बेसीशहर– चामे सडकमा बाढीपहिरो

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६
article-2675_990__75_0

लमजुङ, १७ साउन । लमजुङको उत्तरी क्षेत्रमा पर्ने बेसीशहर– चामे सडकमा वर्षायाम शुरु भएसँगै दैनिक जसो बाढीपहिरो जान थालेपछि स्थानीयबासीले सास्ती पाएको बताएका छन् । हिमालपारीको जिल्ला मनाङ जाने त्यो एक मात्र सडक हो ।

कुल ६५ किलोमिटर दुरी रहेको बेसीशहर– चामे सडकको लमजुङ खण्डमा ३५ किलोमिटर पर्दछ । सो सडक खण्डमा लमजुङको साविकका आठ गाविसहरू बेसीशहर, चण्डिस्थान, सिम्पानी, खुदी, भूलभूले, बाहुनडाँडा, ताघ्रिङ र घेर्मु हालका बेसीशहर नगरपालिका र मस्र्याङदी गाउँपालिका पर्दछन् ।

नेपालका उत्कृष्ट दश पदमार्गमा गणना भएको अन्नपूर्ण चक्रिय मार्ग पनि यही सडकमा पर्दछ । उक्त सडक निर्माण भएपछि पुरानो पैदल मार्ग समेत नष्ट भएका कारणले गर्दा स्थानीयलाई पैदल हिड्न समेत कठिन हुने गरेको मस्र्याङदी गाउँपालिका– ४ ताघ्रिङका जीतबहादुर गुरुङले बताए । उनका अनुसार यस क्षेत्रका स्थानीयदेखि मनाङका स्थानीयहरूले दैनिक आउजाउ गर्ने एक मात्र सडक वा पैदल मार्ग यही हो ।

बाढीपहिरोले गर्दा दुई जिल्लाका स्थानीय साथै पर्यटकको पद यात्रा समेत समस्या हुने गरेको उनको भनाई छ । स– साना खोल्साखल्सीमा निर्माण गरिएका काठमा पुल बाढीले बगाइदिँदा झनै सास्ती थपिने गरेको उनले बताए । स्थानीयहरू भन्छन् पानी पर्ना साथ बाढीपहिरो शुरु हुन्छ । नजिकैका गाउँठाउँमा समेत जान सकिने अवस्था हुँदैन गंगामिलन माविको शिक्षक समेत रहेका खानी गाउँका कामसार्की गुरुङले बताए । उनले ‘दिनदिनै बाढी पहिरो आउँछ । सवारी समेत गुड्न सक्दैन । मान्छे कसरी हिँड्ने ?’ भन्दै प्रतिप्रश्न गरे । ‘पोहोर भदौ २७ गते ठूलो बाढीपहिरो आएको ठाउँमै अहिले पनि पहिरो झर्दैछ । घर नै बगाउने होकी भन्ने डर छ ।’ मस्र्याङ्दी गाउँपालिका– ३ का पाते गुरुङले भनिन् ।

मस्र्याङ्दी गाउँपालिका ४ स्याँगेका नरबहादुर गुरुङले बाढीपहिरो खसेको दिनमा डोजरले बाटो बनाएपनि पुनः भोलिपल्ट पहिरो जाने गरेको र बाटोमा हिँड्न नसकिएको बताए । उनले भने, ‘उक्त क्षेत्रको तातोपानी भीर, अर्खलेबेसी, शिरचौरलगायतका ठाउँमा दैनिक पहिरो जाने गरेको छ । उनका अनुसार पानी पर्दा पहिरो झर्छ, पानी नपर्दा सुक्खा पहिरो जान्छ त्यसैले एक ठाउँबाट अर्को ठाउँमा जान पनि जोखिम छ ।

मस्र्याङदी ४ का वडाध्यक्ष सुमन गुरुङले बेसीशहर–चामे सडकमा पटक–पटक बाढीपहिरो जाने गरेकाले सास्ती हुने गरेको बताए । उनका अनुसार बाढीपहिरोका कारण भनेको समयमा स्थानीयले सेवा पाउन नसकेको र आफु पनि भनेको बेलामा पीडित क्षेत्रमा जान सकेको छैन । बाढीपहिरो चल्ने वित्तिकै डोजरले पन्छाउने गरेपनि पुनः पहिरो खस्दा समस्या भएको उनले भने ।

मनाङको नासो गाउँपालिका– ६, तिल्चेका चेकमान गुरुङले म्यार्दीखोलाको बाढी पहिरोसंगै ठाउँठाउँको बाढी पहिरोले मनाङलाई आवतजावतमा समस्या बनाएको बताए । उनले भने– ‘हिँडौं भने पुरानो बाटो पनि भत्किएको छ । सडक बाटो हिँडौं भने बाढीपहिरो छ, निकै समस्या भएको छ । वर्षा लागेपछि जरुरी काम भएर बेसीसहर, काठमाडौं जानु परे पनि समस्या हुन्छ ।’

बेसीशहर– चामे सडक अन्तर्गत पर्ने बेसीसहर नगरपालिका– ६ बेलौतिविसौनासँगैको खरखरे भीर, मस्र्याङदी गाउँपालिका– ३ को अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतमा ठाउँमा पहिरो चले पछि जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङकाबासीलाई समेत कष्ट हुने गरेको त्यस क्षेत्रका बासिन्दा बताउँछन् ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बेसीशहर–चामे सडकमा अधिकांश समय बाढीपहिरो गइरहने हुन्छ, बाटो बन्द भएको खबर पाउनासाथ खुलाउन तत्काल प्रहरी परिचालन गर्ने गरिएको बताए । उनका अनुसार डिभिजन सडक कार्यालय दमौलीको सहयोगमा बाटो खुलाउने गरिदै आएको छ ।

बेसीसहर–चामे सडक निर्माण थालेको २५ बर्ष भएको स्थानीयले बताएका छन् । सडक विभागले आर्थिक बर्ष २०५१÷५२ मा बेसीशहरबाट निर्माण सुरुवात गरेको हो । उक्त सडकलाई नेपाली सेनाले आव ०५८÷५९ देखि जिम्मा लिई ट्याक खोल्ने र कच्ची सडकको निर्माण कार्यको काम पुरा गरी २०६९ सालमा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width