आइसीसी विश्वकपको उपाधि घरेलु इङ्ल्याण्डले जित्यो

एजेन्सी
असार ३०, २०७६
ICC Winner, England

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटकै इतिहासमा घरेलु टोली इङ्ल्याण्डले पहिलो पटक उपाधि जितेको छ ।

क्रिकेटको जन्मदाता राष्ट्र भएरपनि यसभन्दा अघि उसले आइसीसी विश्वकपमा कुनै विश्वकप जित्न सकेको थिएन ।

शनिबार भएको फाइनल खेलमा घरेलु इङ्ल्याण्डको टोलीले सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै विश्वकप उपाधिको खडेरी तोडेको हो । विश्वकपको इतिहासमै फाइनल खेल सुपर ओभरमा गएको पनि यो पहिलो पटक हो ।

निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इङ्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

इङ्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २४ चौका र २ छक्का प्रहार गरेको थियो । उता, न्यूजिल्याण्डले १४ चौका र ३ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्व विजेता बनेको हो ।

न्यूजिल्याण्डले दिएको २ सय ४२ रन पछ्याउने क्रममा इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएपछि खेल टाई भएको थियो । सुपर ओभरमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेर १५ रन बनायो । सुपर ओभरमा इङल्याण्डका लागि जस बटलर र बेन स्टोक्सले ब्याटिङ गरे । न्यूजिल्याण्डका लागि भने ट्रेन्ट बोल्टले बलिङ गरेका थिए ।

सुपर ओभरमा न्यूजिल्याण्डलाई जितका लागि १६ रन आवश्यक थियो । न्यूजिल्याण्डका लागि जेम्स निशाम र मार्टिन गुप्टिलले ब्याटिङ गरे । जोफ्रा आर्चरले पहिलो बल वाइड फाले । त्यसपछि निशामले २ रन लिए । दोस्रो बलमा निशामले छक्का हाने । तेस्रो र चौथो बलमा समान २ रन लिए । पाँचौँ बलमा निशामले १ रन लिए । अन्तिम बलमा गुप्टिल रनआउट भए । त्यसपछिको रोमाञ्चक खेलमा बढि बाउण्ड्री हानेको आधारमा इङ््ल्याण्ड यस सिजनको आइसीसी क्रिकेटको विश्वविजेता बन्न पुग्यो ।

सुपर ओभरमा न्यूजिल्याण्डले १५ रन नै बनाएको थियो । इंग्ल्याण्डले बढि बाउण्ड्री हानेका कारण च्याम्पियन बन्न पुग्यो ।

न्यूजिल्याण्डलाई भाग्यले साथ दिएन । निर्धारित ५० ओभरको खेलमा ट्रेन्ट बोल्टले २ विकेट लिएपनि स्टोक्सले दुई छक्का प्रहार गरेर खेललाई सुपर ओभरमा लगेका थिए ।

इङ्ल्याण्डका ओपनर ब्याट्सम्यान जेसन रोय र जोनी बेयरस्टोले गतिलो सुरुवात गर्न सकेनन् । रोय २० बलमा १७ रन बनाएर आउट भएका थिए । बेयरस्टोले ५५ बलको सामना गरेर ३६ रन मात्रै बनाएर आउट भए ।

यसअघिका खेलमा राम्रो खेलेका जोय रुट पनि फाइनलमा जम्न सकेनन् । जोय रुट ७ रनमै आउट भए । ओयन मोर्गान ९ रनमा पेभेलियन फर्किए ।

इङ्ल्याण्डका लागि पाँचौँ र छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बेन स्टोक्स र जस बटलरबीच राम्रो साझेदारी बन्यो । बटलर लोकी फर्गुसनको बलमा टिम साउथीबाट क्याचआउट हुन पुगे । उनले ६० बलमा ६ चौकासहित ५९ रन बनाए । बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गरेपनि इङ्ल्याण्ड हारबाट जोगिएन ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा १ रन लिएर दोस्रो रन लिने क्रममा स्टोक्स रनआउट हुन पुगे । त्यसपछि भने खेल सुपर ओभरमा पुग्यो । स्टोक्सले ९८ बलमा ८४ रन बनाए । बलिङतर्फ जिम्मी निशम र लकी फर्गुसनले समान ३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ४१ रन जोडेको थियो । खराब शुरुवात गरेको न्यूजिल्याण्डले पहिलो विकेट मात्र २९ रनमा गुमाएको थियो ।

दोस्रो विकेटका लागि केन विलियम्सन र हेनरी निकोल्सले गतिलो साझेदारी गर्न सफल भए । जसमा विलियम्सनले ३० रन बनाए । हेनरीले ५५ रनको पारी खेले । त्यसपछि, न्यूजिल्याण्डका लागि रोस टेलरले १५, टम लाथमले ४७ तथा जेम्स निशामले १९ रनको योगदान गरे । यस्तै, ग्राण्डहोमले १६ रन थपे ।

इङ्ल्याण्डका लागि क्रिस वोक्स र लायम प्लंकेटले समान ३ विकेट लिए । त्यस्तै, मार्क वुड र जोफ्रा आर्चरले समान १ विकेट लिए ।

‘टिम अफ दि टुर्नामेन्ट’

आइसीसीले ‘टिम अफ् द टुर्नामेन्ट’ को पनि घोषणा गरेको छ । जसमा इङ्ल्याण्डका खेलाडीले वर्चश्व जमाएका छन् । इङ्ल्याण्डका ४ जना खेलाडी ‘टिम अफ् द टुर्नामेन्ट’मा समेटिएका छन् ।

आइसीसी ‘टिम अफ् द टुर्नामेन्ट’ को पहिलो स्थानमा भारतका ब्याट्सम्यान रोहित शर्मा छन् । दोस्रो स्थानमा इङ्ल्याण्डका ब्याट्सम्यान जेसन रोय छन् । तेस्रो स्थानमा न्यूजिल्याण्डका कप्तान एवं ब्याट्सम्यान केन विलियम्सन छन् । चौथो स्थानमा बंगलादेशका अलराउण्डर शाकिब अल हसन छन् ।

पाँचौमा इङ्ल्याण्डकै ब्याट्सम्यान जोए रुट छन् । छैटौँमा इङ्ल्याण्डकै अलराउण्डर बेन स्टोक्स छन् । सातौँमा अष्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारी, आठौँमा अष्ट्रेलियाकै तीव्र गतिका बलर मिचेल स्टार्क छन् ।

नवौँ स्थानमा इङ्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर, १० औँ स्थानमा न्यूजिल्याण्डका मध्यम गतिका बलर लकी फर्गुसन छन् । ११ औँ मा भारतका तीव्र गतिका बलर जसप्रित बुमराह र १२ औँ नम्बरमा न्यूजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width