अलैंचीका बिरुवाबाट ३५ लाख कमाइ

नवराज पहाडी
श्रावण २२, २०७६
Alaichi_Fotor

लमजुङका कृषकले यो वर्ष अलैँचीका बिरुवा बिक्री गरेर ३५ लाख रुपैयाँ कमाएका छन्। जिल्लाभित्र र बाहिरका किसानलाई ७ लाख अलैँचीका बिरुवा बिक्री गरी सो कमाइ गरेको नेपाल अलैँची व्यवसायी महासंघ जिल्ला शाखाले जनाएको छ।

वेशीशहर नगरपालिका–१० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङले अलैँची बिक्रीबाट २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको बताए। उनका अनुसार खाँचेमा रहेको अलैँची तथा जडीबुटी नर्सरी फार्मबाट यस वर्ष १ लाख अलैँचीका बिरुवा उत्पादन भएका थिए। ती बिरुवामध्ये ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरी सो आम्दानी गरेको तामाङले सुनाए।

उनका अनुसार प्रति बिरुवा ५ देखि ६ रुपैयाँसम्म बिक्री भएको हो। आफूले उत्पादन गरेको बाँकी ४० हजार बिरुवा आफैँले रोपेको उनको भनाइ छ।

यसैगरी, क्होलासोँथर गाउँपालिका– ८ घाम्राङमा शिवानी कृषि फार्म सञ्चालन गरेका कृषक ईश्वर गुरुङले अलैँचीका बिरुवा उत्पादन गर्दै आएकोमा यस वर्ष ३ लाख ५० हजार रुपैयाँ आम्दानी भएको बताए। उनका अनुसार १ लाख ५० हजार बिरुवा उत्पादन भएकोमध्ये ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र ८० हजार विरुवा अझै बाँकी रहेका छन्। ती पनि भदौ १५ सम्म बिक्री हुने आशा उनले लिएका छन् । पछिल्लो ६ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी आएको उनले जानकारी दिए।

बिरुवा बिक्रीबाट ३५ लाख रुपैयाँ आम्दानी भएको जिल्ला शाखाका अध्यक्ष अजय तामाङले बताए। उनका अनुसार जिल्ला बाहिरमात्रै ४ लाख बिरुवा बिक्री भएको र सोबाट २० लाख रुपैयाँ आम्दानी भएको हो। जिल्लाका किसानले अलैँची खेती गरेको छोटो समयमै अलैँची खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। यस वर्ष जिल्लामा ७ लाख ५० हजार अलैँची बिरुवा उत्पादन भएका थिए। गत वर्ष २० लाख बिरुवा उत्पादन भएको जनाइएको छ।

यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ। यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा साढे ७ रुपैयाँ दरले बिक्री गरिएको थियो।

किसानले असारदेखि भदौसम्म अलैँचीका बिरुवा रोप्ने गर्दछन्। लमजुङ अलैँची खेतीको राम्रो सम्भावना भएको जिल्लामा पर्दछ। जिल्लामा कुल १ हजार ५६ हेक्टर जमिनमा अलैँची लगाइएको छ। अलैँची उत्पादन ६ सय ५० हेक्टर जमिनमा हुँदैआएको संघका जिल्ला अध्यक्ष तामाङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width