प्रहरीद्वारा लक्ष्मी हत्या आरोपी सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
photo 001

पोखरा, १ साउन । पोखरा–१५ रामबजार निवासी ३३ बर्षीया लक्ष्मी परियार (नेपाली) हत्यामा सम्लग्न चार आरोपीलाई कास्की प्रहरीले बुधवार सार्वजनिक गरेको छ । उक्त घटनमा सम्लग्न फरार अन्य तीन आरोपी अझै भेटिएका छैनन् ।

लक्ष्मी परियार असार एक गतेदेखि हराएकी थिइन, उनको खोजतलास गर्ने क्रममा उनको (हाडखोर) कङ्काल मात्र असार २५ गते पोखरा–२२ पुम्दीभुम्दी स्थित कर्कले जंगलमा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट लक्ष्मी हत्याको मुख्य योजनाकार उनकै पति पोखरा–१५ रामबजार निवासी ३५ बर्षीय रमेश नेपाली रहेको खुल्न आएको छ ।

दश लाख रुपैयाँ दिने सर्तमा रमेशले पत्नीकोे हत्या गर्न लगाएका हुन् ।रामबजारमा मोवाइल पसल संचालन गदै आएका रमेशले हत्या आफ्नै योजनामा भएको प्रहरी समक्ष स्वकिार गरेका छन् ।

लक्ष्मीको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका–५ घरभई पोखरा–९ महेन्द्रपुलमा मोवाइल पसल संचालन गर्दै आएका ३२ बर्षीय संजय शर्मा र सर्लाहीको ईश्वरपुर नगरपालिका–३ तीनघरीया घरभई पोखरा–८ पृथ्वीचोकमा मोवाइल पसल संचालन गर्दै आएका आएका २६ बर्षीय चित्तरञ्जन कुमार साह र अपराधमा भूमिका खेलेको भन्दै गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक निवासी १९ बर्षीया अनु परियारलाई कास्की प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार लक्ष्मीलाई धारिलो हतियार चक्कु घाँटीमा प्रहारगरी हत्या गरिएको घटना विवरणबाट खुलेको छ । घटनामा सम्लग्न फरार अन्य तीन जनाको खोजीकार्य भइरहेको र उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको घटना विवरण अनुसार असार १ गते कालिका चोकबाट हराएकी मेरी पत्नी लक्ष्मी परियार (नेपाली)को खोजतलाश गरीपाउँ भनी रमेश नेपालीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । लक्ष्मीकी आमा मिठु परियारले असार ११ गते जिल्ला प्रहरीमा छोरीको खोजी तथा कारवाही गरिपाँउ भनी निवेदन दिएकी र निवेदन परेकै दिनदेखि प्रहरीले लक्ष्मीको खोजी र अनुसन्धान कार्य शुरु गर्यो ।

अनुसन्धानकै क्रममा लक्ष्मीका पति रमेश नेपालीको संम्लग्नता रहेको आशंकामा असार २५ गते प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि वढायो, नेपालीले प्रहरी समक्ष आफ्नै योजनामा पत्नी लक्ष्मीको हत्यागरी पोखरा–२२ को पुम्दीभुम्दीको जंगलमा शब फालेको स्वीकार गरे । उक्त स्थानमा प्रहरीले शव खोजीकार्य गर्दा लक्ष्मीको कंकाल( हाडखोर) भेटियो ।

लक्ष्मीका पति रमेश नेपालीले साली नाता पर्ने अनु परियारले आफ्नो सम्बन्ध रहेको कुरा वाहिर ल्याएको र आफ्नो बदनाम भएको भन्दै अनुले एक बर्ष अघि दिदीलाइ साइड लगाइदिनुहोस् भनेपछि सोही दिनदेखी पत्नी लक्ष्मीलाई मार्ने योजना बुन्दै आएको बयान प्रहरीलाई दिएका छन् ।

एक जना महिलाको हत्या गर्नुपर्ने र त्यस वापत राम्रो रकम आउने कुरा रमेश नेपालीले मोवाइल पसल संचालक आफ्नै साथी संजय शर्मालाई भन्दै आएका थिए । त्यसैक्रममा अर्का मोवाइल पसले चित्तरञ्जन कुमार साहमार्फत दश लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने सल्लाह दिए, जेठ ३० गते तीन जना भारतीय पोखरा आइपुगे र पृथ्वीचोक स्थित कोशी होटलमा बसेको र उनीहरुलाई होटलमा बस्ने व्यवस्था संजय शर्मा र चित्तरञ्जन कुमार साहले मिलाए ।

जेठ ३१ गते लक्ष्मी हत्या तयारीका लागि रमेश नेपालीले संजय शर्मालाई एक लाख रुपैयाँ दिएको, र हत्या गर्ने स्थान चयनको लागि पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, संजय, चित्तरञ्जन र तीन जना भारतीय पुगेर फर्केको अनुसन्धानबाट खुल्न आएको छ ।

असार एक गते रमेश नेपाली संजय शर्माको पसलमा पुगी दुबै जना लेकसाइड स्थित हल्लनेचोक बाईक रेन्ट प्रालिमा गई ग.११प. ८००३ नं को स्कुटर भाडामा लिएको । घरबाट स्कुटरमा रमेशले पत्नी लक्ष्मीलाई पुम्दीभुम्दीको जंगलमा लगेका थिए । स्कुटर भाडामा लिए पश्चात पोखरा–९ नयाँबजारमा रहेको दीपक कार डेकोरबाट ग १ च २३६३ नं को कार भाडामा लिई संजय शर्माले गाडी चलाई कोशी होटलबाट तीन भारतीय र चित्तरन्जन कुमार साह समेतलाई गाडीमा राखेर कर्कलेको जंगलमा पुगेको वयानबाट खुलेको छ ।

लक्ष्मीको खुट्टा दुखिरहने समस्या थियो, जंगल नजिकै सडकमा स्कुटर राखेर रमेशले जंगलमा दुखेको खुट्टा सन्चो हुने जडिवुटी पाइन्छ भनी रमेशले लक्ष्मीलाइृ जंगलतर्फ लगेका र जडिवुटी खोजेजस्तो समेत गरेका थिए । त्यसैवखत रमेश पत्नीसँग पिसाबफेर्न जान्छु भनेर केही पर गएको र त्यही समयमा तीन भारतीयले लक्ष्मीलाई समाएर लक्ष्मीको मुख थुनी आँखामा पट्टी लगाएर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । रमेशले जंगलबाट फर्केपछि संजयलाई बाटोमा थप पाँच लाख रुपैयाँ दिएको र चार लाख पछि दिने भनेका थिए । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले हत्यामा सम्लग्न तीनै आरोपी विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिसकिएको जनकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width