पर्यटन प्रवद्र्धनमा टेवा दिदै गाईखुरे झरना

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७६
Gaikhure Jharana

लमजुङ, २४ साउन । लमजुङ ग्रामीण पर्यटनको पर्याय बन्दै गएको छ । यसका लागि जिल्लामा रहेका विभिन्न प्राकृतिक दृश्यले पनि साथ दिएको छ । त्यसमा बेसीशहर नगरपालिका– १ को आकाशे भीरसँगै रहेको गाइखुरे झरना पनि एक हो, जसले आन्तरिक पर्यटनमा प्रवद्र्धनमा टेवा दिन थालेको छ ।

हेर्दै आङ सिरीङ्ग गर्ने त्यो झरनाको मनमोहक सुन्दरता तथा प्राकृतिक छटामा रम्न खासगरी युुवा पुस्ताको लर्को लाग्न गरेको छ । उक्त झरना डुम्रे–बेसीशहर सडक खण्डको छेउमा पर्दछ । उक्त गाईखुरे झरनामा रम्न ओइरिने भिडको लर्को देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन साथीभाई भेटघाट गर्ने थलो पनि बन्न थालेको छ, गाईखुरे झरना । चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्वीर खिच्ने रहर त्यहाँ पुग्ने प्रायः सबैलाई हुने गर्दछ । बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ ।

डुम्रे– बेसीशहर सडक खण्ड अन्तर्गत सडकको पहुँच मार्गसँगै रहेको हुनाले पनि गाईखुरे झरनामा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको स्थानीयले बताए । स्थानीय कृष्ण रानाले भने ‘उक्त झरनाको प्रचार तथा प्रवर्दन गर्न सके थप पर्यटक भित्र्याउन सकिने छ, झरनामा सदरमुकाम बेसीशहर सहित उदिपुर, भोटेओडार, सुन्दरवजार लगायतका ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।’ उनका अनुसार विशेष गरी विदाको दिन झरनामा हेर्न, भिज्न जानेहरुको निकै भिड लाग्ने गरेको छ ।

गाईखुरे झरना मध्यमस्र्याङदी जलविद्युत आयोजनाको बाँधस्थलसँगै रहेको छ । मनोरम र शान्त वातावरण छ । क्यानोनिङ गर्न, पौडी खेल्न र नुहाउनका लागि युवा वर्गको लर्को लाग्ने गरेको वातावरण सुधार तथा विकास अभियानका अध्यक्ष ऋषिराम वस्नेत बताउछन् ।

लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले गत झरना जाने बाटो मर्मत र पौडी पोखरी फराकिलो बनाएको पछि त्यसको आकर्षणमा बढोत्तरी भएको छ । नेपाली सेनाकै पहलमा झरना लगायत वरपरका ठाउँहरू सरसफाइ समेत गरिएको छ ।

आजसम्म वर्षायाममा मात्र पर्यटकको आकर्षण हुने गरेको सो झरनालाई अब नगरपालिकाको पहलमा बार्है्र महिना सञ्चालन हुने गरी बनाउने तयारी गरेको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । उनका अनुसार मस्र्याङ्दी नदीको पानीलाई तानेर झरनामाथि खसालेर त्यसलाई व्यवस्थित गर्ने कार्यक्रम छ । उनले भने,‘नगरपालिका भित्र १० वटा पर्यटकीय स्थल निर्माण गर्न सात करोडको बजेट विनियोजन गरेका र्छौं, त्यसको डिटेल टेण्डरमा हामी प्रकाशन गर्छौ ।’

Related News

सम्बन्धित समाचार

hero news full width