाले लक्ष्य भन्दा दोब्बर आन्तरिक आम्दानी बढाउन सफल भएका हौं ।’ यसका साथै गाउँपालिकाको आम्दानी वृद्धि गर्नका लागि व्यवसाय,होमस्टे दर्ता र जुडीबुटीमा कर लिन थालिएको उनले बताए ।
सर्वसाधारणहरुमा कर शिक्षाको अभाव र करलाई विकाससँग जोड्न नसक्नु कर संकलनका चुनौतीहरु भएको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ ।

जिल्लाकै साधन स्रोत सम्पन्न एकमात्र बेनी नगरपालिकाले भने एक वर्षको अवधिमा प्रक्षेपण गरे अनुसारको राजश्व संकलन गर्न सकेकोे छैन् । नगरपालिकाले गत आर्थिक बर्षमा दुई करोड तीन लाख २० हजार तिन सय ३० रुपैयाँ राजश्व संकलन गरेको सह लेखापाल निर्मला शर्माले जानकारी दिए । बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ३ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको थियो । तथ्याङक अनुसार बेनी नगरपालिकाले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । नागरिकमा करप्रतिको गलत बुझाईका साथै करको दायरामा ल्याउन नसक्नु मुख्य चुनौतीका रुपमा रहेको सहलेखापाल शर्माको बुझाई छ ।

मंगला गाउँपालकाले गत आर्थिक बर्षमा ३६ लाख रुपैयाँ बढी राजश्व संकलन गरकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ३६ लाख पचास हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको मंगलाले असार मसान्त सम्म ३६ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरकोे छ । मंगला गाउँपालिकाले अनुमानित राजश्व संकलन भन्दा बढी कर उठाउन सफल भएको छ ।

जिल्लाकै दुर्गम क्षेत्रमा रहेको धवलागीरी गाउँपालिकाले पनि अनुमानित राजश्व संकलन लक्ष्य भन्दा बढी कर उठाउन सफल भएको छ । २० लाख रुपियाँ राजश्व संकलन गर्ने लक्षय लिएको गाउँपालिकाले असार मसान्त सम्म एक बर्षको अवधिमा गिटी बालुवा बिक्रीबाट १ लाख ६५ हजार र अन्य करबाट २६ लाख ५ हजार ३ सय ३० गरी २७ लाख ७० हजार ३ सय ३० रुपैयाँ संकलन गरको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले जानकारी दिए ।

उनका अनुसार गिटी वालुवाको स्रोत कम भएकाले व्यवसाय दर्ता,नवीकरण,जन्मदर्ता,नागरिकता दस्तुर,परीक्षा शुल्क र सम्पत्ति मुल्याङ्कन गाउँपालिकाको आन्तरिक आयको स्रोत भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।

माथि म्याग्दीका स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा बेनी नगरपालिका बाहेक अन्य पाँच स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक देखिन्छ । स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर,सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत),बेरुजु , दण्ड जरिवाना, मनोरञ्जन, गिटी बालुवा लगायतबाट उक्त राजश्व संकलन गरेका हुन ।

करलाई विकास सँग जोड्दै नागरिकहरुमा कर शिक्षा प्रदान गर्न सकेमा लक्षय अनुसार स्थानीय तहमा राजश्व संकलन भई आन्तरिक आम्दानी वृद्धि हुने देखिन्छ । त्यसका लागि कर शिक्षाका वारेमा सर्वसाधारणहरुमा जागरण ल्याउन जरुरी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width