भारतीय पर्यटककाे संख्या वढ्दै

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

पोखरा,२४ साउन । प्राकृतिक गुफाको रुपमा परिचित पोखरा– १६ स्थित महेन्द्र गुफा र चमेरे गुफामा भारतीय पर्यटकको संख्या बढेको छ ।

गुफा अवलोकन गर्न आर्थिक वर्ष २०७५/०७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले आएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६मा महेन्द्र गुफामा ८४ हजार ६ सय १२ जना र चमेरे गुफामा ४२ हजार ८ सय ५४ जना भारतीय पर्यटक भित्रिएका छन् । आ.व २०७४/०७५ को भन्दा यस आ.वमा दुवै गुफामा गरी २६ हजार ७ सय ३० जना भारतीय पर्यटकको संख्यामा वृद्घि भएको हो ।

यस आ.वमा स्वदेशी र विदेशी पर्यटकको संख्या केही घटे पनि सार्क मुलुक मध्ये भारतवाट आउने पर्यटकको संख्या वृद्घि भएको पौडेलले बताए । यस आ.वमा दुवै गुफाबाट प्रवेश शुल्कबाट ३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण पनि आम्दानी सँगसँगै खर्चमा पनि वृद्घि भएको बताइएको छ ।

वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजना समेत निर्माण भएको छ । गुफा क्षेत्रलाई थप आर्कषित वनाउन गुरुयोजना अनुसार नै काम शुरु गरिने महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ बञ्जराले बताए । पर्यटकको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको गुफामा अब छिट्टै फ्रि वाई फाई सेवा संचालनमा ल्याइने जानकारी बञ्जराले दिए ।

गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफुहरुले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । गुफाको भौतिक विकाससँगसँगै, त्यस क्षेत्रको सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरेका छौं” आचार्यले भने ।

त्यस क्षेत्रको फोहर व्यवस्थापनको गर्न विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टविन राख्ने कार्य समेत भएको छ । गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा ५० लाख रुपैंया विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताए । गुरुयोजना अनुसार सवै कार्य सम्पन्न गर्न भने केही समय लाग्ने उनको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width