समुदाय–प्रहरी साझेदारी अभियान

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
DSC_0518-002

लमजुङ, २८ साउन । लमजुङमा जिल्ला प्रहरी कार्यालयमार्फत सञ्चालन गरिएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान सफलता उन्मुख देखिएको छ ।

अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेकै कारण यो अभियान सफलतातर्फ उन्मुख देखिन थालेको हो ।

नेपाल प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सो अभियान थापिएको हो । नेपाल प्रहरी,स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन गरिएको बताइन्छ ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । उनका अनुसार समाजमा दिगो शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ अभियान देशभर एकसाथ शुरू गरेको हो ।

कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिएको छ । प्रनाउ गुरुङले भने । ‘अवधारणा अनुसार अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको छ ।’ उहाँका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम निकै फलदायी भएको छ, यसबाट समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी आएको अनुभव गरिएको छ ।

गत कार्तिक ११ गते ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा नेपाल प्रहरीले उक्त अभियान मुलुकभर सञ्चालन गरेको हो । त्योसँगै नेपाल प्रहरीले लमजुङमा पनि उक्त अभियान जिल्लाभरी शुरु गरेको थियो । डिएसपी गुरुङले भने, ‘अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

उनका अनुसार विशेषगरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उनका अनुसार प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लामा एउटा संयन्त्र समेत गठन गरिएको छ । यसैगरी जिल्ला स्थित आठ वटै स्थानीय तह अनि ती तहका प्रत्येक वडाका साथै टोल संस्थामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालनको सन्यन्त्र गठन गरिसकेको छौं ।

जिल्ला प्रहरी कार्यालय लमजुङका महिला तथा बालवालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख नन्दु अधिकारीले समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं, यो अभियान फिलदायी भएको हाम्रो अनुभव छ ।

नेपाल प्रहरीले यसअघि सञ्चालन गरेको ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायतका कार्यक्रमको तुलनमा यो अभियान प्रभावकारी भएको छ । यो ‘समुदाय–प्रहरी साझेदारी’ नामक नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरीले जनाएको छ । सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पुरा गर्न समेत यो अभियानले सहयोग पुग्ने विश्वास लिइएको डिएसपी गुरूङको दावी छ । उनका अनुसार कार्यक्रम ७५३ स्थानीय तहसम्म पुगेको र १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यसमा प्रत्यक्ष संलग्न हुने आंकलन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width