सहस्राब्दी पदमार्गमा सन् २०२० मा ५० हजार पदयात्री

रासस
श्रावण ७, २०७६
BasudevPaudel_Pokhara_RSS_mileniyamtreak

फाइल तस्बिर

पोखरा, ७ साउन । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ ।

नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र भिजिट नेपाल २०२० लाई सफल पार्ने योजनाअनुरुप लक्ष्य सार्वजनिक गर्दै आफूहरू अघि बढेको समितिका महासचिव हर्क गुरुङले बताए ।

सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवद्र्धनलाई लक्षित गरी बृहत् गुरुयोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइसकिएको उहाँले जानकारी दिए । गुरुयोजनामा पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

समितिले पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ । लक्ष्य सार्वजनिकसँगै पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताउँदै महासचिव गुरुङले यसबीचमा विभिन्न स्थानमा अत्यावश्यकीय पूर्वाधार निर्माण भइसकेको जानकारी दिए ।

“पहिलो चरणमा पदमार्गअन्तर्गतका आवतजावत गर्न असहज हुने ठाउँमा बाटो निर्माण एवं ममर्तलाई प्राथमिकतामा राखिएको छ”, उनले भने “आर्थिक वर्ष २०७५/७६ मा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको बुढाकोटसम्मका पदमार्गका अप्ठेरा बाटो मर्मत गरिसकेका छौँ ।” समितिले यस अवधिमा पदमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१० को रजस्थल सामुदायिक घरवासबाट ढोर मूलकोट दरबार जाने ३०० मिटर सिँढी बाटो रु तीन लाख ५० हजारको लागतमा सम्पन्न गरिसकेको छ ।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मिनेनियम गुफाबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–७ सादीखोला ‘होमस्टे’ जाने ६०० मिटर लम्बाइको सिँढी बाटो रु नौ लाख ५० हजार लागतमा निर्माण गरिएको छ । समितिले पुतलीबजार नगरपालिका–२ भैंसेगौँडामा ३०० मिटर लम्बाइको ढलान सिँढी बाटो रु तीन लाख ५० हजार लागतमा निर्माण गरेको छ भने पुतलीबजार नगरपालिका–१२ मा नकचु महादेव पञ्चमुखी धाम जाने प्रवेशद्वार, प्रतीक्षालय, शौचालयका साथै २५० मिटर लम्बाइको सिँढी बाटो रु पाँच लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोटबाट बुढाकोट जाने ३५० मिटर लम्बाइको सिँढी बाटो रु पाँच लाखको लागतमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । आगामी आव २०७६÷७७ मा बुढाकोटबाट पदमार्गको अन्तिम गन्तव्य बिन्दु रामबाछासम्मका अप्ठेरा बाटा एवं आवश्यक पूर्वाधार निर्माण गरिने योजना रहेको उनले जानकारी दिए ।

प्रदेश सरकारको प्राथमिकतामा सहस्राब्दी पदमार्ग गण्डकी प्रदेश सरकारले सहस्राब्दी पदमार्गलाई प्राथमिकतामा राख्दै आव २०७६/७७ का लागि बजेट विनियोजन गरेको छ । सरकारले सहस्राब्दी पदमार्गसहित अन्नपूर्ण चक्रीय पदमार्ग र धौलागिरि पदमार्गका लागि आव २०७६÷७७ मा रु १८ करोड छुट्याएको छ ।

सहस्राब्दी पदमार्गकै पूर्वाधार विकासका लागि आव २०७६/७७ का लागि रु ५० लाखसमेत छुट्याइएको छ । सहस्राब्दी पदमार्ग प्रदेश सरकारको प्राथमिकतामा परेका कारण त्यसले पदमार्ग क्षेत्रका बासिन्दामा पनि उत्साह थपेको मिलेनियम भैंसेगौँडा सामुदायिक घरवासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

“पूर्वाधार विकासलाई हामीले प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “बर्खा होस् वा हिउँद जुनसुकै समयमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने भएकाले पनि दीर्घकालीन योजनाका साथ हामी अघि बढेका छौँ ।”

नेपाल पर्यटन बोर्डले पनि यसको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पदमार्ग क्षेत्रका विभिन्न स्थानमा गन्तव्य सङ्केत पाटी राख्न सहयोग गरेको छ । समितिले कूल ७२ किलोमिटर दूरीमा ३०० ठाउँमा गन्तव्य सङ्केत पाटी राख्ने योजना अघि सारेकामा पहिलो चरणमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोगमा अत्यावश्यक ४२ स्थानमा यस्ता सङ्केत पाटी राखेको छ ।

सहस्राब्दी पदमार्गको प्रवद्र्धनलाई नेपाल पर्यटन बोर्डले प्राथमिकतामा राखेको बोर्डको पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । “सहस्राब्दी पदमार्गका प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै बोर्डले यसको प्रवद्र्धनलाई अघि बढाएको हो”, उनले भने “यसका सम्भावनालाई उजागर गर्न स्थानीय तह, व्यवसायीका साथै पदयात्रा पर्यटनमा क्रियाशील सङ्घ संस्थाको जागरुकता अपरिहार्य छ ।”

पदमार्गअन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । यो पदमार्गमा विश्वमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर, लोपोन्मुख प्रजातिका गिद्धलगायत १३४ प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

यस पदमार्ग क्षेत्रमा मिलेनियम भंैसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका–३ स्थित सिंगारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरवास सञ्चालनमा आइसकेका छन् ।

त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा ११ स्थित राइपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरवासे सञ्चालनमा आइसकेका कारण पदयात्री पर्यटकलाई खान बस्नको कुनै असुविधा नहुने मिलेनियम भैंसेगौँडा सामुदायिक घरवासका अध्यक्ष बालकुमार गुरुङले बताए ।
–वासुदेव पौडेल

Related News

सम्बन्धित समाचार

hero news full width