सूचना सहज उपलब्ध हुनेछ–सेना प्रवक्ता पाण्डे

रासस
श्रावण ३, २०७६
NP_KTM_20190719_IMG_2011

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई विचार पु¥याएर समाचार सम्प्रेषण गर्न रासस दत्तचित्त रहेको बताएका छन् ।

नेपाली सेनाको सिसं २० जनसम्पर्क अधिकृत तालीमका प्रशिक्षार्थी अधिकृतसहितको टोलीलाई राससको समाचार सङ्कलन, सम्पादन र वितरणबारे जानकारी दिँदै उनले भने , “राससले सत्य र तथ्यको नजीक पुगेर समाचार सम्प्रेषणलाई जोड दिँदै आएको छ । राससका समाचारलाई धेरै सञ्चारमाध्यमले विषयवस्तुको पुष्ट्याइँका लागि पनि अनुसरण गर्ने गरेका छन् ।”

अध्यक्ष अधिकारीले गौरवमय इतिहास रहेको नेपाली सेनाले कुनै पनि कालखण्डमा विवादित र विभाजित नभई मुलुक र जनताका खातिर एक ढिक्का भएर काम गरेको भनी प्रशंसा पनि गरे ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समितिले राज्य र जनताका सरोकार र चासोका विषयवस्तुलाई समाचारका माध्यमबाट जनतामै पु¥याउने सेतुको काम गरेको बताए । उनले भने “ रासस राज्यको आधिकारिक समाचार समिति रहेको र यसको सञ्जाल देशैभर रहेको हुँदा अहिले समितिले ‘मिडियाको पनि मिडिया’ का रुपमा रहेर काम गर्दै आएको छ ।”

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र सुरक्षासम्बन्धी संवेदनशील विषयबाहेक सेनासँग सम्बन्धित जानकारी र सूचना निरन्तर एवं सहजरुपमा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको बताए ।

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले सूचना सम्प्रेषणमा राससले पु¥याइरहेको योगदान र भूमिकाका बारेमा सैनिक टोलीलाई जानकारी दिए । कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले नेपाली सेनासम्बन्धी गतिविधि र समाचारलाई राससले उच्च प्राथमिकता दिने गरेको बताए ।

सो अवसरमा राससका प्रधानसम्पादक श्यामप्रसाद रिमाल, अन्तरराष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याल र तस्वीर सम्पादन शाखाका प्रमुख जगतकृष्ण श्रेष्ठले राससका समाचार, तस्वीर, श्रव्यदृश्य सङ्कलन, सम्पादन र वितरणलगायत विषयमा जानकारी दिनुभएको थियो । सोह्र जना प्रशिक्षार्थी अधिकृत टोलीले राससका विभिन्न शाखाको भूमिका र समाचार सेवाका बारेमा जानकारी लिएको थियो ।
–––

Related News

सम्बन्धित समाचार

hero news full width