सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

रासस
श्रावण २०, २०७६
nag-panchami-kaal-sarp-dosh-2

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्परा अनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

सूयोर्दयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासले पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको हो।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो। प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ।

श्रीकृष्णले बल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ। पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ। लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता समाजमा सनातनदेखि छ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्। एउटा प्रख्यात किंवदन्ती छ “एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए, ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्। ’

संयोगले किसानकी छोरी घरबाहिर रहेकाले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नूस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन्।

किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैका दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो। गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन्। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन बर्सातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ। नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।

आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ।

Related News

सम्बन्धित समाचार

    • ‘उपभोक्तालाई स्वच्छ पानी वितरण गर्छु’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै…
    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…
    • सामूहिक पहलबाट विकास सम्भव : नगर प्रमुख खाँण

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      वालिङ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताएका छन् । वालिङ नगरले आयोजना गरेको वडा…
    • क्षत्री समाजद्वारा मन्त्रीद्वयलाई सम्मान

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ…
    • साउन १५ खिर खाएर मनाइँदै

      रासस श्रावण १५, २०७८
      काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads