जटामसीको व्यावसायिक खेतीका लागि अनुसन्धान सफल

आदर्श समाज सम्वाददाता
असार २४, २०७६
Jatamasi. 2

लमजुङ, २४ असार । लमजुङमा दुर्लभ जडिबुटीमध्येको एक जटामसीको व्यावसायिक खेतीका लागि गरिएको अनुसन्धान सफल भएको छ । मस्र्याङ्दी गाउँपालिका– ४ को घेर्मुको लेकमा गरिएको अनुसन्धान परीक्षण सफल भएको पाइएको हो ।

वासनादार जडिबुटीमा पर्ने जटामसी तेलको विद्यमान बजार मूल्य प्रति लिटर ५५ रुपैया रहेको त्यसको अनुसन्धान कार्यका अगुवा कामसार्की गुरुङले बताए । उनका अनुसार जटामसीको खेती गर्ने वातावरण बन्यो भने यो आम्दानीको दरिलो स्रोत बन्ने आशा जागृत भएको छ । उनले भने, ‘कर्णालीको जुम्ला हुम्लाको लेकमा जटामसीको व्यावसायिक खेती सफल भएको देखेर आएका आफ्ना मित्र दुराडाँडाका किरण नेउपानेले दिएको सुझाव अनुसार उक्त अनुसन्धान गरेको हो, सफल हुने देखिएको छ ।’ कामसार्कीले थप भने, ‘हामीले तीन हजार चार सय पचास मिटर उचाईमा रहेको सत्रोडाँडा(लेक)मा एउटा र अर्को तीन हजार सात सय पचास मिटर उचाईमा रहेको नरूडाँडामा अर्को गरी दुई ठाउँमा ५०– ६० वटा बोटका दरले परीक्षण गरिएकोमा सफल हुने देखियो ।’ उनका अनुसार तर यसको व्यावसायिक खेती गर्न भने समस्या छ, वनले दुःख दिन्छ । उनले आशंका व्यक्त गर्दै भने, ‘नेपालमा राम्रो काम गर्न चाहनेलाई प्रोत्साहित गर्ने वातावरण र कानुन नै छैन त्यसैले दुःख लाग्छ ।’

घेर्मुको खानीगाउँ स्थित रकगार्डेन अर्थात चट्टानको बगैंचा तथा होमस्टेको व्यवस्थापन समितिका अध्यक्ष्यसमेत रहनु भएका कामसार्की गुरुङले जटामसीको व्यावसायिक खेती गर्ने छुट दिने हो भने घेर्मुबासीको जीवनस्तर उठ्ने मात्र हैन, नेपालमा विदेशी मुद्रा आर्जन गर्ने दरिलो स्रोत जटामसी बन्ने देखियो भने । उनका अनुसार जटामसीको तेलको माग युरोप, अमेरिका लगायतका देशमा निकै ठूलो छ । तर वनले दिने जथाभावी रूपमा जटामसीको संकलनका लागि दिने अनुमतिले मासिएर गइसकेको छ । अब त मान्छे जान नसक्ने भीर पहरोमा मात्र यो बाँकी छ । त्यसको वीउ गोलभेडाको बिया जस्तै सानो र हल्का हुन्छ । त्यो पोकपछि फुट्छ र हावाले यताउता पु¥याउँछ, त्यो वीउ माटोमा पर्नासाथ उम्रन्छ । यसको विरुवा जराबाट पनि पलाउँछ अलैंचीको झैं निस्कन्छ तर एक पटकमा एउटा मात्र विरुवा निस्कने रहेछ उनले भने । त्यसरी उमे्रको र जराबाट पलाएको दुवै खाले विरुवा संकलन गरेर आफूहरूले परीक्षण अनुसन्धान गरेका हौं कामसार्कीले बताए । यसको खेतीका लागि उतीसारो मेहनत पनि गर्नु पर्दैन ।

वनले अनुमति दिने हो भने यसको नर्सरी पनि गर्न सकिन्छ, फल एकै वर्षमा लाग्छ । अनि जराबाट पनि यसको अर्को विरुवा पलाएर आउँछ, केही वर्ष त विरुवाबाट पनि कमाई गर्न सकिन्छ कामसार्की बताउछन् । यसको तेल निकाल्ने फल चाहिँ तरुल जस्तो हुन्छ । त्यो फल परिपक्व हुन कम्तिमा तीन वर्ष लाग्छ । तर जति धेरै वर्ष राख्यो उती यसको फल बढी लाग्ने र तेल राम्रो आउने हुन्छ तर यहाँ त एक वर्षको हुन नपाउँदै उखेलेर लग्ने चलन भन्दै उहाँले दुखेसो पोख्नु भयो । उनले भने, एक क्विन्टल फलबाट एक लिटर तेल उत्पादन हुन्छ । त्यसको बजार मूल्य यतिबेला नेपालमा प्रतिलिटर ५५ हजार रुपैया छ भन्ने सुनेको छु उनले उल्लेख गर्नु भयो । किसानलाई संरक्षण र प्रोत्साहन गर्ने वातावरण हुने हो भने यसको व्यावसायिक खेतीले नेपालले नयाँ नाम कमाउने मात्र हैन आयस्रोत बढाउन सक्छ उनले भने ।

यस बारेमा मस्र्याङ्दी गाउँपालिकामा सम्पर्क गर्दा आउँदो आव २०७६/७७ का लागि कृषि, पशु र जडिबुटीका लागि एकमुष्ट डेढ करोडको बजेट प्रवन्ध गरिएको छ । त्यसलाई ब्रेक डाउन गर्न विशेषज्ञहरूको गोष्टीबाट गर्ने सोच रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘हामी यस्तो काम गर्न चाहनु हुने कृषकहरूको संरक्षण र प्रोत्साहनका लागि के गर्नु पर्ने हो गाउँपालिका सहयोग गर्न तयार छ ।’ उनी भन्छन् ‘समन्वय गर्नु पर्ने वन लगायतका निकाय वा कानुन निर्माण गर्नु पर्ने भए त्यो समेत गरेर हामी सहयोग गर्छौं, घेर्मुबासीको उत्साहलाई मर्न दिने छैनौं ।’

यसैगरी, वडा समितिले समेत त्यस्ता नगदेबालीको खेतीका लागि केही बजेटको प्रवन्ध गरेको वडाध्यक्ष लेखबहादुर गुरुङले बताए । उनले भने, ‘जटामसीमात्र हैन पाँच औंले, बन लसुन, निरमसी जस्ता जडिबुटीको पनि व्यावसायिक खेती गर्न सकिने सम्भावना छ ।’ त्यसतर्फ सोच बनाउन वडावासी तयार हुनुपर्छ सवै प्रकारको सहयोगका लागि हामी तयार छौं वडाध्यक्ष लेखबहादुर गुरुङले प्रतिवद्धता व्यक्त गरे ।

यस सम्बन्धमा डिभिजन बन कार्यालय लमजुङमा सम्पर्क गर्दा आजका दिनसम्म हाम्रोमा त्यस्तो माग लिएर कोही नआएको सो कार्यालयका प्रमुख मोहन काफ्लेले बताए । उनका अनुसार जटामसीको प्रशोधन नगरी निकासी गर्न नपाइने कानुनी प्रावधान छ । यो तेस्रो मुलुकमा जाने जडिबुटी हो । दुईवर्ष अघिसम्म यो प्रतिवन्धित जस्तै थियो । आजसम्म संकलनका लागि पनि कोही अनुमति लिन आएका छैनन् । गत वर्ष पनि कसैले संकलनको अनुमति लिएनन् उनले भने । उनका अनुसार जुम्लातिर यसको व्यावसायिक खेती हुन्छ, यसलाई प्रशोधन गरेर तेल र मार्का(छोक्रा) विक्री गर्ने हो । यहाँ पनि निजी बन, सामुदायिक बन वा राष्ट्रिय बन लिजमा लिएर खेती गर्न सकिन्छ, कोही आए भने हामी सहयोग गर्न तयार र्छौं । कानुनले दिएको अधिकार उपयोग गर्ने हो, वनदेखि तर्सिनु पर्दैन काफ्लेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width