बैंकान्स्योरेन्सको वकालतमा बैंक र बीमा कम्पनी

रूपनारायण ढकाल रूपनारायण ढकाल
श्रावण २८, २०७६

Insured family concept. Insurance agent with family silhouette on card and printed stamp insured.

बैंकान्स्योरेन्स नाम दिएर बैंकहरुले संस्थागत एजेन्टको रुपमा बीमा पोलिसी बेच्न नपाउने व्यवस्थाप्रति बैंक र बीमा कम्पनी असन्तुष्ट देखिएका छन्। नेपाल राष्ट्र बैंकले ८ साउनमा चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरु संस्थागत बिमक हुन नपाउने घोषणा गरेपछि बैंक र बीमा कम्पनी दुवैको आम्दानीमा धक्का लाग्ने देखिएको छ।

पछिल्लो क्रममा यही साउन २० गते राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशन जारी गर्दै बैंकहरुले कपोर्रेट एजेन्ट बनेर बीमा पोलिसी बेच्न नपाउने नियम कार्यान्वयनमा ल्याएको हो। तर बैंकहरुबाट ऋण लिँदा ऋणीले धितो राखेको सम्पत्तिको र दिएको कर्जाको बीमा भने बैंकहरुले गराउन पाउने छन्। तर त्यस्तो कम्पनी छनौटको प्राथमिक अधिकार ऋणीमा निहीत हुनेछ।

राष्ट्र बैंकको पछिल्लो व्यवस्थासँगै बीमालेख बिक्रीबाट उल्लेख्य निक्षेप संकलन गर्दै कमिसन समेत प्राप्त गरेका बैंकहरुको आम्दानी घट्न पुगेको छ भने बैंकहरुमार्फत् राम्रो बीमालेख संकलन गर्दै आएका बीमा कम्पनी समेत अफ्ठ्यारोमा परेका छन्। पेशागात बीमा अभिकर्ता संघले त यसविरुद्ध आन्दोलनको धम्की समेत दिएको छ। त्यही भएर बैंक र बीमा कम्पनी दुवै राष्ट्र बैंकको नयाँ व्यवस्थाबाट सन्तुष्ट छैनन्।

बीमा नियमावली, २०४९ को दफा १९ ले पनि व्यक्ति वा संस्थाले प्रक्रिया पुर्याई अभिकर्ता इजाजत लिन पाउने व्यवस्था गरेको छ। बीमा ऐन नियमावली र अब आउने प्रस्तावित ऐनमा पनि बैंकास्योरेन्स विषयमा भने कुनै कुरा बोलिएको छैन। बीमा समितिले जारी गरेको निर्देशनमा बैंकजस्तै सबै संस्थागत अभिकर्ताले बीमा लेख बिक्री गर्दा तोकेको कमिशन बाहेक कुनै सुविधा दिन नपाइने व्यवस्था गरेको छ।

पाँचदेखि २५ प्रतिशतसम्म कमिशन, त्यो पनि एक दशकसम्म आइरहने भएपछि बैंकहरु यसतर्फ लोभिएका थिए। यस्तो आम्दानी प्राप्त गर्न थप खर्च पनि गर्नु नपर्ने र मौजुदा कर्मचारीलाई परिचालन गरे पुग्ने अवस्था विद्यमान थियो।

अर्कोतर्फ एउटै बैंकले दर्जन बढी जीवन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिने र उनीहरुबीच बीमा लेख व्यापारको प्रतिस्पर्धा गराई आफ्नो रेटमा प्रशस्त निक्षेप लिन सक्ने देखिएकोले पनि बैंकहरु यसमा जोसिएका थिए। तरलता संकटको बेला जीवन बीमा कम्पनीहरुले बैंकहरुलाई आपसमा भिडाएर १४–१५ प्रतिशतसम्म मुद्दती निक्षेपमा व्याज असुलेको पनि बैंकहरुले सम्झिरहेका छन्।

त्यसैले बीमा लेख बिक्री गर्ने लोभ र आशा देखाएर बैंकहरुले बीमा कम्पनीहरुलाई कजाउने काम पनि गर्दै आएका हुन्।

५ लाख अभिकर्ताले यही पेशाबाट रोजगारी पाइरहेको अवस्थामा व्यक्तिगत अभिकर्ता र बैंकलाई एउटै बीमा प्रोडक्ट बेच्न दिँदा अभिकर्ताभन्दा बैंक वित्तीय संस्थालाई विश्वास गरिन्छ नै। जसले गर्दा लाखौँ अभिकर्ता संकटमा पर्ने डर पनि थियो। अहिले बैंकहरुको आम्दानीमा बैंकास्योरेन्सको योगदान हेर्ने हो भने १ देखि ५ करोड रुपैयाँको अनुमान गरिन्छ। तत्कालका लागि यो खासै ठूलो रकम नहोला तर दीर्घकालीन रुपमा हेर्दा यो निकै धेरै हुन आउँछ।

पछिल्लो समय वीमितबाट संकलन हुने बीमा शुल्क बढ्दै गएपछि कम्पनीहरुको लगानी पनि विस्तार हुँदै गएको छ। गत आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ खर्ब ५८ अर्ब १३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। जीवन बीमा कम्पनीहरुले मात्र २ खर्ब २५ अर्ब १७ करोड रुपैयाँ, निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन्। बीमा समितिका अनुसार यो विवरण कुल कम्पनीमध्ये ७५ प्रतिशत बीमा कम्पनीको मात्र हो।