पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
Chamber_Fotor

औद्योगिक एवं व्यापारीक प्रतिनिधिमण्डल कन्फेडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन (सीडब्लुबीटीए) ले आयोजना गरेको पूर्वी भारतको ट्रेड समिट २०१९ मा नेपालको चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

जुलाई १५ र १६ मा भएको समिटमा नेपालको निजी क्षेत्रको तर्फबाट गण्डकी प्रदेश चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनारको नेतृत्वमा ३८ सदस्यीय टोली कोलकोत्ता गएको थियो ।

प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, कृषि, बैंक तथा वित्तिय संस्था, तयारी पोशाक, मिनरल वाटरसँग सम्बन्धित उद्यमी व्यवसायीको सहभागिता थियो ।

नेपालको चेम्बर अफ कमर्सले आयोजक संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि औद्योगिक तथा व्यापारीक प्रतिनिधिमण्डलले नियमित रुपमा शिखर सम्मेलन, मेला/प्रदर्शनीमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुनारले जानकारी दिए । समिटमा चेम्बर अफ कमर्स सहआयोजकको रुपमा सहभागी भएको हो ।

भारतका व्यापारिक प्रतिनिधिमण्डलले समेत नेपालमा भएका मेला तथा प्रदर्शनीमा सहभागी हुँदै आएका छन् । अध्यक्ष सुनारले उद्यमी/व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने समिटको प्रमुख उद्देश्य रहेको बताए । समिटमा नेपालको चेम्बर अफ कमर्सको सहभागिताले नेपाल र भारतबीचको व्यापार सहजीकरण, दुईपक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्नका लागि उपाय पहिल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समिटमा भारत, भुटान, बंगलादेश, थाइलाण्ड लगायत विभिन्न देशका उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width