पर्यटन पदमार्ग निर्माण

आदर्श समाज सम्वाददाता
असार २४, २०७६
paryatan padmarga nirman

म्याग्दी ,२४ असार । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा रहेको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ ।

गाउँपालिकाको ५ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँ बजेटमा सो पदमार्ग निमाण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर घर्ती मगरले जानकारी दिए ।

उनका अनुसार दाङखोलादेखी देउता भिर गुफा सम्म एक हजार मिटर बढी पदमार्ग निर्माण गर्ने योजना भएपनि बजेट अभावका कारण यो बर्ष चार सय ८३ मिटर मात्र पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा पक्की पर्खाल निर्माण गरिएको छ, भने रेलिङले घेराबार गरिएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउताभिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पूजा हुने गर्दछ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफा प्रचारप्रसार र पुर्वाधार अभावम ओझेलमा परेको छ । धार्मिक पर्यटकीय स्थल देउताभीर गुफामा पुजा गर्न तथा घुम्न आउने पर्यटक र भक्तजनलाई लक्षित गरी पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष पिपला बुढाले जानकारी दिइन् । पदमार्ग निर्माणसंगै भक्तजन र पर्यटकलाई सहज हुने उनले विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाले बागलुङको ढोरपाटन शिकार आरक्षण क्षेत्र ,बुकी र तमान खोला गाउँपालिका जोड्न सडक निर्माणलाई जोड दिएको उपाध्याक्ष खरमाया विटालुले जानकारी दिइन् ।

गाउँपालिका भित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थलको पर्यटन पवद्र्धनका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसंगै विभिन्न कार्यक्रमलाई जोड दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिए । मालिका गाउँपालिकाले गाउँपालिका भित्र ओझेलमा परेका पर्यटकीय एवम् धार्मिक स्थलको पहिचान गर्न र धार्मिक एवम् पर्यटकीय स्थलमा घुम्न आउने पर्यटक र भक्तजनलाई लक्षित गरी पुर्वाधार निर्माण संगै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका लागि मालिका पर्यटन गुरुयोजना तयार पारिएको अध्यक्ष रोका मगरको भनाई छ ।

यसैगरी गुफा संगै वडामा रहेका पर्यटकीयस्थल हक्ृलाङ डाँडा र गाईखर्क तालमा भौतिक पुर्वाधार निर्माण गरिएको छ । वडा भित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थल गाईखर्क ,खोरीया, हक्लाङ डाँडा र देउताभिर गुफामा घुम्न आउने पर्यटक एवम् भक्तजनलाई लक्षित गरी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दुई वटा होमस्टे (घरवास ) संचालनमा ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width