भ्रमण वर्षको तयारी फितलो

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
visit nepal 2020

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन घोषणा गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले त्यसको तयारी अगाडि बढाएका छन्। दुई मिलियन अर्थात् २० लाख पर्यटकको लक्ष्य हालसम्मकै महत्वाकांक्षी हो। नेपालमा यतिधेरै पर्यटक अहिलेसम्म एकै वर्षमा भित्रिएका छैनन्।

के नेपालले ट्वान्टी ट्वान्टी समेत भनिने यस्तो लक्ष्य भेट्न सक्ला भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। लक्ष्य अनुसारको तयारीमा भने मन्त्रालय, बोर्ड र सम्बन्धित समितिको गति निकै धिमाजस्तो देखिन्छ। भ्रमण वर्ष शुरु हुन ६ महिना अघि गएको जुन महिनामा कार्यक्रमका लागि बल्ल प्रदेशस्तरीय कमिटि गठन गरिएको थियो।

प्रदेशका मुख्यमन्त्री संरक्षक र सम्बन्धित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष, सोही मन्त्रालयका सचिव सदस्य सचिव तथा पर्यटनसम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्य रहने गरी सातै प्रदेशमा त्यस्ता समिति गठन गरिएको छ।

त्यसअघि गत वर्ष चैत ३० गते पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष २०२० को सफ्ट ओपनिङ गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवा तालको किनारस्थित कोमागाने पार्कमा गरेको सो उद्घाटन पनि खासै भव्य हुन सकेन। यसअघि सन् १९९८ र २०११ लाई भ्रमण वर्ष मनाइसकेको नेपालले आउँदो २०२० लाई ‘लाइफ टाइम एक्सपेरियन्स’ नारासहित अघिल्लो बजेटमार्फत् भ्रमण वर्ष घोषणा गरेको हो।

तर पनि भ्रमण वर्षका लागि आवश्यक प्रवद्र्धन र पर्यटक आकर्षण गर्ने खालका प्याकेजहरु अझै सरकार र निजी क्षेत्रले सहकार्य गरी तयार गर्न सकेका छैनन्। हालैमात्र बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ। भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक सुरज वैद्यले सरकारले उपलव्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएको बताए। यसअघि छुट्याइएको बजेटको अधिकांश हिस्सा तलब भत्तामा खर्च भएको उनको भनाइ छ।

यस्तो अवस्थामा २० लाख पर्यटक भित्र्याउन निकै चुस्त र दुरुस्त तयारी अगाडि बढाउन जरुरी छ। सामान्य अवस्थामा सन् २०१८ मा कुल ११ लाख ७३ हजार ७२ पर्यटकले नेपालको भ्रमण गरेका थिए। जुन अघिल्लो वर्षको तुलनमा २५ प्रतिशतले मात्र बढी हो। तर पनि पर्यटकको बसाइँ र खर्च गर्ने दर घट्दा चिन्ता थपिएको छ। खर्च गर्ने खालका गुणस्तरीय पर्यटक भित्र्याउने कि कम खर्च गर्ने धेरै पर्यटक भित्र्याउने भन्ने विषयमा समेत हालसम्म स्पष्ट नीति तय गरिएको छैन। मन्त्रालयले हालै सार्वजनिक गरेको टुरिजम स्टाटिस्टिक्स् २०१८ का अनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२ दशमलव ६ दिनबाट घटेर १२ दशमलव ४ दिनमा सीमित हुन पुगेको छ। यसैगरी पर्यटकले गर्ने खर्च समेत सन् २०१७ को तुलनामा सन् २०१८ मा ५४ अमेरिकी डलरबाट ४४ अमेरिकी डलमा झरेको छ। सन् २०१८ मा अघिल्लो वर्षभन्दा १७ प्रतिशत बढी अर्थात् ६९ अर्ब ७५ करोड ५८ लाख पर्यटन क्षेत्रबाट कमाई गर्नु भने राम्रो पक्ष हो।

आगमनकै कुरा गर्दा सन् २०१९ को ६ महिना अवधिमा नेपाल आउने पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा सामान्य बढेको देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार ६ महिना (जनवरी–जुन) मा कुल ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक नेपाल आएका छन्। सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक आएका थिए। अघिल्लो वर्षको तुलनामा १२.६० प्रतिशत बढी पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ।

सामान्य रुपमा बुझ्दा साढे १२ प्रतिशत वृद्धिको ६ महिने गति सन् २०२० मा पनि दोहोरियो भने कसरी लक्ष्य भेटिएला? भ्रमण वर्षलाई नै टेवा पुग्ने गरी नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौंमा आयोजना गर्ने तयारी पनि अगाडि बढाइएको छ। नेपाल भ्रमण वर्ष २०२० अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो। यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ।

तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको पालामा मन्त्रालयले नेपाल भरि १ सय वटा नयाँ पर्यटकीय गन्तव्यको समेत पहिचान छ तर यिनको प्रवद्र्धनमा खासै काम हुन सकेको देखिँदैन। विदेशी मिडिया र अन्तराष्ट्रिय ट्राभल मार्टमा त्यस्ता गन्तव्यहरुको प्रवद्र्धन गर्न सके नेपाल आउने पर्यटक अझ थपिने छन्।

यस्तै विषयसँग मेल खाने गरी जर्मनीको राजधानी बर्लिनमा गत मार्चमा आयोजित अन्तराष्ट्रिय पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासको संयुक्त पहलमा भ्रमण वर्षलाई नै लक्षित गरी नेपालका ३५ टूर तथा ट्राभल व्यवसायी कम्पनीहरूले सक्रियतापूर्वक सहभागिता जनाएका थिए। यसैगरी भ्रमण वर्ष २०२० प्रवद्र्धन लक्ष्यसहित लण्डन सहरका विभिन्न २ दर्जन रुटमा चल्ने करिब ५० बसहरुमा यी पोस्टरहरु लगाइएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width