नेकपा लमजुङको सहइन्चार्जमा गोरखाका अमरबहादुर तमु, जिल्लामा असन्तुष्टि व्याप्त

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६
Adhikari & Gurung

लमजुङ, ६ साउन । लमजुङमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको इन्चार्जमा मायानाथ अधिकारी र सह इन्चार्जमा अमरबहादुर तमुलाई खटाएको छ । नेकपा केन्द्रीय समितिको सचिवालय बैठकले आइतबार सो निर्णय गरेको हो । त्यो निर्णय सार्वजनिक भएसँगै सो दलको जिल्ला तहमा व्यापक असन्तुष्टि सिर्जिएको छ ।

नेकपा केन्द्रीय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले लमजुङका अधिकारीलाई जिल्ला इन्चार्ज र गोरखाका तमुलाई सह इन्चार्ज तोकेको हो । लमजुङका तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई इन्चार्ज खटाएको छ । उनी तत्कालीन एमालेको पनि लमजुङ जिल्ला इन्चार्ज थिए । इन्चार्ज मायानाथ अधिकारी हाल नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको नेकपा संसदीय दलका प्रमुख सचेतक पनि हुन् ।

यसअघि जिल्लाको सहइन्चार्जमा तत्कालीन माओवादीका पोलिटब्यूरो सदस्य पारसमणि पौडेल भएको भन्दै उनलाई कतिपयले बधाई पनि दिएका थिए । तर सो दलको सचिवालय बैठकले गोरखाका तमुलाई लमजुङको सह इन्चार्जमा खटाउने निर्णय गरेपछि जिल्लामा असन्तुष्टिको तरङ्ग फैलिएको छ ।

जिल्ला इन्चार्च अधिकारी नेकपा एमालेमा रहँदा २०५४ सालदेखि २०६४ सालसम्म सचिवमा रहेर पार्टीको नेतृत्व गरी सकेका छन् । अधिकारी लमजुङको दोर्दी गाउँपालिका– १, भारते निवासी हुन् । उनी पछिल्लो प्रदेश तथा संघको निर्वाचनमा एमालेकोतर्फबाट गण्डकी प्रदेश सभाको समानुपातिक सदस्यमा चयन भएका हुन् ।

त्यसो त गोरखाका अमरबहादुर तमु तत्कालीन माओवादीमा रहँदा जन युद्धकालमा गोरखाको जनसरकार प्रमुख साथै जिल्ला जनपरिषद्को नेतृत्व सम्हालेका उनी तत्कालीन तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत हुन् । उनी एमाले र माओवादीको एकतापछि नेकपा केन्द्रीय सदस्य हुन् । २०६४ सालमा गोरखाबाट संविधान सभा सदस्यमा निर्वाचित तमु गएको प्रदेश तथा संघको निर्वाचनमा गोरखा क्षेत्र नं. २ को प्रदेश (ख) बाट पराजित भएका थिए । उनी गोरखाको शहीद लखन गाउँपालिका– ९ नामजुङ निवासी हुनु ।

यसअघि नेकपा केन्द्रीय समितिले पार्टीको जिल्ला अध्यक्षमा गण्डकी प्रदेश सांसद मधु अधिकारी र सचिवमा गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीलाई चयन गरिसकिएको छ ।
लमजुङलाई काँग्रेसको किल्लाका रुपमा चिनिन्थ्यो । पछिल्लो स्थानीय, प्रदेश र संघको निर्वाचनमा त्यो किल्ला भत्काउन जिल्लामा कार्यरत नेकपाका नेता कार्यकर्तानै सक्षम भएका हुन् । तर संघीय निर्वाचनमा पनि मनाङ निवासी देव गुरुङलाई उम्मेवार बनाइएको थियो भने यतिबेला पनि गोरखाका तमुलाई सहइन्चार्ज बनाएर जिल्लाका नेता, कार्यकर्ताको मनोबल गिराउने काम गरिएको आम बुझाईछ ।

‘हिजो काँग्रेसको किल्ला भत्काउन तपाईहरू सक्षम हुने नेता हुने बेलामा त असक्षम देखिनु भयो नि ?’ भन्ने जिज्ञासा जिल्लाका आधादर्जन बढी नेताहरू समक्ष राख्दा तपाईको भनाई ढीक छ तर यहाँ बोलेर के हुन्छ र ? काम गर्ने हो त्यो हामीले गरेकै छौं भन्ने निरासाजनक जनक उत्तरे दिएका छन् । सहइन्र्चाजको रूपमा फेसबुकबाट बधाई समेत पाउनु भएका पारसमणि पौडेलसँग सम्पर्क गर्दा यो पार्टीको जिम्मेजारीको कुरा हो भने । थप

प्रतिक्रिया दिन चाहेनन् । संविधानसभा सदस्य जमिन्द्रमान घलेले केन्द्रीय सदस्य हुनुपर्ने भन्ने भयो, हाम्रोमा मायानाथ अधिकारी बाहेक केन्द्रीय सदस्य कोही भएनौं त्यसैले यस्तो हुन गयो भने ।

नेकपाको अनुशासन अन्य दलको तुलनामा केही कडा भएको र नेताको विरोध गर्दा भोलिका दिनमा आफू पत्तासाफ हुने डरका कारण पनि खुलेर विरोधमा उत्रन जिल्लाका नेता कार्यकर्तालाई कठीन भएको बुझिएको छ । एक नेताले नाम नछाप्ने सर्तमा भने ‘लमजुङमा बाहुन क्षेत्रीलाई नेता बनाउन हुँदैन भन्ने मानसिकता पनि दह्रो छ त्यसले पनि काम गरको हुन सक्छ, यो उभो लाग्ने हो कि उधो केही दिन हेरौं ।’ नाम नबताउने सर्तमा असन्तुष्टि व्यक्त गर्ने नेताहरू प्रसस्त भेटिन्छन् । नेकपा केन्द्रको उक्त निर्णयप्रति जिल्लाका अधिकांश नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्

Related News

सम्बन्धित समाचार

hero news full width