यौन दुव्र्यवहारका आरोपित शिक्षक रिहा

रासस
असार २६, २०७६
Saptari-Court

सप्तरी, २६ असार । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बुधवार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।

सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पक्राउ परी थुनामा रहेका पशुपति र अदालतमा हाजिर भएका रामकृष्ण रु ६५ हजार धरौटी राखी तारेखमा रिहा भएका हुन्। जेठ २७ गते पक्राउ परेका पशुपतिलाई पुर्पक्षका लागि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेलगत्तै रामकृष्ण अदालतमा हाजिर भएका थिए ।

सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा यौन दुव्र्यवहार गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएकी थिइन् । धरौटीमा रिहा भएका आरोपित शिक्षकले भने आफूहरुले बाल यौन दुव्र्यवहार नगरेको जिकिर गर्दै आएका छन् ।

यसैबीच सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बुधवार पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

घरमा कोही नभएका बेला पानी खाने बहानामा सोमबार घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । आरोपित सडक मजदूर हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले पीडितको स्वास्थ्य परीक्षणपश्चात् उजुरी दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width