काँग्रेसभित्रै निष्ठावान काँग्रेसको खोजी

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
congress_Fotor

नेपाली काँग्रेसका अगुवा नेताले नेपाली काँग्रेसभित्रै निष्ठावान काँग्रेसको खोजी अभियान शुरु गरेका छन्। नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष प्राडा भूपति ढकाल ‘कमल’को नेतृत्वमा सो अभियान शुरु गरिएको हो।

ढकालको संयोजकत्वमा गठित सात सदस्यीय समितिको सचिवमा त्रिभुवन शर्मा, कोषाध्यक्ष शिवप्रसाद गौतम सदस्यमा तारा पाखे, टंकमान नापित, तारानाथ शर्मा र प्राडा यामबहादुर पौडेल क्षत्री चयन छन्।

अभियान संयोजक ढकालले वीपी कोइरालाको ३८ औं स्मृति दिवस सन्दर्भ पारेर मंगलवार पत्रकार सम्मेलन गरी अभियानको उद्देश्य सार्वजनिक गरे।

पार्टीका निष्ठावान कार्यकर्तालाई संरक्षण गर्न तथा पार्टीलाई व्यक्ति र गुटको प्रभावबाट जोगाउन अभियान आवश्यक परेको उनको भनाइ छ। उनले अभियानले सबै काँग्रेसजनलाई एकजुट बनाउने विश्वास व्यक्त गरे।

‘काँग्रेसलाई आफ्नो स्वार्थ पूरा गर्ने साधन बनाइँदैछ। निष्ठावान कार्यकर्ताको मूल्यांकन पनि छैन, ’ संयोजक ढकालले भने, ‘अब काँग्रेसलाई सुधार्न ढिला गर्नु हुँदैन भनेर अभियान शुरु गरेका हौं। ’

उनले काँग्रेस नेताका निकटतम् आफन्त र लगानीकर्ताको चँगुलमा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले कसैले केही देलान् र केही पाउँने आशामा अभियान शुरु नगरेको स्पष्ट पारे।

सो अभियान पार्टीको शुभेच्छुक संघ बनाएर अघि बढाउने तयारी छ। अभियानले काँग्रेस के हो, किन पार्टीमा लाग्नुपर्छ, पार्टीले हालसम्म के के उपलब्धि गर्यो र के गर्नुपथ्र्याे लगायत विषयमा चर्चा गरिने छ।

वडादेखि केन्द्रसम्म समिति बनाएर अभियानलाई तीव्र पारिने बताइएको छ। अभियानमा सहभागी हुन काँग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरिएको छ।

कार्यक्रममा प्राडा यामबहादुर पौडेल क्षत्रीले स्वागत तथा सचिव त्रिभुवन शर्माले धन्यवाद ज्ञापन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width