८६ वर्ष इतिहास बोकेको ‘भुत्तेको जेरी’

राजा महेन्द्र जेरीका पारखी, घोडा चढेर डिट्ठा आउँथे

Suraj Hazare Dahal
श्रावण १८, २०७६
JERI PHOTO 1

न मिठाई पसलमा कुनै बोर्ड छ न त कुनै आकर्षक सजावत तर पनि बिगत ८६ वर्षदेखि लाखौंको जिब्रोमा झण्डिसकेको छ भुत्तेको जेरी पसलको स्वाद । पोखराको भिमसेन टोलमा रहेको यस जेरी पसललाई भुत्तेको जेरी नामले चिनिन्छ । महाभूकम्पको आसपास विसं १९९० ताका सिद्धिलाल चुल्याजु जेरीको पसल शुरु गरेका थिए र उनको उपनाम नै भुत्ते थियो । स्वर्गिय सिद्धिलालका ५० वर्षिय कान्छा छोरा राजकुमार चुल्याजुले पुस्तैनी पेशा समालिरहेका छन् । अनि यो पेशामा उनलाई श्रीमती दयालक्ष्मी तथा छोरीछोरीले साथ दिइरहेका छन् । राजा महेन्द्रले समेत तारिफ गर्दै खाएको भुत्तेको जेरी यत्तिकै प्रख्यात भएको भने होइन । यसको लामो इतिहास यस्तो छ :

मल्लकालमा बसाइ सरेर केही शताब्दी अगाडि भक्तपुर चुल्याजुहरु पोखरा आएर बस्ती बसालेका थिए । तत्कालिन समयमा भारतीय र बेलायती फौजमा धेरै युवाहरु भर्ति भएका थिए । राजकुमारका बुवा सिद्धिलाल चुल्याजुुलाई पनि सेनामा भर्ति हुने रहर जागेर नेपाल छोडेर १९८५ सालतिर बर्मा पुगे । करिब दुई वर्ष बर्मामा बिताएका चुल्याजु लाहुरे हुन त सकेनन् तर जेरी तथा अन्य मिठाई बनाउने शिप सिकेर नेपाल फर्किए अनि १९९० ताका भिमसेन टोलमा खोले जेरी पसल । मैदा, बेसन तथा चिनीबाट बनाइने भुत्तेको जेरीको इतिहास कोट्याउँदै राजकुमारले आफ्नो बाबुको पालामा १ पैसाको ४ वटा जेरी आउने गरेको बताए । हाल भने एउटा जेरीलाई ३५ रुपैयाँ पर्छ । बाबुको पालामा जेरीलाई चाहिने मैदा हवाइ जहाज मार्फत भैरहवाबाट पोखरा झिकाइन्थ्यो । घिउ भने बाग्लुङ र पर्वतबाट झिकाइन्थ्यो । हाल भने घिउको साटो सूर्यमुखीको तेल प्रयोग गरिन्छ ।

विसं २०१५ मा राजा महेन्द्र पोखरा आउँदा उनको स्वागतका लागि दर्जनौं स्वागतद्वार बनाइएका थिए । ति मध्ये एक आकर्षक स्वागतद्वारमा राजाको आँखा गयो । केराको खम्बामा जेरी तथा सेलरोटीले सजाएर सिद्धिलालले स्वागतद्वार बनाएका थिए । उक्त गेट देखेर मोहित भएका राजा महेन्द्रले लेकसाइड स्थित रत्न दरबारमा उनलाई बोलाएर पोखरा बसुन्जेल १० दिन मिठाई तथा खाजा बनाउन लगाएका थिए । भुत्तेको जेरी खान घोडा चढेर डिट्ठा भक्तबहादुर र डुंगा चढेर तालपारीबाट मिन बहादुर गुरङ आउने गर्दथे । गायक अरुण थापा जेरीका पारखी थिए । अहिले पनि जेरी खान बेला मौकामा साहित्यकार प्रकट पगेनी, तिर्थ श्रेष्ठ, सरुभक्त लगायत आउने गरेको राजकुमारले बताए ।

२०२७ सालमा बाबुको निधन हुँदा राजकुमार चुल्याजु १ वर्षका मात्र थिए । बाबुको निधन भएपछि उनकी आमाले जेरी पसल संचाल गर्दै आएकी थिइन् । २०६३ सालमा ग्राहकलाई जेरी दिएर पैसा लिदाँलिदैं उनकी आमाको निधन भएको थियो । बाबु जिवत रहँदादेखि नै उनले जेरी बनाए पनि आमाको निधन पछि भने सबै जिम्मेवारी उनको काँधमा आयो । राजकुमारले हाल दिनको २०० देखि ३०० वटासम्म जेरी बनाउने गरेको जानकारी दिदैं दैनिक ९ देखि १० हजार व्यापार हुने गरेको बताए । जेरी बनाउन अघिल्लो दिन नै ५ केजी मैदा मुछिन्छ । जेरी तथा अन्य मिठाइको लागि चास्नी तैयार गर्न ३० केजी चिनी लाग्छ । जेरी बाहेक उनको पसलमा लाखमरी, लाल मोहन, खस्टा तथा ऐंठे जस्ता मिठाइहरु पनि पाइन्छ । विशेष गरि चाडपर्वमा अन्य दिन भन्दा बढी मिठाइहरु बिक्ने गर्छ । बिहान ६ बजे पसल खोलेर उनले दिउँसो १२ बजे भने पसल बन्द गर्छन् । आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउने चुल्याजु यहि पेशालाई नै निरन्तरता दिने बताए । कम्पनी दर्ता तथा प्यानको नियम कडाई गरिएको हुनाले उनले अब ‘भुत्तेको जेरी’ नाम दिएर पसल दर्ता गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width