बालअधिकार स्थापित गर्न जरुरी : पाठक

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
human photo 0_Fotor

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बालबालिकाका सवाल मानवअधिकारको विषयमा निकै महत्वपूर्ण रहेको बताएका छन्।

पोखरामा शुरु भएको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो साइकलका लागि सुझाव संकलन कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पाठकले भने, ‘बालबालिकाको सवाल मानवअधिकारको विषयमा निकै महत्वपूर्ण रुपमा हेर्ने गरिन्छ, बालबालिकालाई राम्रो बनाउन सके व्यक्ति, समाज र देशको भविष्य राम्रो बन्छ’।

उनले सबै स्थानीय तथा प्रदेश सरकारलाई विश्वव्यापी आवधिक समीक्षाका विषयमा जानकारी गराउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे।

गण्डकी प्रदेश विधायन समिति सदस्य धनञ्जय दवाडीले विद्यालयका कक्षा कोठामा गरिने व्यबहारले महत्वपूर्ण भूमिका खेल्ने हुँदा विद्यालयका कक्षाकोठा बालअधिकार मैत्री बनाइनु पर्ने धारणा राखे।

गण्डकी प्रदेश विद्यालय समिति सदस्य विष्णुप्रसाद लामिछानेले सडक र मजदुर बालबालिकाको जिम्मेवारी राज्य लिनुपर्ने बताए। उनले समाजमा छोरा सरह छोरी हिँड्न पाउनेगरी सुरक्षाको अनुभत राज्यले गराउनु पर्ने भनाइ राखेका थिए।

‘जुन रुपले बालबालिका क्षेत्र अगाडि आउनुपर्ने त्यसो हुन सकेन, अझैपनि बालबालिका सबैको सरोकार भन्ने विषयलाई महत्व दिइएन अपनत्व लिइएन’, उनले भने।

मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष नवदत्त ढुंगानाले राज्यले विद्यालय भर्ना भएका वालबालिकाले विद्यालय छोड्नु पर्ने अवस्थालाई रोक्न आवश्यक पहल गर्नुपनेर्मा जोड दिए।

सो अवसरमा बीना सिलवाल, दीपेन्द्र श्रेष्ठलगायतले बालबालिकाको अधिकारका बारेमा बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width