दोर्दीबासीद्वारा भूगर्भविद् माग

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
DordiKa Pidit

लमजुङ, १४ साउन । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत परियोजनाका प्रभावित गाउँलेहरूले आफ्नो क्षेत्रमा भूगर्भविद्को टोली खटाउन माग गरेका छन् । गाउँपालिका– ६ ढोडेनीका स्थानीयले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक ज्ञापन पत्र बुझाउँदै स्थानीयले दोर्दी करिडोरको माथिल्लो भागमा भएको भौगोलिक अवस्था, त्यसबाट पछि उत्पन्न हुनसक्ने सम्भावित दुर्घटनाको सम्भाव्यताको अवस्था के छ ? आदि बारेमा अध्ययन गर्नका लागि भूगर्भविद्को टोली खटाउन माग गरेका हुन् ।

उदिपुर– नौथर सेरा– ताँजे सडकको २०६४ सालमा ट्रयाक खोलिएको भएपनि हालसम्म कालोपत्रे नगरिएकोतर्फ उनीहरूले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्रमा दोर्दी करिडोरको मुख्य सडक नौथर सेरा, ताँजे सडकको अवस्था सवारी साधनको बढ्दो चापले सडकको ठाउँठाउँमा दिन प्रतिदिन पहिरो खस्ने, भासिने गर्दा बाटोको जोखिम बढ्दै गएको हुँदा सडक सुधार र जोखिम न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारको ध्यान जानुपर्ने उनीहरूले उल्लेख छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले सो क्षेत्रको सुरक्षाका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने प्रदेश सरकारको सोच रहेको बताए । दोर्दीखोलामा गत बुधबार एक्कासी बाढी आएर विद्युत परियोजनामा काम गरिरहेका १० जनका कामदारलाई बगाई जनधनको क्षति भएपछि गाउँलेहरूले विपद् जोखिमको अवस्थाबारे चासो दिएका हुन् । मुख्यमन्त्रीलाई अनुरोध गर्र्दै उनीहरूले दोर्दी करिडोरमा अग्रिम सूचना जारी गर्न, भावि दिनमा हुन सक्ने जोखिमबारे सचेत गराउने कार्यमा तत्काल टोली परिचालन गर्न समेत ज्ञापनपत्रमा माग गरेका छन् ।

उनीहरूले खोला आसपासका वस्ती संरचनाको जोखिमलाई मध्यनजर गरी विपद् न्युनीकरण गर्ने उपायहरुको लागि ठाउँठाउँमा पूर्व सूचनाको लागि सांकेतिक सूचना यन्त्र र सञ्चार सुविधालाई प्रभावकारी बनाउन एउटा टेलिकम टावरको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width