इलेक्ट्रिक स्कुटरमा आकर्षण बढ्दो

पोखरामा ३७ इलेक्ट्रिक स्कुटर दर्ता

Suraj Hazare Dahal
श्रावण २, २०७६
electric 1

वायु र ध्वनी प्रदूषण नहुने तथा मर्मत खर्च निकै कम लाग्ने भएकोले इलेक्ट्रिक स्कुटरको बिक्री संख्या बढीरहेको छ । पेट्रोल भन्दा निकै कम शुल्कमा विद्युतमा चार्ज गर्न मिल्ने भएकाले पनि विशेष गरि युवाहरुको आकर्षण यसतर्फ बढीरहेको छ । पेट्रोलियम स्कुटरले वार्षिक कर रु ६००० तिर्नुपर्छ भने इलेक्ट्रिक स्कुटरले मात्र रु १५० मात्र । पोखरामा नम्बर प्लेट भएका नियु ब्राण्डको ३७ वटा र नम्बर प्लेट नभएका विभिन्न ब्राण्डका करिब २ दर्जन इलेक्ट्रिक स्कुटरहरु गुडिरहेका छन् । त्यसमाथि पोखरा लगायत देशका विभिन्न शहरबाट बैंकहरुको सरल किस्ताबन्दी सेवा मार्फत नम्बर प्लेट भएका इलेक्ट्रिक स्कुटर खरिद गर्नसक्ने भएपछि यसतर्फ ग्राहकको आकर्षण बढेको छ । पोखरामा विद्यार्थीदेखि पत्रिका बितरक तथा व्यापारीहरुले समेत यस्ता स्कुटर चढिरहेका छन् । पत्रिका वितरक अग्नी मल्ल बिहान ६ बजे पत्रिका लिन महेन्द्रपुल आएर इलेक्ट्रिक स्कुटरमा राखेर लामाचौरहुँदै अकला मन्दिरसम्म ग्राहकलाई पुर्याउन जान्छन् । पेट्रोलको खर्च जोगिने,चलाउन सजिलो हुने र समयमा ग्राहकले पत्रिका पढ्ने पाउने हुँदा अग्नीले इलेक्ट्रिक स्कुटर प्रयोग गर्छन् । उनले हालसम्म २ वटा इलेक्ट्रिक स्कुटर चढिसकेका छन् । यस्तै छोरेपाटनकी शर्मिला श्रेष्ठ कलेज जानको लागि इलेक्ट्रिक स्कुटर प्रयोग गर्छिन् । उनका अनुसार बस भाडा भन्दा स्कुटरको चार्जिङ खर्च कम आउँछ । बिहानै घरबाट कलेज गएर काममा जाँदा पनि स्कुटरले उनलाई सघाएको छ ।

२०७२ सालमा भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाउनु अगाडिसम्म विद्युतिय सवारी साधनको कुनै चर्चा थिएन । राजधानीमा न्यून संख्यामा चारपांग्रे कार र दुई पांग्रेहरु इलेक्ट्रिक बाहानहरु गुड्थे । नाकाबन्दी लगत्तै देशभर पेट्रोलियम पदार्थको चरम अभाव भएपछि सडकमा इलेक्ट्रिक स्कुटरको संख्या बाक्लिन थालेको थियो । विशेष गरि काठमाण्डौमा चाइनिज ब्रान्डका धेरै इलेक्टिक स्कुटर गुड्न थालेका थिए । त्यसपछि पोखरामा पनि दुई ब्राण्डहरु ट्रस्ट र भिमोटो कम्पनीले स्कुटरहरुको बिक्री थालेको हो । यातायात ऐनमा विद्युति स्कुटर दर्ता सम्बन्धि स्पष्ट नीति नियमहरु नहुँदा सामान्य बिलको आधारमा बिना ब्लु बुक ग्राहकलाई बिक्री गर्ने गरिन्थ्यो । यस्तै ब्लु बुक नै नभएपछि त्यस्ता इलेक्ट्रिक स्कुटरमा नम्बर प्लेट पनि हुन्थेन । नम्बर प्लेट नभएकै कारणले सवारी धनी पनि बिना लाइसेन्स स्कुटर चलाउँथे । चेकजाँचको क्रममा नम्बर प्लेट नभएका त्यस्ता स्कुटरलाई कारवाही गर्न पनि सकिदैन्थ्यो । यस्तै लाइसेन्स नबोकेकालाई जरिवाना गर्न पनि स्कुटर नै दर्ता भएको अवस्था थिएन ।

गत महिना यातायात व्यवस्था कार्यालय काठमाण्डौले नम्बर प्लेट नराखी बिना दर्ता चलेका स्कुटरलाई १५ दिन भित्र दर्ता हुन सूचना जारी गरेको थियो । यातायात व्यवस्था विभागले इलेक्ट्रिक स्कुटर खरिद गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने कानून रहेको भन्दै विभागले ट्राफिक कार्यालयलाई पत्राचार समेत गरेको थियो । तर हालसम्म बिना दर्ता चलेका कतिवटा स्कुटर जफत गरियो भन्ने समाचार बाहिर आएका छैन । यातायात व्यवस्था विभागको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्रचार गरेको थियो ।

दर्ताको प्रक्रिया झन्झटः इलेक्ट्रिक स्कुटर बलियो छ कि छैन भनेर त्यसको क्षमता जाँच्न दुई जनालाई चढाएर काठमाण्डौ स्थित सेतो गुम्बाको ठाडो उकालोमा चढाउन लगाइन्छ । बिचमा नरोकिएर उक्त उकालो पार गरेमा त्यस्तो स्कुटरलाई मात्र नम्बर प्लेट दिइन्छ भने फेल भएकाले नम्बर प्लेट पाउँदैनन् । यस अगाडि नम्बर प्लेट नपाए पनि त्यस्ता इलेक्ट्रिक स्कुटर गुडिरहेका थिए । तत्कालिन समयमा नाकाबन्दी भएकोले सरकारले इलेक्ट्रिक स्कुटरलाई त्यति कडाइ पनि गरेको थिएन । तर अहिले आएर विभागले पुरानो ग्राहकले समेत दर्ता गरेर मात्र चलाउनू भन्ने आदेश दिएको छ । पुरानो भइसकेका र ब्याट्री क्षमता कम भइसकेका स्कुटरले उकाले चढ्न सक्दैनन् नै निम्न गुणस्तरका दुई पांग्रेहरु बेचेका केही पसलहरु त बन्द समेत भइसकेका छन् । यस्तौ काठमाण्डौ बाहेका अन्य क्षेत्रमा स्कुटरको पावर क्षमता जाँच्ने टेस्ट नै हुँदैन । सरकारले तत्कालिन समयमा बिना दर्ता जथाभावी बेच्न दिएर अहिले आएर नियमन गर्न थालेको छ । हुन् बिना दर्ता चलाउने नपाउने नियम विभागले पटकपटक निकालेको थियो तर कार्यान्वयन भने भएको थिएन । काठमाण्डौमा मात्र १५०० भन्दा बढी संख्यामा नम्बर प्लेट नभएका स्कुटर गुड्छन् भने पोखरामा दर्ता भएका ३७ र नभएका करिब २ दर्जन स्कुटरहरु गुडिरहेका छन् । पेट्रोलियम स्कुटरले भने इलेक्ट्रिले झैं उकालोको जाँच पास गर्नु पर्दैन । तर उकालो पास गर्ने नियम राखिनाले ग्राहकले गुणस्तरिय स्कुटर खरिद गर्नसक्छन् किनकी तिनले मात्र नम्बर प्लेट पाउँछन् । यस्तै नम्बर प्लेट भएका इलेक्ट्रिक स्कुटरले वार्षिक रु १५० कर तिरे पुग्छ ।

पोखरामा ३७ स्कुटर दर्ताः पोखरामा नम्बर प्लेट भएको इलेक्ट्रिक स्कुटर बेच्ने एक मात्र कम्पनी नियु हो । नियुले सभागृह चोक स्थित आफ्नो शोरुमबाट हालसम्म ३७ वटा स्कुटरहरु बेचिसकेको छ । आठ महिनादेखि पोखरामा नियु ब्राण्डको स्कुटर बिक्री गर्दै आएको इलेक्ट्रो हबका अनुसार यो स्कुटरले दुई जना चढेर सराङकोटसम्म पुग्न सक्छ । जर्मन कम्पनी बोसको मोटर र एलजी कम्पनीको ब्याट्री प्रयोग भएकोले स्कुटर बलियो भएको इलेक्ट्रो हबको दाबी छ । रु २ लाख ५० हजार मूल्य राखिएको यस स्कुटर काठमाण्डौमा नै २०० बढी बिक्री भइसकेको छ । एकपटकको चार्जमा यो स्कुटर ८० किलोमिटरसम्म गुड्न सक्छ भने लिथियम ब्याट्री प्रयोग भएकोले सजिलै बाहिर निकालेर जहासुकै चार्ज गर्न सकिन्छ । कम्पनीले मोटर र ब्याट्री दुबैमा २ वर्षको वारेन्टी दिएको छ । केही समयमा एक फुल चार्जमा १२० किमी गुड्न सक्ने नयाँ मोडलको नियु इलेक्ट्रिक स्कटुर नेपालमा लन्च हुँदैछ । सन् २०१५ मा विश्व बजारमा उतारिएको नियुले नेपाल सहित २७ देशमा स्कुटर बेचिरहेको छ ।

गुणस्तरिय स्कुटर प्रति आकार्षणः शुरुमा केही बिक्रेताले कमसल स्कुटर बेचेर मर्मतको सेवा नदिने तथा ब्याट्री चाँडो बिग्रने र पसल नै बन्द भएपछि ग्राहकहरुको भरोसा टुटेको थियो । पछिल्लो समय देशका प्रमुख शहर पोखरा, काठमाण्डौ, इटहरी तथा बुटवलमा विश्वभर प्रख्यात ब्राण्डका स्कुटरहरुले बिक्री केन्द्र खोलेका छन् । इलेक्ट्रिक स्कुटरको क्षमता त्यसमा प्रयोग हुने ब्याट्री र मोटरमा भरपर्छ । स्कुटरमा लिथियम र लिड् एसिड गरि दुई प्रकारको ब्याट्री प्रयोग हुन्छन् । लिड् एसिड निकै गह्रुंगो हुन्छ भने चार्ज हुन पनि समय लाग्छ । यस्तै लिड् एसिडको लाइफ साइकल पनि कम हुन्छ । लिथियम ब्याट्री हलुका हुने र चाँडो चार्ज हुन्छ । एसिड ब्याट्री ४ देखि ६ वटासम्म हुने र २५ केजीसम्मका ति ब्याट्रीलाई स्कुटरबाट बाहिर झिक्ने नमिल्ने हुँदा लामो तार प्रयोग गरेर ७ घण्टासम्म चार्ज गर्नुपर्ने हुन्छ । लिथिय ब्याट्री भने ८ देखि १० केजीसम्म एउटै ढिक्काको हुने हुँदा यसलाई बाहिर झिकेर चाँडोमा ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ । करिब रु ११० प्रति लिटर पर्ने पेट्रोलले ४० किमीसम्मको माइलेज दिन्छ भने इलेक्ट्रिक स्कुटरले २ युनिट (रु ३०) विद्युतको फुल चार्जमा १०० किमी गुड्न सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width