जलजलाका पहिरो पीडितलाई नयाँ घर

एजेन्सी
श्रावण १६, २०७६
Pahairo-Pedit-Lai-Aachurit-Ghar-1

पोखरा, १६ साउन । पर्वत जिल्लको जलजला गाउँपालिकाका पहिरो पीडित २२ परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधारा विकास मन्त्री रामशरण बस्नेत र पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले घरनिर्माण भएको प्रमाणपत्र र चावीसहित घर हस्तान्तरण गरेका हुन् । अघिल्लो वर्ष साउन महिनामा आएको पहिरोले पर्वतको जलजला गाउँपालिका–८ को लस्ती बेरनेटामा घरमाथिबाट आएको पहिरोले एक जनाको मृत्यु र २२ घर विस्थापित भएका थिए ।

असल छिमेकी नेपालले निर्माण गरिदिएको घर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले असल छिमेकी नेपालले भूकम्पपछिको गोरखा पुनर्निर्माणमा देखाएको तदारुकताको प्रशंसा गरे । मन्त्री वस्नेतले विपद्को दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने र स्थानीय सरकार समेत सचेत हुनपर्नेतर्फ जोड दिए ।

त्यस्तै वडा नं. ८ का अध्यक्ष हरिविकास जिसी, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्दकुमार अधिकारीले लगायतले आफ्नो भनाइ राखेका थिए । ९३ लाख ९४ हजार रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा हालसम्म ७९ लाख २८ हजार खर्च भएको जानकारी अधिकारीले दिए ।

उनका अनुसार कास्कीको सेती बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, महाभूकम्पपछिको पुननिर्माणदेखि बारापर्साको आँधी र तराई डुबान पीडितहरुसम्म असल छिमेकी नेपाल पुग्न सकेको बताए । कार्यक्रममा पर्वत जिल्लाका प्रजिअ कल्पना घिमिरे, फलेबास नगरपालिकाका मेयर पदमपाणि शर्मा, जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिष्म मल्ल लगायतले आफ्नो भनाई राखेका थिए ।

जलजला गाउँपालिका वडा नं. ८ बेरनेटामा १७, वडा नं. ७ लस्तीमा ४ र वडा नं. ४ मिलनचोकमा एक गरी २२ परिवारका लागि शौचालयसहित दुई कोठे घर निर्माण गरिएको जानकारी असल छिमेकी नेपालका प्राविधिक संयोजक सुमन बयलकोटीले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width